एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा पहिलो पटक पुगे एमाले शीर्ष नेता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को गठन भएपछि दलको मान्यता नदिई उसको अस्तित्वमाथि अनेकौं प्रश्न नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले उठाउँदै आएको थियो । एमालेबाटै विभाजन भएर गठन भएको एकीकृत समाजवादीलाई एमालेले दलको रुपमा स्वीकार गर्न चाहेको थिएन् । तर त्यही एमाले अहिले एकीकृत समाजवादीसंग छलफल मात्रै नभई पार्टी एकीकरणको समेत प्रस्ताव गरेको छ ।

दुबै पार्टीका नेताहरु एकअर्का विरुद्ध सार्वजनिक रुपमै कडारुपमा आलोचना एवं विरोधमा उत्रिदै आएका छन् । उही एमाले र एकीकृत समाजवादीका बीचमा अहिले पार्टी एकताका लागि प्रस्ताव समेत भएको छ । एमालेबाट राष्ट्रपतिका लागि उम्मेदवार भएका सुवासचन्द्र नेम्वाङका लागि मत माग्दै एमाले नेताहरु बिहिबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगर, काठमाडौं पुगेका थिए ।

गत साता एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई एक पत्र लेख्दै राष्ट्रपतिका उम्मेदवार नेम्वाङलाई मतदान गर्न आग्रह गरेका थिए । यति मात्रै हाईन राष्ट्रपतिको उम्मेदवारी अघि ओलीले राष्ट्रपतिमा नेपाललाई उम्मेदवार बनाउँन प्रस्ताव समेत गरे । पछिल्लो समय एमाले अध्यक्ष ओलीले एकीकृत समाजवादीसंग सहकार्यमात्रै नभई पार्टी एकताका लागि समेत पहल थालेका छन् । ओलीको सो पहललाई एकीकृत समाजवादीका नेताहरुले सकारात्मक रुपमा लिदै छलफलका लागि ‘ढोका’ खुलेको रुपमा टिप्पणी गरेका छन् ।

मतसँगै पार्टी एकीकरणको प्रस्ताव

एकीकृत समाजवादीको केन्द्रीय कार्यालय पुगेका एमाले नेताहरुले नेम्वाङको पक्षमा मतदान गर्न आग्रह गरेका छन् । नेम्वाङले अध्यक्ष नेपाललाई राष्ट्रपति निर्वाचनमा मतदान गरेर सघाउन आग्रह गरेका छन् । नेम्वाङसँगै एमाले उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ, सचिव रघुवीर महासेठ र नेता विमला राई सहभागी थिए ।

भेटघाटमा एकीकृत समाजवादीका अध्यक्ष नेपालसहित उपाध्यक्ष प्रमेश हमाल, महासचिव डा. वेदुराम भुसाल, उपमहासचिव प्रकाश ज्वाला र सचिवालय सदस्य रामचन्द्र झा समेत सहभागी थिए । एमाले र एकीकृत समाजवादीका शीर्ष नेताहरुका बीचमा पार्टी विभाजन पछि एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा यो पहिलो औपचारिक भेटघाट हो ।

एमाले प्रवक्ता गुरुङले राष्ट्रपति निर्वाचनमा आफ्नो उम्मेवारलाई मत दिन अनुरोध गरेको बताए । उनले आफ्नो दलले अघि सारेको उम्मेदवार नेम्वाङलाई मत मागेको र दुई पार्टीलाई एकता बनाउने कुरा राखेको उनले बताए ।

‘राष्ट्रपति निर्वाचनका लागि एकीकृत समाजवादीको कार्यालयमा पहिलो पटक आएर भेटेका छौं’ गुरुङले भने, ‘अहिले पार्टी एकता पनि गर्ने चुनौतीकाबीचमा अवसर समेत प्राप्त भएको कुरा हामीले राखेका छौं । यो चुनौतीकाबीचमा अवसर प्राप्त भएको छ, यसलाई अघि बढाउनुपर्छ ।’

एमालेका तर्फबाट राष्ट्रपतिका उम्मेदवार नेम्वाङलाई सहयोग गर्न गरेको आग्रहमा एकीकृत समाजवादीले अर्का उम्मेदवार रामचन्द्र पौडेलको प्रस्तावक बनिसकेको जवाफ फर्काएको छ । एमालेले सौहार्दपूर्ण सम्बन्धका लागि सुरु गरेको प्रयास स्वागतयोग्य भएको एकीकृत समाजवादीका नेताहरु बताउँछन् ।

एकीकृत समाजवादीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले नेम्वाङसहितको टोलीले राष्ट्रपतिमा सहयोगको अपिल गरेको बताए । उनले एमालेसँग पहिलोपटक औपचारिक भेटवार्ता भएकोमा अध्यक्ष नेपालले धन्यवाद दिएको बताए ।

