बालबालिकाको स्वास्थ्यमा वायु प्रदूषणको प्रभाव

विश्व स्वास्थ्य संगठनद्वारा ‘एयर पोलुसन एन्ड चाइल्ड हेल्थ : प्रेसक्राइबिङ क्लिन एयर’ शीर्षकबाट वायु प्रदूषण एवं बालस्वास्थ्य’bout जारी गरिएको प्रतिवेदनअनुसार वैश्विक स्तरमा १५ वर्षभन्दा कम उमेरका लगभग ९३ प्रतिशत केटाकेटीहरू प्रत्येक दिन यस्तो हावामा सास फेर्छन्, जुन प्रदूषित हुने गर्छ । यस प्रदूषित वायुले बालबालिकाको स्वास्थ्य एवं विकासमा गम्भीर प्रभाव पार्छ । यी गम्भीर प्रभावका कारण यिनमध्ये कयौं बालबालिकाको मृत्यु हुने गर्छ । विश्व स्वास्थ्य संगठनको अनुमान छ कि सन् २०१८ मा ६ लाख बालबालिका प्रदूषित वायुका कारण हुने संक्रमणले मरेका थिए ।

यस प्रतिवेदनका अनुसार जब गर्भवती महिलाहरू प्रदूषित हावाको सम्पर्कमा आउछन् भने तिनीहरूमा समयभन्दा पहिले बच्च जन्माउने सम्भावना बढी हुन्छ । यसरी जन्मेका बच्चाहरू स–साना तथा जन्मदाका बेला कम तौलका हुने गर्छन् । वायु प्रदूषणले मस्तिष्कको विकास एवं संज्ञानात्मक क्षमताको विकासलाई पनि प्रभावित गर्छ । साथसाथै यो अवस्थामा चाइल्डहुड क्यान्सरको पनि कारण बन्नसक्छ । जुन बालबालिका उच्चस्तरको वायु प्रदूषणको सम्पर्कमा आउँछन्, तिनमा उमेर बढ्दैगर्दा मुटुसम्बन्धी बिरामी हुने जोखिम बढी हुने गर्छ ।

प्रदूषित वायुले लाखौं बालबालिकाका लागि विषको काम गरिरखेको हुन्छ । तिनको जीवन बर्बाद गरिराखेको हुन्छ, जसलाई उचित मान्न सकिन्न । त्यसैले यो सुनिश्चित गरिनु आवश्यक छ कि सबै बालबालिकाले स्वच्छ हावामा सास फेर्न सकून्, जसले गर्दा तिनीहरूले पर्याप्त शारीरिक विकास गर्न सकून् र आफ्नो पूर्ण क्षमता प्राप्त गर्न सकून् । वायु प्रदूषणबाट प्रभावित बालबालिका विशेषगरी कमजोर हुनुको एउटा कारण यो पनि हो कि यिनीहरू वयस्कभन्दा बढी तीव्र गतिमा सास फेर्छन् । यसैले बढी प्रदूषण अवशोषित गर्छन् । नवजात शिशु एवं साना बालबालिका घरेलु वायु प्रदूषणप्रति पनि बढी संवेदनशील हुन्छन् ।

वायु प्रदूषणले मस्तिष्कको विकासलाई प्रभावित गर्छ, जसले गर्दा बालबालिकाको संज्ञानात्मक क्षमता हुनेगर्छ । यस प्रकार यसले बालबालिकाहरूको मानसिक एवं शारीरिकलाई नकारात्मक रूपले प्रभावित गर्छ । वैश्विकस्तरमा १५ वर्षभन्दा कम उमेरका ३५ प्रतिशत बालबालिका यस्तो परिवेशमा रहन्छन्, जहाँ वायुमा विश्व स्वास्थ्य संगठनद्वारा निर्धारित कणीकीय पदार्थ २ दशमलव ५ को तुलनामा उच्च हुनेगर्छ । पाँच वर्षभन्दा कम उमेर का ६ सय ३० एवं १५ वर्षभन्दा कम उमेरका १ दशमलव ८ अर्ब बालकालिका यस्तौ परिवेशमा सामिल छन् ।

