वास्तवमा, नेपाल जस्तो उच्च करेन्ट भएका नदीको बहाब र कम लागतमा विद्युत् उत्पादन गर्न सकिने भौगर्भिक बनावट विश्वमै बिरलै पाइन्छ । यसलै जलविद्युत् उत्पादनको लागत पनि तुनात्मकरूपमा कम रहेको छ । जब कि समथर भूगोलमा बग्ने नदी जलविद्युत्को दृष्टिकोणबाट उपयोगी हुन सक्दैन । वा जलविद्युत् निकै महँगो पर्न जान्छ । सैद्धान्तिकरूपमा ८३ हजार मेगावाट र प्राविधिक–आर्थिकरूपमा ४३ हजार १ सय ४३ मेगावाट जलविद्युत् उत्पादन गर्न सकिने सम्भावना देखिनु यही भौगर्भिक बनावटको कमाल हो । वस्तुतः आकार, भौगोलिक बनावट र बहाबका आधारमा बिभिन्न मोडल र स्वरूपका जलविद्युत् आयोजना निर्माण गर्न सकिन्छ । पहाडी क्षेत्रमा अनगिन्ती खोलानाला रहेको छ । यी सानातिना खोलानाला लघुजलविद्युत्का दृष्टिकोणबाट उपयुक्त छन् । कन्काई, कमला, बबई, बाग्मती, तिनाउ, राप्ती मझौला आकारका नदीहरू हुन् । यी नदीहरू मझौला आकारको जलविद्युत् आयोजना निर्माणका लागि उपयुक्त छन् । कोसी, गण्डकी र कर्णाली जस्ता विशाल नदीहरू बृहत् एवं बहुउद्देश्यीय आयोजना निर्माणका लागि उपयुक्त छन् । माल पाइकन पनि चाल पाउन नसक्नु दुर्भाग्य मात्र होइन । कमजोरी पनि हो ।
जलसम्पदामा नेपाल ब्राजिलपछि सर्वाधिक सम्भावना बोकेको मुलुक हो । जलबिना मानव जीवनको परिकल्पना समेत गर्न सकिँदैन । कुनै मुलुकमा जल प्रर्याप्त छ भन्ने कुरा आफंैमा सर्वोपरि हुन सक्दैन । सर्वोपरि भनेको पानीमा निहीत गुणबत्ता हो । वा गुणस्तर हो । विश्वलाई ३ भाग लगाउने हो भने एक भाग जमिन र दुई भाग पानी रहेको छ । परन्तु, कुल पानीमध्ये विश्वमा ३ प्रतिशत जल मात्र पिउन लायक छ । जबकी नेपालको ९७ प्रतिशत जल पिउन लायक छ । यसको अर्थ नेपालले पानी बोतल वा जारमा प्याकिङ गरेर बिक्री गर्न सकिन्छ भन्ने मात्र होइन यहाँको पानीमा मत्स्यपालनलगायतका बहुउपयोग गर्न सकिन्छ भन्ने पनि हो । प्रकृतिको उपहारको प्राप्त जल र जल सम्पदामा निहित गुणबत्ता आफंैमा बहुआयमिक सम्भावना हो । परन्तु गुणबत्ताले भरिपूर्ण जल कौडीसहर उपयोग गर्न नसक्नु हाम्रो कमजोरी हो ।
लागत र निर्माण समयका आधारमा जलविद्युत् आयोजनालाई अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गरी ३ समूहमा पृथकीकरण गरिएको छ । १२ सय मेगावाट क्षमताको बुढीगण्डकी, ९ सय मेगावाट क्षमताको अरूण तेस्रो, ९ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली, ७ सय ५० मेगावाट क्षमताको पश्चिम सेती, ६ सय मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी अल्पकालीन आयोजनाका रूपमा, २ सय १२ मेगावाट क्षमताको लामटाङ खोला, २ सय २५ मेगावाट क्षमताको सप्तगण्डकी, ३ सय ३५ मेगावाट क्षमताको माथिल्लो अरुण, ४ हजार १ सय ८० मेगावाट क्षमताको माथिल्लो कर्णाली (जलासयुक्त) मध्यकालीन आयोजनाका रूपमा, ४ हजार ७ सय मेगावाट क्षमताको सप्तकोसी, १० हजार ८ सय मेगावाट क्षमताको कर्णाली–चिसापानी, ६ हजार ४ सय ८० मेगावाट क्षमताको पञ्चेश्वर दीर्घकालीन आयोजनाका रूपमा वर्गीकृत छ ।