एमालेले औपचारिक सम्वाद सुरु गरेकोमा खुसी लागेको खतिवडाले बताए । तर, बुधबार बसेको केन्द्रीय सचिवालयको बैठकले पौडेललाई राष्ट्रपतिमा सहयोग गर्ने निर्णय गरिसकेकाले दायाँबायाँ नहुने बताए ।

प्रवक्ता खतिवडाले एकीकृत समाजवादीकै अस्तित्वमाथि पटक–पटक प्रश्न उठाउने पार्टी केन्द्रीय कार्यालयमै औपचारिक प्रस्ताव लिएर आउनु खुसीको कुरा भएको बताए । ‘नेकपा एमालेले हाम्रो अस्तित्वमाथि अनेकौँ पटक अनेकौँ कुरा भनेको छ । तर त्यही पार्टीले पार्टी केन्द्रीय कार्यालयमा आएर औपचारिक कुराकानी गर्नु त खुसीको कुरा नै हो । बल्लबल्ल दुई पार्टीबीच भेटघाट भएको छ । सौहार्दपूर्ण सम्बन्ध र मित्रता विकास गर्नका लागि एमालेले सुरु गरेको प्रयास स्वागतयोग्य छ’ उनले भने ।

एमालेद्वारा रास्वपा र राप्रपासंग पनि छलफल
राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार रहेका नेम्वाङलाई मतदान गर्न एमालेले एकीकृत समाजवादीका साथै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)संग समेत बिहिबार छलफल गरेको छ ।

एमाले नेताहरु रास्वपा र राप्रपाको छुटाछुटै ठाउँमा रहेको कार्यालयमा पुगेर छलफल गरेका छन् । एमालेका सचिव योगेश भट्टराईले २५ फागुनमा हुने राष्ट्रपतिको निर्वाचनमा रास्वपाले आफूहरूले अघि सारेको उम्मेदवारलाई मत दिने दाबी गरेका छन् ।

रास्वपाको पार्टी कार्यालय धुम्बाराही पुगेर नेताहरूलाई भेटेपछि भट्टराईले रास्वपाका सभापति रवि लामिछाने आफ्नो दल आन्तरिक छलफलमा रहेको जवाफ दिएको बताए । एमालेसँग केही समय सहकार्य पनि गरेकाले नेम्वाङजत्तिको व्यक्तित्व बन्नुपर्ने आफूहरूको मत भएको तर, अहिले पार्टीमा छलफल गरिरहेको लामिछानले जवाफ दिएको भट्टराईले बताए ।

‘उहाँको भनाइ र बडील्यांग्वेजले हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टीको मत राष्ट्रपतिमा सुवास नेम्वाङले पाउने देखिन्छ’ भट्टराईले भने । सबै दलसँग कुरा गर्ने प्रक्रियामा रहेको र त्यही क्रममा रास्वपासँग छलफल गरेको उनले बताए । संविधानसभामा सफल भूमिका खेलेको र सभामुखको रुपमा पनि सफल भएकाले उपयुक्त हुने तर्क आफूहरूले राखेको उनले बताए ।

एमाले नेताहरु राप्रपाको केन्द्रीय कार्यालय बसुन्धारा समेत पुगेका छन् । मत माग्न केन्द्रीय कार्यालय बसुन्धारा पुगेका नेम्वाङसहित एमाले नेताहरूलाई पार्टीभित्र छलफल गर्न बाँकी रहेको बताइएको राप्रपाका महामन्त्री मुकुल ढकालले बताए ।

‘उहाँ (नेम्वाङ) राष्ट्रपतिका लागि उपयुक्त पात्र हो भन्नेमा संकोच छैन् तर पार्टीले निर्णय गर्न बाँकी छ । त्यसैले निर्णय आज नै गर्न सकिदैन भन्यौं’ ढकालले भने । राष्ट्रपतिमा कसलाई भोट दिने भन्ने विषयमा आफ्नै केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठकबाट निर्णय गरिने उनले बताए ।

राष्ट्रपतिको निर्वाचन २५ फागुनमा हुदैछ् । राष्ट्रपतिका लागि एमालेबाट नेम्वाङ र आठ दलीय गठबन्धनबाट कांग्रेसका रामचन्द्र पौडेल उम्मेदवार छन् ।

तपाइको प्रतिक्रिया
(Visited 1,275 times, 1 visits today)

epaper

ताजा समाचार

रसुवा बाढीमा ४४ सैनिकसहित ८५ सुरक्षाकर्मी सम्पर्कबाहिर