विश्व स्वास्थ्य संगठनको प्रतिवेदनअनुसार भारतले विश्वमा सबैभन्दा बढी वायु प्रदूषणसँग सम्बन्धित मृत्युदर एवं बिरामीको बोझ सामना गर्नुपरेको छ । त्यहाँ प्रत्येक वर्ष २ मिलियनभन्दा बढीको मृत्यु हुन्छ ।

पाँच वर्षभन्दा कम उमेरका सबै बालबालिकामध्ये ९८ प्रतिशत विश्वका निम्न एवं मध्यम आय हुने देशहरूमा रहन्छन्, जहाँ कणिकीय पदार्थ २ दशमलव ५ को स्तर उच्च छ । तुलनात्मक रूपले उच्च आय भएका देशहरूमा पाँच वर्षभन्दा कम आयुका ५२ प्रतिशत बालबालिका यस्ता क्षेत्रमा रहन्छन्, जसको वायुमा कणिकीय पदार्थ २ दशमलव ५ को स्तर विश्व स्वास्थ्य संगठनले निर्धारित कणिकीय पदार्थ २ दशमलव ५ को मादण्डभन्दा उच्च छ । सन् २०१८ मा १५ वर्षभन्दा कम आयुका बालबालिकाका सम्बन्धमा लगभग ६ लाख बालबालिकाको मृत्युका लागि वातावरण एवं घरेलु प्रदूषणको संयुक्त प्रभाव जिम्मेवार मानिएको छ । कम एवं मध्यम आय भएका देशहरूमा पाँच वर्षभन्दा कम उमेरका बालबालिकामा हुने श्वास संक्रमणका लागि खाना पकाउँदा हुने घरेलु वायु प्रदूषण एवं बाहिरी वायु प्रदूषण ५० प्रतिशतभन्दा बढी जिम्मेवार मानिएको छ । वायु प्रदूषण बाल स्वास्थ्यका लागि प्रमुख खतरामध्ये एक मानिन्छ । वायु प्रदूषणले पाँच वर्षभन्दा कम आयुका बालबालिकामा हरेक १० मध्ये एकजनाको मृत्युको कारण मानिन्छ ।

विश्व स्वास्थ्य संगठनको प्रतिवेदनअनुसार भारतले विश्वमा सबैभन्दा बढी वायु प्रदूषणसँग सम्बन्धित मृत्युदर एवं बिरामीको बोझ सामना गर्नुपरेको छ । त्यहाँ प्रत्येक वर्ष २ मिलियनभन्दा बढीको मृत्यु हुन्छ, त्यसमध्ये वायुको बिग्रदो गुणस्तरका कारण हुने मृत्युको संख्यामा २५ प्रतिशत रहेको छ । सन् २०१६ मा भारतमा पाँच वर्षभन्दा कम उमेरका लगभग १ लाख बालबालिकाको मृत्यु भएको थियो । तिनको स्वास्थ्य जटिलताको प्रमुख कारण बाह्य एवं घरेलु वायु प्रदूषणको स्तर रहेको थियो ।

भारतपछि बाल मृत्युको तथ्यांकनुसार नाइजेरिया दोस्रो स्थानमा रह्यो । यसपछि क्रमशः पाकिस्तान, कंगो, इथियोपिया गणराज्य यस श्रेणीमा सामेल छन् । भारत ती देशमध्ये एउटा मनिन्छ, जहाँ पाँच वर्षभन्दा कम उमेरका सबै बालबालिकामध्ये ९८ प्रतिशतभन्दा बढी यस्तो क्षेत्रमा बसोबास गर्छन्, जहाँ कणिकीय पदार्थ २ दशमलव ५ को स्तर विश्व स्वास्थ्य संगठनद्वारा निर्धारित गुणस्तरभन्दा बढी छ । हामी पनि भारतकै छिमेकी भएकाले हाम्रो अवस्था पनि यसभन्दा भिन्न होला भन्न सकिने आधार भने छैन ।

