तनहुँमा उम्मेदवार हुन नेता रिझाउँदै, चितवनमा रविकै चर्चा

काठमाडौं । उपनिर्वाचनको मिति घोषणा गरिएसँगै तनहुँ १ र चितवन २ मा राजनीतिक चहलपहल सुरु भएको छ । तनहुँ १ का प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएसँगै रिक्त भएको यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

उपनिर्वाचनका लागि निर्वाचन कार्यालयले आवश्यक तयारी थालिसकेको छ । गत ४ मंसिरमा सम्म तनहुँ–१ मा १ लाख २३ हजार ४ सय ९० मतदाता थिए । निर्वाचनमा ६६ हजार ९ सय ६५ मत खसेकामा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार पौडेल २५ हजार ३ सय १८ मत प्राप्त गरी विजयी भएका थिए । प्रतिस्पर्धी नेकपा (एमाले)का एकबहादुर रानाले १९ हजार ९ सय ४३ मत प्राप्त गरेका थिए ।

कांग्रेस नेताको घरदैलो
उपनिर्वाचनका लागि कांग्रेसबाट केन्द्रीय सदस्य गोविन्द भट्टराई, पूर्वजिल्ला पार्टी सभापति रघुनाथ पौडेल, संविधानसभा सदस्य रामचन्द्र पोख्रेल आकांक्षी छन् । दुईपटक पार्टीको केन्द्रीय सदस्य हुँदा पनि आफूले अवसर नपाएकाले योपटक आफूले टिकट पाउने केन्द्रीय सदस्य भट्टराईले बताए । भट्टराईले केही दिनअघिदेखि नै गाउँगाउँमा पुगेर मतदाता भेटघाट गरिसकेका छन् ।

‘पार्टीका सभापति शेरबहादुर देउवासँग पनि भेट गरिसकेको छु । उहाँले उपनिर्वाचनको तयारी गर्नु भनिसक्नुभएको छ, मैले टिकट पाउनेमा कुनै शंका छैन’ उनले भने ।

यता, रघुनाथ पौडेलले तीन कार्यकाल जिल्लाको नेतृत्व गरेकाले आफूले टिकट पाउनुपर्ने भन्दै लबिङ थालेका छन् । आफूले अहिलेसम्म अवसर नपाएकाले एकपटक अवसर पाउनुपर्ने भन्दै उनी पनि राजधानीमा नेताहरूसँग भेटघाटमा लागिसकेका छन् ।

यस्तै, संविधानसभा सदस्य पोख्रेलले २०४६ सालदेखि बहुदलीय व्यवस्था आएदेखि नै प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचन लड्ने चाहना रहेको बताए । ‘अहिलेसम्म मैले प्रत्यक्ष निर्वाचन लड्ने अवसर पाएको छैन । यसपटक नेतृत्वले आफूलाई टिकट दिनेमा विश्वस्त छु’ पोख्रेलले भने ।

अन्य दलबाट को–को छन् आकांक्षी ?
एमालेका तर्फबाट एकबहादुर राना, रामबहादुर गुरुङ, किरण गुरुङलगायत आकांक्षी रहेका छन् । गत मंसिरमा निर्वाचन लडेर पराजित भएका रानाले पार्टीले निर्णय गरेमा उपनिर्वाचनमा उम्मेदवार बन्ने बताए ।

नेकपा (एकीकृत समाजवादी)ले पनि उपनिर्वाचनमा सो सिटमा दाबी गर्ने निर्णय गरेको छ । पार्टीका जिल्ला अध्यक्ष श्रीराम कार्कीको अध्यक्षतामा सम्पन्न बैठकले मंसिर ४ को निर्वाचनमा तत्कालीन गठबन्धनलाई विजयी गराउन खेलेको भूमिकाका आधारमा उपनिर्वाचनमा आफूहरूले सो सिट पाउनुपर्ने निष्कर्ष निकालेको हो ।

