धनगढी । सुदूरपश्चिम प्रदेशमा हरेक वर्ष क्षयरोगीको संख्या बढ्दै गएको छ । यो प्रदेशको कैलाली जिल्लामा सबैभन्दा बढी क्षयरोगी रहेका छन् ।
प्रदेशको सामाजिक विकास मन्त्रालय मातहतको स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार कैलालीमा ७ सय ५३ क्षयरोगी छन् । प्रदेशमा १ हजार ८ सय ३४ क्षयरोगीको संख्या रहेकामा कैलालीमा मात्र ७ सय ५३ क्षयरोगी छन् ।
कञ्चनपुरमा ४ सय ४८, डोटीमा १ सय १२, बैतडीमा १ सय १४, बाजुरामा ८९, बझाङमा ७९, दार्चुलामा ८७ र अछाममा ७८ जना क्षयरोगी छन् । प्रदेशमा साउनदेखि फागुनसम्ममा सो संख्याका क्षयरोगी फेला परेका छन् ।
स्वास्थ्य निर्देशनालयका क्षय कुष्ठरोग अधिकृत मनोज ओझाले साउनदेखि फागुनसम्म १ हजार ८ सय ३४ जना क्षयरोगका बिरामी फेला परेको बताए ।
ओझाले चालू आर्थिक वर्षको चार महिना अझै बाँकी रहेकाले संख्या अझै बढ्ने बताए । सुदूरपश्चिम प्रदेशमा गत आर्थिक वर्षमा ३ हजार ४ सय २४ जना क्षयरोगी फेला परेका थिए । प्रदेशमा आर्थिक वर्ष २०७७÷७८ मा २ हजार ८ सय २६ जना क्षयरोगी फेला परेका थिए । प्रदेशमा गत आर्थिक वर्षमा १ सय १० जना क्षयरोगीको मृत्यु भएको थियो ।
आर्थिक वर्ष २०७८-७९ मा १ सय १९ तथा चालू आर्थिक वर्षको फागुन मसान्तसम्म थप ६१ जना क्षयरोगीको मृत्यु भएको सरकारी तथ्यांक छ । क्षयरोगका कारण योभन्दा बढीको मृत्यु भएको हुन सक्ने आँकलन गरिएको छ । ओझाले भने, प्रतिशतको हिसाबले हेर्ने हो भने एक वर्षमा ३ प्रतिशतको मृत्यु हुँदै आएको छ ।
संख्याको हिसाबमा यो वर्ष ६१ जनाको मृत्यु भएको छ । गत आर्थिक वर्षमा उपचारमा आएका बिरामीको मृत्यु भएको हो । सुदूरपश्चिममा एक वर्षमा १ सय १० देखि १ सय २० सम्मको संख्यामा क्षयरोगीको मृत्यु हुँदै आएको छ । स्वास्थ्यकर्मीका अनुसार उपचार पाएका क्षयरोगीमा ९० प्रतिशतको निको हुन्छ ।
तर, प्रदेशमा क्षयरोगीको संख्या धेरै भए पनि परीक्षण गर्ने गरेका छैनन् । समुदायस्तरमा क्षयरोगीले परीक्षणसमेत गर्ने गरेका छैनन् । स्थानीय तहले रोग पत्ता लगाउन विभिन्न स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको भए पनि पर्याप्त भएको छैन । प्रदेशमा क्षयरोगीको रोगको पहिचानसमेत नभएर मृत्यु हुँदै आएको छ ।
स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लालबहादुर धामीले सबै क्षयरोगीको उपचार नभएको बताए । उनले लक्ष्यअनुसारको कामसमेत नभएको बताए । उनले भने, ‘यो वर्ष फागुनसम्म मात्र ७ सय बढी बिरामी फेला परेका छन् । उनीहरू उपचारमा छन् । लक्ष्य पूरा भएको छैन । समुदायमा रहेका क्षयरोगका बिरामीलाई खोज्न सहकार्य गर्छाैं ।’
क्षयरोगीको पहिचान र उपचार निःशुल्क हुन्छ । प्रदेश सरकारले रोगीलाई निःशुल्क औषधि वितरण गर्दै आएको छ । सुदूरपश्चिम प्रदेशभित्र क्षयरोगका कारण बर्सेनि ज्यान गुमाउनेको संख्या बढ्दै गएको पाइएको छ ।
हरेक वर्ष औसतमा क्षयरोगकै कारण १ सय १९ जनाको मृत्यु हुने गरेको पाइएको छ । प्रदेश सरकारको तथ्यांकअनुसार वार्षिक ३ हजारको संख्यामा नयाँ क्षयरोगी फेला पर्ने गरेका छन् ।






