वीरगन्ज । स्वयमको सशक्तिकरण र पेशागत सुदृढिकरणको लक्ष्यसहित समन्यायिक गन्तव्यका लागि पाइला बढाएको कानून व्यवसायी महिलाहरुको ३० औं राष्ट्रिय सम्मेलन वीरगन्जमा सुरु भएको छ । काठमाण्डौको न्यू रोडस्थित कृष्टल होटलमा तीसबर्ष अगाडी केही कानून व्यवसायी महिलाहरु जम्मा भई संस्थागत रुपमा अग्रसर भएको संस्थाको ३० औं राष्ट्रिय सम्मेलन वीरगन्जमा सुरु भएको हो ।
समन्यायिक गन्तव्यको लक्ष्य राखेर अगाडी बढेको कानून व्यवसायी महिलाहरुको संगठित संस्थाको राष्ट्रिय सम्मेलन नेपालका कायमुकायम (कामु ) प्रधानन्यायधिश हरिकृष्ण कार्कीले उद्घाटन गरे ।
जेण्डरका आधारमा सक्षम र असक्षम हुँदैन : वक्ता
कानूनी पेशा तर्फ महिलाहरुको संख्यात्मक उपस्थिति मात्र नभई पेशागत उत्कृष्टताकाको प्रतिवद्धता खोजी गर्दै सम्मेलन सुरु भएकोमा राम्रा निर्णय र कार्यान्वयन पक्ष सवल बनाउन पर्ने उनले सुझाव दिए । कानून पेशातर्फ आउने ठूलो महिला जमातलाई अब कसरी टिकाइराख्ने भन्ने चुनौतिको समना गर्ने बाटो पहिल्याउन सम्मेलन सफल हुन पर्ने उनको भनाइ छ । न्यायालयको शुद्धिकरण र सुदृढिकरणका लागि सर्वोच्चको न्यायधिश भएकै बखत उनकै संयोजकत्वमा बनेको समितिले ल्याएको प्रतिवेदन कार्यान्वय नभएको कुरा उठे पनि त्यसतर्फ कुनै संकेत नगरी उनले आफ्ना भनाइ व्यक्त गरे ।
कामु. प्रधानन्यायधीश कार्कीले कानून व्यवसायीहरुको छाता संगठन बार र न्यायालय एक अर्काकाको परिपुरक रहेको तर्क गर्दै एकको सहयोग र साथ विना अर्काको सफलता नहुने बताए । ३० बर्ष अगाडी आफू कानून व्यवसायी भएको समयमा बल्लतल्ल आठदश कानून व्यवसायी महिला मिलेर सुरु गरेको संस्थाको भव्य कार्यक्रमले राम्रो संकेत दिएको तर्क गर्दै न्यायधिशमा पनि महिला संख्या बढाउने कदममा आफू सकारात्मक भएको उनको भनाइ छ । सर्वोच्चमा मुद्दाको चाप धेरै रहेको समयमा जेठ ४ गते आफू कामु प्रधानन्यायधिश बने लगत्तैदेखि न्यायधिश नियुक्तिका लागि पहल गरिरहे पनि तीन जना वाहेक अन्य न्यायधिश नियुक्त हुन अझै नसकेको उनको तर्क छ । थोरै संख्या भए पनि सर्वोच्चमा सबै न्यायधिश मिलेर दैनिकका समस्या र मुद्दाको चापलाई विगतको तुलनामा कम गर्न सकेको उनको दावी छ । सर्वोच्चमा ५ बर्ष माथि र प्रदेश तथा जिल्लामा २ बर्ष माथिका सबै मुद्दा किनारा लगाउने अभियान चलिरहेकोले मुद्दाको चाप बढ्न नदिएको कामु प्रधानन्यायधिश काकीले बताए ।
सर्वोच्चको न्यायधीश सपना मल्ल प्रधानले काममा क्षमताको प्रश्न केवल महिलाहरु तर्फ मात्र उठ्ने गरेको तर्क गरिन् । पुरुष तर्फ भने यस्तो प्रश्न कहिले नउठ्ने गरेको उनको भनाइ छ । बार काउन्सिलमा टप महिला, ‘ल’कलेजमा अध्ययन गर्ने भर्ना महिला संख्या ७० प्रतिशत बढि तर कार्यान्वयन ण्गर्ने ठाउँसम्म पुग्दा महिलाको भूमिकामा भारी गिरावट हुन नहुने उनको सुझाव छ । जेण्डरका आधारमा क्षमता कम र बेसी नहुने उनको तर्क छ ।
कानून व्यवसायी महिला हुन्छन् र ? भन्ने पर्सामा कालोकोटधारी महिलाहरुको साढेचार सय बढिको उपस्थितिले महिलाहरु पनि कानूनी पेशामा रहेछन् भन्ने सम्मेलनले सन्देश दिएको नेपाल बारका उपाध्यक्ष सुधिर कुमार कर्णले सुझाव दिए । कार्यक्रममा नेपाल बारको पूर्व उपाध्यक्ष तथा सम्मेलनको घोषणा पत्र संयोजक गीता पाठक संग्रौला, नेपाल बारका महासचिव अन्जिता खनाल, बारका अध्यक्ष गोपालकृष्ण घिमिरे, वरिष्ठ अधिवक्ता तथा सताब्दी पुरुष कृष्ण प्रसाद भण्डारी, नेपालका महान्यायधिवक्ता दिनमणि पोख्रेल लगायतका बक्ताहरुले जेण्डरका आधारमा विभेदको अन्त्य गरी समन्यायिक पेशा र न्यायलय निर्माण गरिनु पर्ने बताए । शुक्रबार र शनिबार दुई दिनसम्म चल्ने सम्मेलन पछि वीरगन्ज घोषणा जारी गरिने कानून व्यवसायी महिला समिति अध्यक्ष आशा राईले बताइन् ।
नेपाल बार एशोसिएसनको कार्यकारिणी समितिको ४८ औं बैठक पनि शनिबार वीरगन्जमा नै हुँदैछ । दुई दिनसम्म चल्लने बैठकले पनि वीरगन्ज घोषणा पत्र जारी गर्ने केन्द्रिय अध्यक्ष गोपालकृष्ण घिमिरेले बताएका छन् ।