तनहुँ–१ बाट निर्वाचित तत्कालीन प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले गठबन्धनमा सो निर्वाचन क्षेत्र छाडेर बारा ४ मा गएको र पौडेल राष्ट्रपतिमा निर्वाचित भइसकेकाले अब उपनिर्वाचनमा एकीकृत समाजवादीको तर्फबाट उम्मेदवारी दाबी गर्ने निर्णय भएको जिल्ला अध्यक्ष कार्कीले बताए ।

चितवनमा रविकै चर्चा
कांग्रेस कार्यसम्पादन समिति बैठकले १० वैशाखमा तनहुँ १ र चितवन २ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन दिएको छ । नाम’bout निर्णय गरेर उपयुक्त समयमा केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिएको छ ।

चितवन २ मा यसअघि पराजित पूर्वराज्यमन्त्री उमेश श्रेष्ठ प्रमुख दाबेदारका रूपमा देखिएका छन् । उनले यस क्षेत्रबाट निर्वाचित रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि आफूलाई स्वतः निर्वाचित गर्नुपर्ने मागसहित निर्वाचन आयोगमा निवेदनसमेत दिएका थिए । तर, आयोगले दोस्रो मत पाएकालाई स्वतः निर्वाचित हुने कानुनी व्यवस्था नरहेको जानकारी गराएको थियो ।

कांग्रेसका चितवन सभापति राजेश्वर खनाल, निवर्तमान जिल्ला सभापति जितनारायण श्रेष्ठले पनि उपनिर्वाचनमा उम्मेदवार बन्ने आकांक्षा राख्दै आएका छन् । यसबाहेक केन्द्रबाट अर्थविद् डा. स्वर्णिम वाग्लेको नाम पनि चर्चामा छ ।

एमालेले चितवन २ को उपचुनावको सम्भावित उम्मेदवार’bout कार्यकर्ता तहमा प्रारम्भिक छलफल सुरु गरेको छ  । अहिलेसम्म जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने, गत निर्वाचनका उम्मेदवार कृष्णभक्त पोखरेल, डा. तिलचन्द्र भट्टराई, पूर्वजिल्ला अध्यक्ष तथा पूर्वप्रदेश सांसद विजय सुवेदी र गोपी श्रेष्ठको नाममाथि छलफल सुरु भएको एमाले चितवनले जनाएको छ ।

‘हामीले ग्रासरुट अभियानलाई नै चुनावी अभियानका रूपमा पनि चलाइरहेका छौँ, समग्रमा जिल्ला, क्षेत्र, पालिका र वडा तहसम्म चलिरहेको ग्रासरुट अभियानमा चुनावको प्रारम्भिक तयारीका रूपमा उम्मेदवारहरूको नाममाथि पनि छलफल सुरु भएको छ’ जिल्ला अध्यक्ष न्यौपानेले भने, ‘हाम्रो उम्मेदवारी हुने निश्चित छ, जनताबीच लोकप्रियमध्येबाट नयाँ सन्देश दिनेगरी केन्द्रले कार्यविधि पठाएपछि उम्मेदवार छनोट गर्नेछौं ।’

२०७४ को निर्वाचनमा सो क्षेत्रबाट एमालेका कृष्णभक्त पोखरेल विजयी भएका थिए । तर, २०७९ को निर्वाचनमा भने पोखरेल तेस्रो भए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ४९ हजार २ सय ६४ मत ल्याएर विजयी हुँदा पोखरेलले १४ हजार ६ सय ४७ मत प्राप्त गरेका थिए । प्रतिद्वन्द्वी कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९ सय ८३ मत ल्याएका थिए ।

चितवन २ मा पुनः निर्वाचनमा विजयका लागि लामिछानेले भेटघाट सुरु गरिसकेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर रास्वपाले चितवन २ मा सत्तारूढ दलबाट साझा उम्मेदवार हुन खोजेका छन् । यदि सत्तारूढ दलहरूले समर्थन गरेमा चितवन २ मा एमाले र रास्वपाबीच प्रतिस्पर्धा हुने देखिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 593 times, 1 visits today)

epaper

ताजा समाचार

रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि बिर्तामोड युनाइटेडलाई