काठमाडौं । ललिता निवास जग्गा अनियमितता प्रकरणमा पर्दा पछाडि बसेर सरकारी जग्गा हत्याउन सक्रिय व्यक्तिमाथि अनुसन्धान सुरु भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ललिता निवास जग्गा प्रकरणमा बाहिर बसेर जग्गा दर्ता प्रमाण बनाउने र जग्गा फिर्ता गराउने भूमिका निर्वाह गरेको अभियोगमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पक्राउ गरेर हाल अनुसन्धान गरिरहेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शाहलाई यसअघि भ्रष्टाचार मुद्दा दर्ता गर्न सकेको थिएन ।
मिसिलमा र ललिता निवास जग्गा प्रकरणमा उनको नाम कतै जोडिँदैन तर, उनले बाहिरबाट जग्गा दर्ता र फिर्ता गराउन भूमिका खेलेको देखिएपछि उनी अनुसन्धानको घेरामा तानिएका हुन् । मिसिलअनुसार सुर्वणशमेशरका नाति तथा ललिता निवासको जग्गा पाएका हाटकशमशेर राणा परिवारलाई जग्गा दर्ता गर्न भूमिका खेलेवापत् बकसपत्रमार्फत् आफन्तको नाममा जग्गा लिएको देखिन्छ । बकसमार्फत् करिब २ रोपनी ११ आना जग्गा सुधीरकुमार शाहको आफन्तको नाममा दर्ता भएको देखिन्छ । २०४९ सालमा भक्तपुर मालपोतमा रहेका शाहले डिल्लीबजार मालपोत कार्यालयबाट आफ्नो काम सम्पन्न गरेका थिए । डिल्लीबजार मालपोत कार्यालयले २५ कात्तिक र २३ पुस २०४९ सालमा ११२ रोपनी ४ आना सरकारी जग्गा राणा परिवारको नाममा दर्ता गरेको थियो ।
राणा परिवारले दुई चरणमा सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेपछि काम सम्पन्न भएपछि बकसपत्रका रूपमा कर्मचारीलाई बाँडफाँट गरेका थिए । १ मंसिर २०४९ सालमा उर्मिला शाह र भुवनकुमार चापागाईंले संयुक्तरूपमा ६४ आना जग्गा लिए । २९ जेठ २०५० सालमा २६ आना जग्गा उर्मिला शाह र सोदाकुमारी चापागाईले संयुक्तरूपमा थप जग्गा पाए । उर्मिला सुधीरकुमार शाहकी पत्नी हुन् ।
सीआईबीको निगरानीमा किन परेनन् गेहनाथ भण्डारी ?
राणा परिवारको नाममा जग्गा दर्ता गराउन भूमिका खेलेवापत् २०४९ सालमा काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी गेहनाथ भण्डारीले पनि आफन्तको नाममा ललिता निवासको जग्गा बकसका रूपमा दर्ता गराउन सफल भए । राणा परिवारलाई जग्गा पास गरिदिएवापत् प्रमुख जिल्ला अधिकारी परिवारलाई उपहारस्वरूप १२ रोपनी जग्गा दिइएको तथ्यांक छ । तर, उनी सीआईबीको निगरानीमा परेका छैनन् ।
काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी गेहनाथ भण्डारीले २०४९ सालमा करिब १२ रोपनी जग्गा आफन्तको नाममा हालैको बकसपत्रबाट उपहारस्वरूप लिएको देखिएको छ । ललिता निवासको साविकको २३ ह ११ नम्बर कित्ताको ११ आना २ पैसा जग्गा, २३ ह १७ नम्बर कित्ताको ३ रोपनी ५ आना जग्गा, २३ ह ३६ नम्बर कित्ताको १ रोपनी २ दाम जग्गा २३ ह १९ नम्बर कित्ताको १० आना जग्गा काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी गेहनाथ भण्डारीको आफन्तको नाममा गएको देखिन्छ ।
सो जग्गामध्ये २३ ह ११ नम्बरको ११ आना २ पैसा जग्गा भुवनकुमारी चापागाईँ र उर्मिला शाहको नाममा दर्ता भएको पाइएको छ । त्यसैगरी २३ ह १७ नम्बरको ३ रोपनी ५ आना तथा २३ ह ३६ नम्बरको १ रोपनी २ दाम जग्गा भुवनकुमारी चापागाईँ र उर्मिला शाहको नाममा दर्ता भएको पाइएको छ । जग्गा दर्ता गरिएका उनीहरूमध्ये भुवनकुमारी चापागाईँ तत्कालीन प्रमुख जिल्ला अधिकारी गेहनाथ भण्डारीकी श्रीमती हुन् भने सोदाकुमारी चापागाईँ गेहनाथ भण्डारीका सासू हुन् ।
२०४९ सालमा ललिता निवास जग्गा हिनामिना
२०४९ सालमा १ सय १२ रोपनी ४ आना १ पैसा जग्गा हिनामिना भएको थियो । २०४९ कात्तिक २५ मा मालपोत कार्यालय डिल्लीबजार मिसिल नम्बर १०२४ अन्तर्गत २६ रोपनी ६ आना १ पैसा जग्गा सुवर्णशमशेरका हकवाला भन्दै सुनीति राणा, शैलजा राणा, रुक्मशमशेरसमेतको नाममा जग्गा दर्ता गर्ने निर्णय गरेको देखिन्छ । यसरी, २६ वटा कित्ता जग्गा राणा परिवारको नाममा दर्ता गरिएको छ ।
२०४९ कात्तिक २५ मा नै मिसिल नम्बर १०२५ अन्तर्गत ४९ रोपनी ३ पैसा जग्गा शैलजा राणा, हेमनशमशेर, हाटकशमशेरको संयुक्त नाम दर्ता गर्ने निर्णय गरिएको थियो । यसमा २७ कित्ता जग्गा थिए । २०४९ पुस २९ मा नै मिसिल नम्बर १०२४ अन्तर्गत २८ रोपनी १५ आना १ पैसा जग्गा रुक्मशमशेर, शैलजा राणा र सुनीति राणा संयुक्तरूपमा दर्ता गर्ने निर्णय भएको थियो । यसमा १९ कित्ता थिए । २०४९ पुस २३ मा नै १०२५ नम्बरको मिसिल खडा गरी ७ रोपनी १४ आना जग्गा शैलजा राणा, हेमनशमशेर र हाटक शमशेरको संयुक्त नाममा नाम सारी गर्ने निर्णय मालपोत भएको देखिन्छ । यसमा ४ कित्ता थिए ।
मिसिल नम्बर १०२४ र १०२५ नै गायब पारिएका छन् । मुद्दा नम्बर २६ (छुट जग्गा दर्ता)मा १२ आना २ पैसा जग्गा हिनामिना भएको छ र यस’bout अनुसन्धान गर्न १३ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । यो बेला सुनीति राणाको नाम छुट दर्ता गरिएको थियो ।






