हाम्री आमा तीन बुहारीमध्ये घरकी कान्छी बुहारी हुन् । आमाको भनाइअनुसार उनको पहिलो सन्तान जन्मेको केही दिनमा कारण थाहै नपाई नाबालकको मृत्यु भयो । त्यसको दुई वर्षमै अर्को सन्तान पनि छोरा जन्माउन पाउँदा उनको हराएको खुसी फर्केर आयो । तर छोरा जन्मेको तीन दिनमै आमाबाट छुटाएर नाबालकलाई भर्खरै सन्तान जन्माएकी ठूली आमाको घरमा लगेर राखियो । त्यसको एक मात्र कारण थियो आमाको दूधमा भएको खराबी । यो सबै निर्णय गर्ने अरू कोही नभएर मेरी आफ्नै हजुरआमा हुनुहुन्थ्यो । उनका अगाडि केही नराम्रो भइरहेको देखे पनि बुबा चुइँक्कसम्म बोल्नुहुन्नथ्यो ।
बिनाकारण दोस्रो सन्तानबाट पनि टाढा हुनुपर्दाको पीडा सहन नसकी आमा धेरैचोटि मर्छु भन्दै घर छोडेर हिंड्नुभयो । कहिले कसैले देखेर फर्काउने त कहिले त्यही नाबालकको मायाले बाटोबाटै तानेर ल्याउँथ्यो । सुत्केरी भएको तीन दिनपछि नै हजुरआमाले आमालाई मेलामा घाँस काट्न पठाउनुभयो । गहु्रंगा घाँसका भारी आफ्ना लागि मात्रै हैन घामपानी नभनी जेठानीका गाईभैंसीलाई पनि घाँस काटेर, बोकेर उनको घरसम्म पु¥याउनुपथ्र्यो । जेठानीले आफ्नो छोरालाई दूध खुवाएको बदलामा आमाले यो सबै गर्नुपथ्र्यो ।
उता आमाको भने बालकलाई दूध खुवाउन नपाएर छाती भरिएर चर्किन्थ्यो । हातले दूध निचोर्दा छाती दुखेर आमालाई साहै्र सताउँथ्यो । एवं क्रममा झन्डै एक महिना बितेछ । भारतीय सेनामा काम गर्ने ठुला बुबाले यो सबै थाहा पाएपछि भारतको गौडिहाटबाट एक जना वैद्य पठाइदिनुभयो । वैद्यले आमाको दूध जाँच गरेपछि यति पोसिलो दूधलाई नखुवाउनु भनेर कसले भनेको हो भनेर गाली गर्नुभयो । त्यसपछि बल्ल आमाले आफ्नो सन्तानलाई घरमा लगेर काखमा राखी दूध चुसाउन पाउनुभएछ । यत्ति हुँदैमा आमाका दिन कहाँ सजिला भएका थिए र †
छोरालाई दूध खुवाउन थालेपछि आमाको खानामा झनै कटौती भएको थियो । सुत्केरी भएको एक वर्षसम्म माछामासु बादा गर्ने ( बार्ने, खान नदिने) त्यतिखेरको चलन नै थियो । त्यसमा पनि सामान्य खानेकुरा सुरुदेखि नै पेटभरि खान नदिने हजुरआमाको बानी नै थियो । पहिलाको धेरैजसो सासूहरूले बुहारीलाई कुट्ने, खाना नदिने, काममा पेलाउने सामान्य जस्तै हुन्थ्यो । यस्तै, अत्याचार सहन नसकेर बुबाले बिहे गरेर ल्याएको पहिलो आमाले घर छोडेर कहिल्यै नआउने भन्दै माइतीमा गएर बस्नुभएको थियो । जत्ति बोलाउन जाँदा पनि घर आउन नमानेपछि घरको कामकाज गर्न अप्ठ्यारो हुँदा बुबाले आमासँग दोस्रो बिहे गर्नुभयो ।
