काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले देशका विभिन्न ५ ठाउँमा विपद् व्यवस्थापन वेश स्थापना गरेको छ भने अन्य २ ठाउँमा १/२ दिन भित्र नै स्थापनाको तयारी गरिएको छ ।

यस अघि धादिङको आदमघाट, बाराको निजगढ र धनकुटाको मुलघाटमा रहेको सुरक्षा वेशलाई विपद् व्यवस्थापन वेशको रुपमा स्तरोन्नती गरिएको छ । यस्तैे म्याग्दी स्थित वेनिमा रहेको आश्रित गुल्म तथा डडेलधुराको अमरगढी स्थित नम्बर ५२ गुल्ममा अट्याच रहने गरी विपद् व्यवस्थापन वेश स्थापनमा गरिएको हो । आदमघाट र निजगढमा सशस्त्र प्रहरी नायव उपरीक्षक र वेनि, मुलघाट तथा अमरगढीमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा आवश्यक सामानसहित विपद् व्यवस्थापन तालिम प्राप्त जनशक्ति तैनाथ गरिएको छ ।

सशस्त्र प्रहरी बल प्रधान कार्यालयका सहायक प्रवक्ता एवं सूचना शाखा प्रमुख डीएसपी शैलेन्द्र थापाका अनुसार, यसका साथै दाङको भालुवाङ र सुर्खेतको चिप्लेमा १/२ दिन भित्रै वेश स्थापनाको तयारी गरिएको छ । भालुवाङमा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २९ ज्वालामाई गणमा अट्याच रहने र सुर्खेतको चिप्लेमा यस अघि नै रहेको सुरक्षा वेशलाई स्तरोन्नती गरी विपद् व्यवस्थापन वेश स्थापना गर्ने तयारी गरिएको हो । स्थापना भइसकेका विपद् व्यवस्थापन वेशमा आवश्यक सामान र जनशक्ति तैनाथ गरिसकेको छ भने अन्य तीन ठाउँमा पठाउने प्रकृयामा रहेको छ । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट उत्पादित जनशक्तिलाई ति ठाउँमा परिचालन गरेको हो । यसबाट तत्काल मनसुन जन्य प्रकोप तथा अन्य अवस्थामा हुने विपद्लाई समेत न्यूनिकरण गर्न र उद्धार कार्यलाइ थप प्रभावकारी बनाउन सहज हुने छ ।






