काठमाडौं । लामो समय अमेरिका बसेर नेपाल आएका अभिनेता राहुल केसी र मोडल बिना राउतको अभिनय रहेको गीत साइकल सरर…को भिडियो बुधबार रिलिज गरिएको छ । गायक उमेश मुस्कान र गायिका अनु चौधरीको स्वरमा रहेको यो गीतको एल्बमलाई एक समारोहबीच बुधबार नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, चलचित्र विकास बोर्डका सदस्यद्वय राजु केसी, रवि अधिकारी, अभिनेता गजित विष्ट, अभिनेता राहुल केसी, अभिनेत्री बिना राउतले संयुक्त विमोचन गरेका छन् ।
गीतको भिडियोमा प्रमोद के भण्डारीको निर्देशन, देव दोर्जे लामाको छायांकन, नवीन निरौलाको सम्पादन, मोहन सुनुवारको निर्माण नियन्त्रण रहेको छ ।
भिडियोको निर्मातामा रक्षा बानियाँ केसी, आकाश केसी र कार्यकारी निर्माता राजु केसी रहेका छन् ।
सौराहालगायत विभिन्न सुन्दर स्थानमा छायांकन गरिएको यो भिडियोमा अभिनेता राहुल र अभिनेत्री बिनाको जोडी निकै सुहाएको छ । उनीहरू प्रेमिल जोडीका रूपमा भिडियोमा उत्रिएका छन् । यी दुईको रोमान्स आकर्षक छ ।
कार्यक्रममा बोल्दै नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले नेपालमा थुप्रै सफल फिल्ममा काम गरेका अभिनेता राहुलले नेपाल फर्केर पनि फेरि अभिनयलाई निरन्तता दिएकोमा उनलाई बधाई ज्ञापन गरे, ‘उहाँले अमेरिकामा रहेर पनि इनासमार्फत नेपाली चलचित्रक लागि विभिन्न काम गर्दै आएका छन् । नेपाल आएर पनि उहाँले फेरि राम्रो काम गरिरहनुभएको छ ।’
अभिनेता राहुल केसीले ‘एक दशकदेखि अमेरिकामा रहेर पनि मैले त्यहाँ म्युजिक भिडियो तथा सर्ट फिल्ममा अभिनय गरिरहेको बताए । इनासममार्फत आपूmले चलचित्रसम्बन्धी विभिन्न कार्यक्रम गर्दै आएको पनि उनले जनाए, ‘नेपाल आएका बेला गत साता खड्क गर्जुभा दाइको लाहुरे र यतिबेला अर्को गीत साइकल सररमा अभिनय गर्न पाउँदा खुसी लागेको छ ।’
अभिनेत्री बिना राउतले विगतमा आपूmले राहुलका विभिन्न फिल्म हेरेको र अहिले राहुलसँगै अभिनय गर्न पाउँदा खुसी लागेको बताइन्, ‘फिल्म हेर्दा उहाँको अभिनय निकै मन परेको थियो । अहिले उहाँसँग काम गर्दा थुप्रै कुरा सिक्ने पाएँ ।’
आफ्नो नामै मुस्कान भएकाले सकारात्मक र प्रेमभावको यो गीत बनाएको गायक मुस्कानले कार्यक्रममा बताए । उनले गीत सिर्जना गर्दाको अनुभव पनि सुनाए । गीतमा गायनसँगै लेखन र संगीत पनि उमेश मुस्कानकै छ ।
यो गीतका निर्माता तथा चलचित्र विकास बोर्डका सदस्य राजु केसीले यो गीत एकपटक सुन्नेबित्तिकै मन परेर यसको भिडियो बनाएको बताए । ‘गीतको भाव अनुसारको भिडियो हामीले चितवनका विभिन्न पर्यटकीय स्थलमा छायांकन गरेर बनाएका हौं । यो गीतको भिडियो सबैलाई मन पर्नेमा हामी विश्वस्त छौं,’ उनले भने ।