एक्लै गर्नुपर्ने रातदिनको काम, आधा पेट खाना, सानो बालकलाई बेलाबेलामा दूध चुसाउनु र उसको रेखदेख गर्नुपर्दा आमाको बेहाल हुन्थ्यो । घरमा खाना नभएर हजुरआमाले खाना नदिने होइन । घरका भकारी, डाला, बोरा सबै अन्नले भरिभराउ हुन्थे । बुबाले भारतको झुलाघाटमा रहेका व्यवसायीसँग घिउको व्यवसाय गर्नुहुन्थ्यो । खानपिनसँगै घरमा पैसाको कमी थिएन । यद्यपि, पछि ती व्यवसायीले अचानक कारोबार बन्द गरेपछि बुबले घाटा बेहोर्नु प¥यो । बुहारी बनेर आएकी अर्काकी छोरीको रत्ति पनि माया नहुने धेरै घरमा देखिन्थ्यो । बुहारीले सन्चो बिसन्चो, भोकै प्यासै जुनसुकै मूल्य चुकाएर पनि घरको काम गर्नैपथ्र्यो । सुत्केरी भएको तीन महिना हुँदो हो, आमा टाढाको मेलामा काम सकेर घाँसको भारी बोकेर फर्र्किँदा बाटोमै रात परेछ । पर्याप्त आराम, भिटामिन ‘ए’लगायत पोषिलो खानपिनको अभावमा आमालाई त्यतिखेर रतन्धो भयो ।
छोरा जन्मेको तीन दिनमै आमाबाट छुटाएर नाबालकलाई भर्खरै सन्तान जन्माएकी ठूली आमाको घरमा लगेर राखियो
दिउँसो राम्ररी देखे पनि अँध्यारो हुँदै गएपछि देख्न छोड्नुभएछ । अँध्यारो बढ्दै गएपछि आँखा नदेख्दा घरजाने बाटोको सट्टा जंगलको बाटो लाग्नुभएछ । धेरै पर पुगेपछि खोलाको पानी सुसाएको आवाजले जंगलभित्र पसेको भान भएछ । त्यसपछि डराउँदै, कराउँदै त्यही बाटो फर्किंदा एक जना गाउँले काकाले सुन्नुभएछ । उहाँले आमाको हात समाएर घरसम्म ल्याइपु¥याउनुभएछ । साथै आमाको यस्तो हालत बनाएकोमा घरका मान्छेलाई गाली पनि गर्नुभएछ । बाघ, भालु समेत बस्ने जंगलबाट सकुसल फर्केर छोरालाई अँगालो हाल्न पाउँदा आमा खुबै रुनुभएछ । अहिले पनि आमाले आफूले भोगेका दिनका ’boutमा सुनाइरहँदा हामी धुरुधुरु रुन पुग्छौं ।
एकदिन बिहे गरेको फुपू माइती आउनुभएको रहेछ । एकदिन मात्रै हैन यो क्रम चलिरहन्थ्यो । ती दिनमा आमालाई अरू दिनभन्दा बढ्ता नै काम गर्नुपथ्र्यो । हजुरआमा, उनका छोरा, छोरी मिलेर मिठो मिठो पकाउने र खाने भइरहन्थ्यो । तर, आमालाई भने उही मकैको रोटी दिइन्थ्यो । फुपू घर जाने दिनमा आमाले ओखलमा एक्लै धेरै नै धान कुट्नुपथ्र्यो । त्यसपछि गहुँसहित त्यसलाई जाँतोमा पिस्नु त छँदै थियो । फुपू घरजाने बेला सेलरोटी, पुरी, फुलौरा (बटुक), माडा, मालपुवा (पुतका)लगायतका मीठा परिकार पकाएर हजुरआमाले छोरीलाई पोको पारिदिनुभयो ।
