आधुनिक मलेसियाका विकास सूत्रधार महाथीर मोहम्मद र सिंगापुरका असल पिता लिक्वान युले आ–आफ्नो देशलाई समुन्नत बनाउन धेरै मिहिनेत र परिश्रम गरे । उनीहरूले लोभलालचपूर्ण रूपमा त्यागे ।
भारतमा जादुमय रूपमा उदाइरहेका नरेन्द्र मोदीले पनि शासन सञ्चालन गर्दा कुनै प्रकारको लोभलालच राखेका छैनन् । त्यसैले मोदीप्रति भारतीयको विश्वास झन्पछि झन् बढिरहेको छ । उनको यो सफलताबाट नेपालका शासकले सिक्ने भनेकै इमानदारिता र अठोटको राजनीति हो । मोदी कहिल्यै पनि आर्थिक विवादमा फसेका छैनन् । उनको इमानदारिता र नैतिकतामाथि कसैले पनि प्रश्न गर्न सक्ने अवस्था छैन । उनकै नेतृत्वमा यतिखेर भारत विश्वमै शक्तिशाली राष्ट्रका रूपमा उदीयमान हँुदै जान थालेको छ । त्यसैले हाम्रा प्रधानमन्त्री र उनका सारथीले छिमेकी मित्र राष्ट्र भारतकै जस्तो शासकीय क्षमता र राजनीतिक चरित्र मात्रै देखाउन सके भने पनि नेपालले विकास र समृद्धिको ढोका सहजै खोल्न सक्ने विश्वास गर्न सकिन्छ । मलेसियाका महाथीर र सिगापुरका लिक्वानको पथमा हिंड्न सक्ने हो भने त मुलुक छिट्टै कायपलट हुन सक्ने विश्वास गर्न सकिन्छ ।
नेपालमा विकासका धेरै सम्भावना छन् । ती सम्भावनाको ढोकालाई दीर्घकालीन रूपमा खोल्न यहाँका राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्व आमूलरूपमा सच्चिनुपर्छ । आमनागरिक समाजका सदस्य पनि सिर्जनशील बन्न सक्नुपर्छ । सधैं समस्या र विवादका विषयमा तर्कवितर्क गर्नुभन्दा पनि नागरिक समाजले समाधानका सही उपाय पनि सुझाइदिनुपर्छ । नागरिक समाजका सदस्यमा सकारात्मक सोचको विकास हुनुपर्छ । स्वस्थ्य आलोचना गर्दै समाधानका लागि उपायका बाटाहरू आंैल्याइदिने बानीको विकास आमजनस्तर र नागरिक समाजका अगुवामा खासै हुन सकेको छैन ।
अहिले पनि नेपाली शासक प्रशासकहरू रातदिन काम गरेर जनताका असीमित आवश्यकता पूरा गराउन र सिंगो मुलुकलाई छोटो समयमा नै कायापलट गराउने अभियानमा होम्मिन सकेका छैनन् । यसमा उनीहरूको व्यक्तिगत स्वार्थ र लोभले बढी काम गरिरहेको छ ।
साँच्चै नै मुलुक बनाउने हो भने अब काम र जिम्मेवारी वहन नगर्ने, तर सुविधा मात्रै खोजिरहने र भ्रष्टाचार, अनियमिततामा रमाइरहन चाहने राजनीतिक नेतृत्व (मन्त्रीहरू) र कर्मचारीतन्त्रमा आमूल सुधार जरुरी छ ।
अब अति नै ढिला भइसकेको छ । मुलुक सञ्चालनको प्रमुख भूमिकामा रहेको राजनीति र प्रशासन दुवै नसच्चिने हो भने मुलुक दुर्घटनामा नपर्ला भन्न सकिँदैन ।
नैतिक सिद्धान्त, अनुशासन र इमानदारीसम्बन्धी सिद्धान्तको पालना हुने अवस्थाको सिर्जना गर्ने विभिन्न संस्था, प्रणाली अवस्था र उपकरणलाई नै नैतिकता र सदाचारको पूर्वसर्तका रूपमा लिन सकिन्छ । यसका लागि राजनीतिक प्रतिबद्धता, असल आचारसंहिता, व्यावसायिक सामाजिकीकरण , स्वार्थहीनता, सच्चरित्रवान्, वस्तुपरकता, जवाफदेहिता, खुलापन, इमानदारिता, र असल नेतृत्वशैली हुनु आवश्यक छ । यसका साथै शासकलाई जिम्मेवार बनाउन नैतिक नियमसम्बन्धी समन्वयकारी संस्थाहरू, कानुनी संरचना, उत्तरदायी संयन्त्र, र सक्रिय नागरिक समाज आवश्यक पर्छ । यसो गर्न सकिएमा मात्रै शासकमा नैतिकता र इमानदारिताको विकास हुन सक्छ र मुलुक एउटा व्यवस्थित प्रणालीअनुसार अघि बढ्छ । त्यसो हुनु भनेको विकास र समृद्धिको ढोका खुल्नु पनि हो ।






