काठमाडौँ । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा. वैकुण्ठ अर्याललाई नेपाल सरकारको मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको छ ।
बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले डा. अर्याललाई मुख्यसचिव बनाउने निर्णय गरेको हो । आज बिहान मात्रै शंकरदास वैरागीले मुख्यसचिवको पदबाट राजीनामा दिएका थिए । वैरागीको राजीनामा स्वीकृत गरेपछि अर्याललाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय भएको एक मन्त्रीले प्रशासन सिंहदरवार विशेष ब्युरोलाई बताए ।
वैरागीलाई राष्ट्रिय सुरक्षा सल्लाहकार जस्तै एक पदमा नियुक्त गरिएको विशेष सूत्रले प्रशासनलाई जानकारी दियो । अर्याललाई मुख्यसचिव बनाउनकै लागि आज मन्त्रिपरिषद बैठक डाकिएको थियो ।
अर्याल अनुभवी सचिव मानिन्छन् । सिनियर पनि भएका कारण अन्य सचिवहरूसँगको समन्वयमा सहज हुने अनुमान गरिएको छ । साथै राजनीतिक समन्वय, निर्णय र राजनीति तथा प्रशासनको सम्बन्ध’bout राम्रो जानकार मानिने अर्यालले पदवहाली पछिको भूमिकामा आफूलाई कसरी उभ्याउँछन्, त्यसबाट उनको मूल्याङ्कन शुरु हुनेछ । स्वभावले भद्र र अनुभवको सीमितताका कारण सानो कोठरीबाट प्रशासन चलाएका शंकरदास वैरागीको नियति अर्यालले दोहोर्याउने छैनन् भन्नेमा सचिवहरू विश्वस्त देखिन्छन् ।