अन्नपात, फलफूललगायतका कोसेली बोरामा हालेर छोरीलाई पारीको ठाडै डाँडा कटाएर मात्रै आउनुभनेर हजुरआमाले आमालाई अराउनुभएछ । छोरी पछि पछि बिस्तारै आउँदै रहिछन् । जब दाल चामलसहितको भारी बोकेर आमा डाँडा चढ्दै हुनुहुन्थ्यो खाना नखाएको भोको पेटले हातखुट्टा लल्याकलुलुक हुँदा चढ्न सास्ती भएछ । घरमा पकवानको मगमग बास्ना उडिरहेको थियो । तर, आमालाई भने हजुरआमाले उही मकैको रोटी र मोही दिनुभएछ । सधैंभरि त्यही खाइरहनुभएकी आमालाई पनि कहिले स्वाद फेर्न मन लाग्थ्यो रे । अरू दिन दिनभरि काममा हिंड्नुपर्दा कहिले पोको पारेर त कहिले खाएर जानुहुन्थ्यो । त्यो दिन आमाको मन उदास भएछ । नखाइ हिंड्नु भएछ ।
सानैदेखि दूध, दही, घिउ, मोही खाएर हुर्केकी हाम्री आमा एकदम बलियो, हट्टाकट्टा र खुबै काम गर्ने हुनुहुन्थ्यो । घरमा सधैं दुईटा दुहुना भैंसी, मेलापातको काम एक्लै गर्ने आमालाई खाना खानेबेला भने कुकुरलाई जस्तै गर्नुहुँदो रहेछ । कहिलेकाँही बुबाले खान नसकेर आफ्नो जुठो थालीमा भात छोड्नुभयो भने मात्र आमाको मुखमा भातको सीता पथ्र्यो । नत्र भातको सट्टा धेरैजसो ढिंडो, मकै, कोदाको रोटी दिइन्थ्यो । दूध, तरकारीसँग त यी पनि मिठा हुन्छन् । तर, धेरैजसो मोही वा नूनसँग खानुपर्दा कस्तो होला अन्दाज लगाउन सकिन्छ । डाँडाको माथि पुगेर फर्केर हेर्दा फुपू धेरै तल हुनुहुन्थ्यो । पिठमा मगमग पकवानको बास्ना आउने भारी तर आफू भने भोकले बेहाल । आमाले सहनसक्नु भएनछ ।
कसैले थाहा नपाउने गरी दुई तीनवटा माडाको भित्री तह निकालेर खानुभएछ । पुरै माडा नै खाएको खण्डमा घरमा पुगेर फुपूले यदि रोटी गनिनन् र कम निस्के भने उनले सासूलाई र सासूले बुबालाई भनेर आमाले बुबाको हातको नराम्रोसँग कुटाइ खानुपथ्र्यो । आमा भन्नुहुन्छ ‘त्यो दिन डाँडामा बसेर आफ्नी आमाको यादमा खुबै रोएँ ।’ छोराछारीको माया, बदनामीको डर र माइतीमा आमाबुबा चिन्तित हुने डरले घरको ज्यादती सहेरै बसें । कहिल्यै घरको कुरा माइतीमा लगाइन् । घर छोडेर माइती गएर बसिन । उहाँ भन्नुहुन्छ ‘बेलाबेलामा अनाहकमा कुटाइ खाइरहनुपर्दा बुबाप्रति न कहिल्यै माया पलायो न आदरभाव नै ।’ आमालाई माया नगरे पनि आफ्ना सन्तान हुकाउन र पढाउनमा भने बुबाले कुनै कसर छोड्नुभएन ।
सुदूरगाउँमा रहेकी जन्म दिने, निश्चल, निष्कपट, निःस्वार्थ माया गर्ने आमालाई सम्झेका बेला रातभरि निद्रा लाग्दैन
