जुम्ला । कर्णाली राजमार्गको जुम्ला खण्डमा पर्ने जर्मीगाउँमा पुग्दा छेउमा कलकल तिला नदी बगिरहेको छ । नदी किनारमा तातोपानी धारा छ । बिहानको सिरेठोमा धाराहरुबाट बाफ उडिहेको हुन्छ । एका बिहानैबाट समसाँझ सम्म तातोपानीमा चहलपहल बाक्लै हुन्छ । सुविधा सम्पन्न होटल र लजहरुमा मौसम अनुकुलको पानीले स्नान गर्नेहरुलाई प्राकृतिक रुपमै तातोपानी बगिरहनु नौलो र आश्यर्चको कुरा हो । तर जर्मी गाउँका स्थानियका लागि यो सामान्य कुरा हो, बरु तातोपानी धाराकै कारण यहाँका स्थानीयले अनेकौं प्रकृतिका मानिस सँग भेट्न र धाराको विषयमा प्रकटगर्ने प्रशंसा र गाथा सुन्न पाइरहेका छन् ।
धारामा नुहाउनेहरुको भिडले जर्मीगाउँलाई निकै व्यस्त देखाइरहेको छ । जुम्ला तातोपानी धारा, जहाँ प्राकृतिक तातोपानी अनवरत बगिरहन्छ । यतिबेला तातोपानीमा आन्तरिक र बाह्य पर्यटकको घुँइचो छ । बाथरोग, रागन तथा नसा सम्बन्धि रोग सञ्चो हुने विश्वासका साथ दैनिक १ सय जना सम्म पर्यटक पुगिरहेका छन् ।

मंसिरबाट चैत सम्मको कठ्यांग्रिदो जाडोमा तातोपानी धारा पर्यटकले भरिभराउ हुन्छ । बाहिरको माइनस तापमानमा तातोपानीले भने जीउ पोलिरहेको हुन्छ । अहिले २ वटा धारा र पोखरी विस्तार गरिएको छ । ५ वटा धारा मध्य ३ धारा महिला र २ धारा पुरुषका लागि छुट्याइएको छ । फराकिलो प्रांगण समेत निर्माण गरिएपछि सहज भएको गुठिचौर ४ का लक्ष्मण सुनारले बताए । तातोपानीले रागन तथा नसा सम्बन्धिका रोग सञ्चो हुने विश्वासका साथ कर्णालीका विभिन्न जिल्ला बाट स्थानीयहरु जुम्ला पुग्छन् । कर्णालीको रारा र फोक्सुण्डो पछिको प्रमुख पर्यटकीय गन्तव्य भित्र तातोपानी पनि पर्छ । तातोपानी समुद्र सतहदेखि २ हजार ६ सय मिटर उचाइमा अवस्थित छ । तातोपानी जुम्ला सदरमुकाम खलंगाबाट झन्डै ८ कोष पश्चिममा पर्छ ।
तातोपानीमा राखेपछि चाँदि कालो हुन्छ भने सुन पहेँलो हुन्छ, यो तातोपानीको अर्को विशेषता हो । तातोपानी धाराबाट वार्षिक १४ लाख सम्म आम्दानी हुन्छ । आन्तरिक पर्यटकलाई २० रुपैंया, बाह्यलाई ३० र विदेशी पर्यटकलाई १ सय शुल्क लिने गरिएको धारा व्यवश्थापक लाल चन्द्र चनराले जानकारी दिए । तातोपानी पुग्ने पर्यटकले यहाँको कला सँस्कृती, रहनसहन र जनजीविकाका सवालमा समेत चासो राख्छन् । रारा ताल हुदै तातोपानी पुग्ने मध्य कोहि गाउँ पुगेर ठाडिभाका र देउडा सुन्छन्, कोहि आफ्नो बाटो लाग्छन् । ‘जुम्ला सडक सञ्जालमा जोडिएपछि तातोपानी धारामा पर्यटक बढिरहेका छन्, धाराकै कारण गाउँमै बसेर आम्दानी भइरहेको छ, होटल राम्रो चलिरहेको, एक दशक अघि सम्म कालापहाड पुग्नुपर्ने बाध्यता थियो, अहिले हाइसुख छ ।’ स्थानीय सिंह बुढाले भने ।
तातोपानी धारा नजिकै लाछु ज्यूलो छ । बाबा चन्दननाथले यहि ज्यूलोमा परिक्षण गरेर जुम्लामा मार्सीधान खेती विस्तार गरेको इतिहास छ । तातोपानीको लाछु ज्यूलो, तातोपानी धारा, गिडिदह लगाएतका पर्यटकीय स्थलको प्रर्वद्धन गरि रोजगारका अवशर सृजना गर्न जोड दिइने तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौंलागाईले बताए ।






