दयाहाङको चाहना ‘कालजायी सिनेमा’

काठमाडौं । राम्रो स्किृप्ट र टिम पाएको खण्डमा पारिश्रमिकलाई त्यति महत्व नदिने अभिनेता दयाहाङ राई बताउँछन् ।
राजधानीमा शुक्रबार आयोजित ‘नीरफूल’को प्रेस भेटघाट क्रममा उनले भने, ‘मेरै धेरै चलचित्र व्यावसायिक रूपमा उत्कृष्ट छन् । तथापि म सधंै हेरिरहन मन लाग्ने बाइसाइकल थिभ्स्, पाथेर पाञ्चालीजस्ता कालजायी फिल्ममा काम गर्न चाहन्छु ।’

आफू अभिनित ‘नीरफूल’ ‘मानक’ बन्न सक्ने विश्वास व्यक्त गर्दै उनले ‘सो चलचित्रले भोलिका दिन कस्तो व्यापार गर्छ भनेर ठोकुवा गर्न नसक्ने’ पनि उल्लेख गरे । उनले थपे, ‘तर मैले अहिलेसम्म अभिनय गरेको नेपाली चलचित्रमा स्क्रिप्ट र विषयवस्तुको हिसाबले नीरफूल उत्कृष्ट रहेको छ ।’

सञ्चारकर्मी फूलमान बलले ‘नीरफूल’ निर्देशन गरेका हुन् । केरोना महामारीका कारण यसअघि रिलिज हुन नसकेको सो चलचित्र २६ जेठबाट रिलिज हुने उनले बताए । परिवार र समाजको कथा चलचित्रमार्फत भन्न खोजेको निर्देशक वलको कथन छ ।

‘चलचित्रमा भूकम्प आउँछ, तर यो भूकम्पको कथामाथि हैन,’ निर्देशक बलले भने, ‘हाम्रो समाज र जीवनमा आउने भूकम्प, करप्टेड सिस्टमले ल्याउने भूकम्पचाहिँ चलचित्रमा देखाउन खोजेको छु ।’

अभिनेत्री शान्ति वाईबाले मौलिक कथावस्तु भएका कारण ‘नीरफूल’मा काम गर्दा निकै भावुक भएको सुनाइन् ।
नेपाल म्यान्मार फ्रेन्डसीप काउन्सिलको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको सो चलचित्रमा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, जीवन बराल, लक्ष्मी बर्देवा, मानस राज, रोशन फ्युबालगायतको अभिनय छ ।

भूकम्पका कारण बिछोडिएका परिवारको सदस्यले पुनर्मिलनका लागि गरेको प्रयत्नमा आधारित चलचित्रको पटकथा सचिन घिमिरे र फुलमान बलले लेखेका हुन् । जसमा प्रमोद कार्कीको छायांकन, निमेश श्रेष्ठको सम्पादन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत छ ।

तपाइको प्रतिक्रिया
(Visited 173 times, 1 visits today)

epaper

ताजा समाचार

टिकटकर तुलसी अधिकारीको थुनछेक बहस सुरु