जहाँसम्म हालसम्मको जडित क्षमता, २०७८ फागुनसम्ममा जडित क्षमता २ हजार २ सय २५ सय मेगावाट पुगेको छ । (जसमा जलविद्युत् २ हजार २२ मेगावाट, सौर्य ४९.५ मेगावाट, थर्मल ५३.४ मेगावाट, वैकल्पिक ऊर्जा प्रवद्र्घन केन्द्रबाट ७४ मेगावाट, चिनी मिल प्रविधिबाट ६ मेगावाट जडान भएको छ । जहाँसम्म राष्ट्रिय ग्रिडमा जडानको सवाल छ, नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा सञ्चालित आयोजनावट ५८१ मेगावाट र निजी क्षेत्रबाट सञ्चालित परियोजनाबाट १ हजार ४ सय ४० जडान भएको छ । आयात निर्यातका हकमा, आव २०७७–७८ मा भारतबाट २ हजार ८ सय २६ गिगावाट आयात भएको छ भने ४४ गिगावाट निर्यात भएको छ । त्यस्तै २०७८ को फागुनसम्ममा ७ सय ५७ गिगावाट अयात हुँदा १८३ गिगावाट मात्र निर्यात भएको छ । स्मरण रहोस, आव २०७८–७९ मा १८ वटा अयोजना सम्पन्न भई ८ सय ४३ र आव २०७९–८० मा ४३ वटा आयोजना सम्पन्न भई ७ सय १३ मेगावाट जलविद्युत् उत्पादन हुुुने आर्थिक सर्वेक्षण २०७८–७९ मा उल्लेख छ । सर्वेक्षणमा २०७८ फागुनसम्ममा ९४ प्रतिशत जनसंख्यामा विद्युत् पहुँच पुगेको बताइएको छ ।
कुनै पनि देशको जल सम्पदाले त्यस देशको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । पिउनका लागि तथा सिँचाइका लागि पानी नभई नहुने साधन हो । नदीनालामा डुंगा, स्टिमर चलाई यातायात सुविधा विस्तार गर्न सकिएमा आर्थिक विकासमा टेवा पुग्न सक्छ । स्वच्छ जल मत्स्यपालन गर्न, जलक्रिडा गर्न, पर्यटकको मन बहलाउन पनि त्यतिकै वरदान सावित हुन्छ । जल सम्पदावाट जलविद्युत् उत्पादन गर्न सकिने हँुदा आर्थिक रूपमा त्योभन्दा पनि अझ महत्वपूर्ण हो । प्रचुर सम्भवनाका बाबजुध पनि नेपाल जलविद्युत् उत्पादनमा नेपाल पछाडि परिरहेको छ । उक्त सन्दर्भमा चीन, भारत, नर्वे, इजिप्ट, भुटानलगायतका मुलुकले गरेको तरिका पठनीय छन् ।
कोसी, गण्डकी र कर्णालीजस्ता विशाल नदीहरू बृहत् एवं बहुउद्देश्यीय आयोजना निर्माणका लागि उपयुक्त छन्
चीन विश्वकै सर्वाधिक जनसंख्या भएको मुलुक मानिन्छ । चिनियाँ कम्पनी थ्रिगर्जेज यांसी नदी थुनेर २२ हजार ५ सय मेगावाट क्षमताको बृहत् आयोजना निर्माण गरेको छ । त्यसो त यांसी १६ हजार किलोमिटर लामो नदी मात्र होइन विश्वमै सर्वाधिक जनधन नोक्सान गर्ने नदी कहलिन्थ्यो । विगत २ हजार वर्षपर्यन्त अनेकन क्षति पु¥याउँदै आएको यांसी चीनको दुःखका रूपमा पनि चिनिन्थ्यो । अक्सर प्रत्येक १० वर्षमा तहसनहस गर्दथ्यो । अहिले त्यही नदी चीनको अर्थतन्त्रमा वरदान सावित भएको छ । जलविद्युत् उत्पादनको अलावा थ्रिजर्जे हाई ड्याम पोजेक्ट अवलोकन गर्न बर्सेनि लाखौं पर्यटक ओइरन्छन् ।