सबै देशले बालबालिकाको स्वास्थ्य एवं सुरक्षालाई प्रोत्साहन गर्नका लागि विश्व स्वास्थ्य संगठनको वैश्विक वायु गुणस्तर दिशानिर्देशहरूको लक्ष्य प्राप्त गर्नका लागि काम गर्नुपर्ने हुन्छ । यसलाई प्राप्त गर्नका लागि सरकारले वैश्विक ऊर्जाका रूपमा जिवास्म इन्धनमाथिको अधिक निर्भरतालाई कम गर्नु, ऊर्जा दक्षतामा सुधार एवं ऊर्जा स्रोतहरूको उत्थानलाई सुविधाजनक बनाउने खालका उपाय अवलम्बन गर्नुपर्ने हुन्छ ।

प्रत्येक दिन प्रदूषित वायुको सम्पर्कमा आउने लाखौं बालबालिकालाई बचाउनका लागि तत्काल सही दिशामा यथोचित कदम उठाउनुपर्ने आवश्यकता छ ।

राम्रो फोहोरमैला व्यवस्थापनले समुदायले जलाउने फोहोरमैलाको मात्रालाई कम गर्न सक्छ । यसले गर्दा सामुदायिक वायु प्रदूषणलाई कम गर्न सकिन्छ । घरहरूमा भोजन पकाउन, न्यानो पार्न एवं प्रकाश व्यवस्थाका लागि स्वच्छ इन्धनको विशेष उपयोगले घर एवं वरिपरिको समुदायमा वायुको गुणस्तरलाई धेरै हदसम्म सुधार गर्न सक्छ । प्रदूषित वायुबाट बालबालिकालाई बचाउनका लागि कदम चाल्नुपर्ने हुन्छ । विद्यालयका खेलमैदान, व्यस्त सडक, राजमार्ग एवं बिजुलीका संयन्त्र जस्ता वायु प्रदूषणका प्रमुख स्रोतबाट टाढा राखिनुपर्छ ।

बालबालिकामा वायु प्रदूषणका कारण हुने प्रभावमा फोक्सोको विकासमा बाधा, फोक्सोको क्रियाशीलतामा कमी, श्वाससम्बन्धी संक्रमण, मानसिक एवं शारीरिक विकासमा अवरोध हुने व्यवहारसम्बन्धी विकार, जन्मदा कम तौल हुनु, समयपूर्व बच्चा जन्मिनु, शिशु मृत्यु एवं चाइल्डहुड क्यान्सर प्रमुख हुन् । साथै, वयस्क हुँदा हृदयसम्बन्धी रोगहरू, मधुमेह एवं पक्षघातको खतरा हुनसक्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०१६ मा बाह्य एवं घरेलु प्रदूषणका कारण पाँच वर्षभन्दा कम उमेरका ५ लाख ४३ हजार र १५ वर्ष आयुका ५२ हजार बालबालिकाको मृत्यु भयो । बालबालिका समाजका भविष्य हुन् तर यी यसका सबैभन्दा कमजोर सदस्य पनि हुन् । वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यलाई हुनसक्ने खतरालाई मनन गर्दै वैज्ञानिकहरू एवं स्वास्थ्य विशेषज्ञले यसमाथि केन्द्रित आफ्नो प्रतिक्रिया दिनुपर्ने हुन्छ । सामूहिक एवं समन्वित प्रयासका माध्यमबाट वैज्ञानिक एवं स्वास्थ्य विशेषज्ञले यस जोखिमलाई प्राथमिकताका रूपमा समाधान गर्नका लागि एकसाथ उभिनुपर्नेछ ।

प्रत्येक दिन प्रदूषित वायुको सम्पर्कमा आउने लाखौं बालबालिकालाई बचाउनका लागि तत्काल सही दिशामा यथोचित कदम उठाउनुपर्ने आवश्यकता छ । प्रदूषणको स्तर यथास्थितिमा रहिरहे भोलि के कस्तो स्थिति सिर्जना होला हाम्रो कल्पनाभन्दा परको कुरा हो । भनिन्छ, हिजो बाँचेका थियौं, त्यसैले आज छौं, आज बाँच्यौं भने न भोलि रहौंला नत्र कसले भोलिलाई देखेको छ र बाँचौंला ।
(लेखक भेटेरेनरी जनस्वास्थ्य कार्यालय त्रिपुरेश्वर काठमाडौंबाट सेवा निवृत्त वरिष्ठ पशु चिकित्सक हुन्)

तपाइको प्रतिक्रिया
(Visited 271 times, 1 visits today)

epaper

ताजा समाचार

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था