काठमाडौं । हातमा प्राय बन्दुक बोक्नु पर्ने, क्यामेराको अगाडी बिँडी सल्काएर कस लिँदै धुवाँ फालेर बोल्नु पर्ने चरित्र अभिनेत्री रेखा थापाको लागि नयाँ थियो । छायांकनको क्रममा टेक लिँदा लिँदै पटक पटक बिँडी पिउँदा एक प्रकारको बिँडीको लतसमेत बस्न थालेको थियो । छायांकन सकिएको केही दिनसम्म पनि बिँडी पिउँ जस्तो उनलाई लागेको थियो ।
बिँडी पिएपछि मुख गनाउने अर्को समस्या थियो । जसको लागि नियमित मुख सफा गर्नु पथ्र्यो । नियमित रूपमा त्यही एउटा पोसाक लगाउनु पर्ने । पोसाक पनि मैलो पुरानो थियो । धुँदा सफा देखिने समस्याका कारण यसलाई मैलो नै लगाउनु पर्ने बाध्यता थियो । अभिनेत्री रेखा थापाले चलचित्र ‘ककाकिकी’मा निर्वाह गरेको महिला सरदार अर्थात् नाइकेको भूमिका आफैँमा फरक थियो ।
जीवनमा धेरै वटा चलचित्रमा अभिनेत्री गरेकी रेखा थापाको लागि यो चलचित्र निकै अनौठो र रोचक थियो । सुरुमा उनले यो चरित्रमा प्रस्ताव आउँदा चासो देखाइनन् । तर अभिनेत्री गौरी मल्ल यसमा उनको साथीको चरित्रमा थिइन् । सोही कारण गौरी यो भूमिका उनको लागि जीवनकै फरक अनुभव हुने बताइन र यसमा अभिनय गर्न सुझाव दिइन् ।

अभिनेत्री रेखाको भनाइमा उनले गौरी मल्लको सुझावलाई टार्न सकिनन् । त्यसपछि चलचित्र ‘ककाकिकी’को लागि उनी सरदारको भूमिकामा अनुबन्धित भइन् । लामो समय ओस्कार इन्टरनेशलन कलेज अफ फिल्म स्टडिजमा अभिनय पढाएका गुरु एवम् अभिनेता महेश त्रिपाठी यो चलचित्रमा उनको जोडी थिए । रेखाको भनाइमा महेशलाई उनलाई यो चरित्रको लागि निकै सहयोग गरे ।
विगतका चलचित्रमा कस्मेटिक चरित्र निर्वाह गर्दै आएकी रेखाको लागि चलचित्र ‘ककाकिकी’को यो चरित्र उनकै भाषामा ‘अग्र्यानिक’ थियो । गाउँमा लामो समयदेखि शोषित पीडित भएर बन्दुक उठाउन बाध्य एउटा समूहको नेतृको रूपमा उनको यसमा चरित्र थियो ।
चलचित्र छायांकनको क्रममा उनले यो चलचित्र निर्वाह गर्दा समाजमा विद्रोह गरेर भूमिगत जीवन बिताउन सहज नभएको महसुस गरिन् । आफ्नो चरित्र निर्वाहको क्रममा उनले धेरै पटक माओवादी जनयुक्तमा उत्रिएका विद्रोही जनसेनालाई सम्झिइन् । उनीहरूलाई आफूमा महसुस गरिन् ।
आगामी १९ भदौमा रिलिज हुने चलचित्र ‘ककाकिकी’ फरक कथामा निर्माण गरिएको अभिनेत्री रेखाको कथन छ । आफूले अभिनय गरेको धेरै चलचित्रमा धेरै प्रकारका भूमिका भए पनि यो चलचित्रको भूमिका खास र विशेष बनेको उनले जिकिर गरेकी छिन् ।
यो चलचित्रलाई बिक्की अग्रवाल र श्रद्धा प्रसाईँ दम्पतीले निर्देशन गरेका हुन् । कमेडी दरबार जस्तो हास्य शृङ्खला निर्देशन गरेका यी दम्पतीले यो चलचित्र पनि हास्य प्रधान बनाएको अभिनेत्री रेखाको कथन छ । आफ्नो यो चरित्रले दर्शकको मन जित्ने विश्वास यी अभिनेत्रीको छ । आफूसँगै यसमा सबै कलाकारहरूको चरित्र ‘अग्र्यानिक’ रहेको उनले राजधानीसँग जिकिर गरिन् ।
सम्बन्धित समाचार
‘सुरिलो रुख’लाई ४ लाख पुरस्कार
जाँच समितिले किन हटायो धुमपान र मद्यपानका सचेतना ?
मौलिक गीत बिगार्ने ९५ वटा युट्युब च्यानल विरुद्ध उजुरी
चलचित्र निर्माणमा उत्रिए यी संगीतकार
तेस्रो ‘अन्तरराष्ट्रिय नेपाली फिल्म अवार्ड’ नेपालमा हुने
सन्नी देओल फेरी भारत पाकिस्तान विभाजनको चलचित्रमा
तेस्रो दाम्पत्य सम्बन्धमा बाँधिए अभिनेता आमिर
रुख कटानको निर्णय नहुँदा चितवनमा कृष्णसार ल्याउन ढिलाइ