हजुरआमाको स्वर्गबास पछि भने बुबामा धेरै परिवर्तन आयो । आमाले खाए, नखाएको, सन्चो, बिसन्चोको ख्याल गर्न थाल्नुभयो । जुन माया पहिल्यै उम्रिनुपथ्र्यो त्यो ५० कटेपछि मात्र देखियो । बुबाको आमाप्रतिको सद्भावले होला आमाले पनि बिस्तारै बुबालाई मन पराउन थाल्नुभयो । छोरा बुहारीले घर सम्हालिरहेका थिए । घर नजिकै सडक पुगेकाले बुबाले त्यहाँ सानो चियानास्ता पसल खोल्नुभयो । बुबाले चिया नास्ता पकाउनुहुन्थ्यो भने आमाले भाँडा धुने, टाढाको कुवाबाट पानी भरेर लग्ने गर्नुहुन्थ्यो ।
बुढेसकालमा दुवै जना एकअर्काको सारथी बन्दै, माया साँटदै, काममा रमाइरहेका थिए । आफूले सोचेभन्दा आम्दानी पनि रामै्र भएकाले झनै खुसी थपिएको थियो । वर्षौं प्रतिज्ञा गरेर पाएको आमाको खुसी धेरै दिन टिक्न सकेन । एकदिन बिहानै नुहाउँदै गर्दा बुबा कहिल्यै नउठ्नेगरी ढल्नुभयो । मायाको डोरी चुडियो । आमा विधवा हुनुभयो ।
आफ्नो घर बचाउन, छोराछोरी हुर्काउन उहाँले जुन कडा परिश्रम गर्नुभयो त्यसैले अहिले बिरामी पर्नुभएको छ । यतिखेर उहाँलाई आफ्ना सन्तानको माया, रेखदेख र औषधी उपचारको एकदमै खाँचो छ । जुन छोरी भएर जन्मेका कारण अर्काको घर जानुपर्दाको बाध्यताले मैले गर्न सकेकी छैन । छोरी भएरै जन्मेको कारणले यस्तो अवस्थामा पनि प्राणभन्दा प्यारी आफ्नी आमाको सेवा गर्न नपाउँदा मन कटक्क हुने गरेको छ । उपचार गर्न लिन आउँछु भन्दा, एक घण्टाको बाटोमा पाँच चोटि बान्ता गर्ने आमाले त्यति टाढा म आउन सक्तिनँ भन्दा ठूलो पीडा हुन्छ । जिन्दगीमा आफूले चाहेका केही काम पूरा गर्न सके पनि अप्ठ्यारो परेका बेला जन्मदिने आमाको हेरचार गर्न नसक्दा आफूलाई साह्रै नराम्रो लाग्छ ।
जसले जे भने पनि कन्यादान गरेर पठाएकी छोरीको घरमा गएर आफ्नो घरजस्तै छाती फुलाएर बस्न कुनै पनि आमाबुबालाई सजिलो हुँदैन । पहिले पनि आमा मसँग आएर केही समय बस्दा यो मैले प्रत्यक्ष देखेकी छु । बुहारीले पकाएको भात खानुहुन्छ । तर, छोरीले पकाएको भात खानुहुन्न । छोरा नहुने, छोरी मात्र हुने आमाबुबालाई बुढेसकालमा यही कारणले पिरोल्छ होला जस्तो अहिले मलाई लाग्छ ।
बुढेसकालमा, आपत्, विपत् पर्दा पनि बिहे गरेर पठाएकी छोरीको घरमा गएर आमाबुवा बस्न नमान्ने र आफ्नो घर छोडेर श्रीमतीसँग ससुरालीमा गएर छोराले बस्न नमान्दा आमाबुवा र एउटा छोरीको मन भने सधैंभरि पोलिरहेको हुन्छ । यसैले त परदेशबाट सुदूरगाउँमा रहेकी जन्म दिने, निश्चल, निष्कपट, निःस्वार्थ माया गर्ने आमालाई सम्झेको बेला रातभरि निद्रा लाग्दैन । यो मन रोइरहन्छ । आँसु झरिरहन्छ । पहिले र अहिले महिलाका पीडा उस्तै छन् रूप मात्रै फेरिए ।






