काठमाडौं । सरकारले नेपाल प्रहरीको ३०औं महानीरिक्षक (आईजीपी)को जिम्मेवारी प्रहरी अतिरिक्त महानीरिक्षक (एआईजी) वसन्त कुँवरलाई दिएको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई नेपाल प्रहरीको ३०औं प्रहरी प्रमुख बनाएको हो । कुँवर एसएसपीबाट डीआईजी र डीआईजीबाट एआईजीमा बढुवा हुँदा पहिलो वरीयतामै परेका थिए । उनै कुँवरलाई सरकारले प्रहरी प्रमुखका लागि योग्य देखेको हो ।
प्रहरीको नेतृत्वका लागि पाँच जना एआईजी थिए । त्यसमध्ये सरकारले कुँवरलाई आईजीपी बनाएको हो । कुँवरसँगै ६ चैतमा बढुवामा पर्दै एआईजी बनेका टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य प्रहरीको नेतृत्वका लागि लबिङमा थिए ।
प्रहरी नियमावली, २०७१ को नियम ४१ मा ‘ज्येष्ठता, कार्य कुशलता, कार्य क्षमता, उत्तरदायित्व वहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामथ्र्यको आधारमा नेपाल सरकारले उपयुक्त देखेको उम्मेदवारलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गर्नेछ’ भनिएको छ ।
सोही आधारमा सरकारको मूल्यांकनको तजबिजीका आधारमा प्रहरीको नयाँ आईजीपी तोकेको हो । आईजीपी बनेका कुँवर ५ चैत २०५१ मा प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेका थिए ।
प्रतिस्पर्धामा रहेका थापाबाहेकका अन्य तीन जना एआईजी पनि २०५१ चैतमा एकसाथ प्रहरी निरीक्षकमा भर्ना भएका अधिकारी हुन् । एआईजी थापा भने उनीहरूभन्दा ६ महिनापछि २०५२ भदौमा प्रहरी सेवामा प्रवेश गरेका हुन् ।
उनीहरू यसअघि एकैपटक ८ असारमा एसएसपीबाट डीआईजीमा बढुवा भएका थिए । त्यस्तै, २०७५ फागुनमा एसएसपी, २०७१ फागुनमा एसपी र २०६३ भदौमा डीएसपीमा एकसाथ बढुवा भएका थिए ।
प्रहरीमा ३० वर्षे सेवा अवधिका कारण आईजीपी धिरजप्रताप सिंह भने शनिबार (आज)बाटै अनिवार्य अवकाशमा गएका छन् । सिंहलाई प्रहरी प्रधान कार्यालयले शुक्रबार नै बिदाइ गरिसकेको छ । सिंहसँगै अन्य तीन जना एआईजी सहकुलबहादुर थापा, उत्तमराज सुवेदी र दिवेश लोहनी पनि ३० वर्षे सेवाअवधिका कारण अनिवार्य अवकाशमा गएका छन् । उनीहरूको अवकाशसँगै प्रहरीमा थप चार एआईजी पद रिक्त भएको छ ।
अब हुने एआईजी बढुवाको दौडमा डीआईजीहरू सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण रहनेछन् ।






