प्रेमले महापुरुषको उचाइ दिलाउने अरुणको आत्मविश्वास

काठमाडौं । आफूले अभिनय गरेको मध्य पहिलो रिलिज चलचित्र ‘महापुरुष’ले सर्वाधिक दर्शकको माया पाउँदा अभिनेता अरुण क्षत्री दंग थिए । चार महिनाअघि रिलिज भएको महापुरुषले नवोदित अभिनेता अरुणको चर्चा नेपाली चलचित्रवृत्तमा चुल्यायो । यतिबेला यिनै अभिनेता आफ्नो अर्को चलचित्र ‘प्रेम’को पर्खाइमा छन् ।

अरुणले मुख्य भूमिका निर्वाह गरेको चलचित्र प्रेम यही शुक्रबार १८ चैतबाट सिनेमा हलमा आउँदै छ । तर, अरुणले अघिल्लो चलचित्र महापुरुषको जस्तो चर्चा पाएका छैनन् । महापुरुषको जस्तो प्रचारप्रसार पनि यो फिल्मको नहुँदा अहिले अभिनेता अरुण निकै चिन्तित छन् ।

मंगलबार राजधानीसँग कुरा गर्दै अभिनेता अरुणले भने, ‘कामको हिसाबले प्रेम मेरो दोस्रो सिनेमा हो भने रिलिजको हिसाबले पनि दोस्रो हो । पहिलो चलचित्र महापुरुषमा मह जोडीसहित थुप्रै चर्चित कलाकार भएका कारण मलाई प्रचारमा सजिलो थियो भने प्रेमाको सबै जिम्मेवारी मेरो काँधमा छ ।’ पहिलो फिल्म नै हिट हुँदा त्यसपछिका सिनेमा अझ राम्रो हुनुपर्छ भन्ने दर्शकको मान्यता रहने गरेको यी अभिनेताले बताएका छन्, ‘महापुरुषमा भन्दा राम्रो काम मैले चलचित्र प्रेममा गरेको छु । तर, यो चलचित्रको काम दर्शकले कसरी मूल्यांकन गर्नुहुन्छ भन्ने पर्खाइमा म छु,’ उनले भने ।

चलचित्र प्रेमलाई गोविन्द सिंह भण्डारीले निर्देशन गरेका हुन् । जसमा दुई जना मिस नेपाल सृष्टि श्रेष्ठ र शुभेच्छा खड्का नायिकाका रूपमा रहेका छन् । दुई जना मिस नेपालसँग काम गर्नुअघि केही अप्ठेरो लागे पनि छायांकन सुरु भएपछि त्यस्तो अप्ठेरो महसुस नभएको पनि यी अभिनेताले बताएका छन् ।

जापानमा बसेर पढ्दै गरेका अरुण चलचित्रमा नायक बन्नकै लागि सन २०१६ मा काठमाडौं आएका हुन् । यहाँ दर्जनभन्दा बढी सिनेमामा अडिसन दिएपछि बल्ल चलचित्र ज्याकी आईएम ट्वान्टी वानमा सह अभिनेताका रूपमा अरुण चयन भए । चलचित्र ज्याकी आईएम ट्वान्टी वान आगामी वैशाखमा रिलिज हुँदै छ । तर, अहिले आपूm चलचित्र प्रेमको विषयमा चिन्तित भएको उनले बताए । नारी शीर्षकमा केन्द्रित प्रेमा सामान्य प्रेमकथामा निर्माण भए पनि आपूmलाई औधी मन परेको यी अभिनेताको भनाइ छ ।

‘जीवनलाई अघि बढाउन सही समयमा सही निर्णय लिनुपर्छ भन्ने सन्देश बोकेको यो चलचित्र हेर्न हलसम्म दर्शक आएपछि भने उहाँहरूले फिल्म मन पराउनुहुन्छ । अभिनयका हिसाबले मैले महापुरुषमा भन्दा यसमा राम्रो काम गरेका कारण दर्शकको मन जित्नेमा विश्वस्त छु,’ अरुणले भने । तथापि, महापुरुषको तुलनामा प्रेमको प्रचारप्रसार भने केही काम भएको यी अभिनेताले स्वीकारेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 252 times, 1 visits today)

epaper

ताजा समाचार

सम्पत्ति छानबिन आयोगले सुरु गर्‍यो काम