सिँचाइ, मत्स्यपालन, पिउने पानी सुविधा पु¥याइएको छ । आयोजना निर्माण पूर्व विस्थापित १२ लाख मानिसको उचित व्यस्थापन भएको थियो । परियोजना निर्माणका लागि १७ वर्षको लामो अवधि खर्चिनु मात्र परेको थिएन, हजारांै इन्जिरियले रातो दिन कार्य गरेका थिए । नेपालमा जस्तो स्थानीयवासीबाट थुनछेक भएको थिएन । पहिलोपटक निर्मित ड्याम गुणस्तरीय नभएका कारण वर्षौ लगाएर निर्मित संरचना एक सेकेन्डमा ध्वस्त पारिएको थियो । तत्पश्चात् १० गुना बढी कंक्रिड हाली ड्याम निर्माण गरिएको थियो । गुणस्तरमा कुनै सम्झौता नभएका कारण थ्रिगर्जेज विश्वकै मजबुत ड्याम मानिन्छ । जमिनमुुनि यति धेरै कंक्रिड बिच्छाइएको छ कि नित्सर्ग भएको पानीले जमिनलाई कुनै क्षति पु¥याउन सक्दैन । ड्याम त्यतिकै मजबुत बनाइएको छ । यांसी नदीले चाहेर पनि तोड्न सक्दैन ।
भारत, जो २ सय वर्षसम्म ब्रिटेनको दासत्व भोगेको मुलुक मानिन्छ । स्वतन्त्र हुँदाका समयमा भारतकोे जलविद्युत् उत्पादन १३ सय मेगावाट मात्र थियो । पछिल्लो ५ दशकमा १० गुना उत्पादन वृद्धि गरेको छ । कुल गार्हस्थ्य उत्पादनमा जलविद्युत्को हिस्सा ३ प्रतिशत रहेको छ । जलविद्युत् क्षेत्रमा वार्षिक उत्पादन वृद्धि दर २५०० मेगावाट छ । जबकी भारतले पहिलोपटक सन् १८९७ मा १३० मेगावाट क्षमताको जलविद्युत् आयोजना दार्जलिङ नजिकको पश्चिम बंगालमा निर्माण गरेको थियो । जुन फर्पिङ जलविद्युत् आयोजनाभन्दा १८ वर्ष पहिले मात्र हो ।
जलविद्युत् क्षेत्रमा निरन्तर लागिरहँदा अहिलेसम्म नेपालले करिब ३० हजार मेगावाट जलविद्युत्् उत्पादन गर्नुका साथै धेरै लगानी गरेको छ
भुटान, केही समय पूर्व दक्षिण एसियाकै नाजुक मुलुकका रूपमा चिनिन्थ्यो । नेपाल जस्तै भूपरिवेष्टित मुलुक मात्र होइन भुटान क्षेत्रफल गरिब ४ गुना सानो मुलुक पनि हो । जसको क्षेत्रफलल ३८ हजार ३९४ वर्गकिमी मात्र रहेको छ । अहिले भुटानले जलसम्पदाको उपयोग गरी नेपाललाई उछुनी सकेको छ । सन् २०२२ सम्ममा जडित क्षमता २ हजार ३ सय ३६ मेगावाट रहेकामा त्यसको ७० प्रतिशत बिजुली भारतलाई बिक्री गरिरहेको छ । अर्को शब्दमा भन्नुपर्दा विश्वको उदीयमान अर्थतन्त्र भारतको लगानी भिœयाई उसैलाई बिजुली बिक्री गरिरहेको छ ।
इजिप्ट, जसलाई नाइलको देन पनि पनि मानिन्छ । उसले सन् १९७० ताका इजिप्टको नाइल नदीमा निर्मित हाई ड्याम प्रोजेक्ट ऊर्जा निर्माण गरेको थियो । अहिले उक्त अयोजना ऊर्जा आवश्यकता सम्बोधन मात्र गरेको छैन, कृषि, पर्यटन, उद्योगको मेरुदण्ड बनेको छ । नर्वे, जलविद्युत् उत्पादनको नायक मुलुक मानिन्छ । त्यस्तै नर्वेेले, नेपालभन्दा ५० वर्ष पछाडि जलविद्युत् उत्पादन सुरु गरेको थियो । जलविद्युत् क्षेत्रमा निरन्तर लागिरहँदा अहिलेसम्म करिब ३० हजार मेगावाट जलविद्युत् उत्पादन मात्र गरेको छैन, नेपाललगायतका मुलुकमा जलविद्युत् क्षेत्रमा लगानी गरेको छ । नेपालको पहिलो निजी क्षेत्रको पहिलो जलविद्युत् आयोजना अर्थात् ६० मेगावाट क्षमताको खिम्ती नर्बेजियन कम्पनी नर्भेजियन कम्पनी हिमाल पावर लिमिटेडले प्रवद्र्धन गरेको थियो । ती राम्रा प्रयासहरू अनुकरण गर्नु–नगर्नु ती हाम्रा कुरा रहे !






