सच्चिने मौका गुमाएका राजनीतिक दल

नेपालका राजनीतिक दलहरूले आफूलाई समयमै सच्याउने मौकाबाट बञ्चित हुन पुगिसकेका छन् । महाभारतमा श्रीकृष्णले भनेका छन्, ‘पश्चात्तापका लागि पनि समय हुनुपर्छ ।’ अथवा पश्चात्ताप गर्नु भनेको व्यवहारमा सुध्रिएर अनि पुनर्संस्कृत भएर समाजमा पुनस्र्थापित हुनु हो । यसका लागि पर्याप्त समय हुनुपर्छ । किनकि पश्चात्तापबाट मुक्त भएको देखिन र देखाउन एक निस्चित कार्यविधि अवश्यै पार गर्नुपर्छ । नेपालका राजनीतिक दलहरूले यो समय दुर्भागयबस वा अहङ्कारबस गुमाइसकेका छन् । गुमेको समय र बगेको पानी फिर्ता हुँदैन । परिणामतः ठूला र संसदीय खेलाडी गनिने सबै राजनीतिक दलहरूले एकल हैसियत गुमाउन पुगेका छन् । यी दलहरू गठबन्धनका आधारमा अस्तित्वमा छन् । तर सत्तापक्षीय वा प्रतिपक्षीय जुनसुकै गठबन्धन भए पनि ती निकै मक्किएका र थोरै मात्र पनि जनताको मत र बलले धराशायी हुने अवस्थामा छन् । पछिल्लो समयमा राष्ट्रिय स्तन्त्र पार्टीले यस्ता गठबन्धनहरूको जालोलाई माकुराको जालोभन्दा सजिलै च्यातचुत पारेर अघि बढ्नु यी दलहरूको अहङ्कार र असफलताको एक बलियो उदाहरण हो ।

त्यति मात्र होइन, यी राजनीतिक दलहरूले आफूहरू जनअनुमोदित हुन छाडेको पनि मजाकमा उडाए । आफूहरूको विकल्प नभएको उद्घोष गरिरहे । अहिले पार्टी सदस्यता पनि नवीकरणको संकटमा छ । पार्टी कार्यकर्तासमेत्ले यी पार्टीहरू अघोषित तर धमाधम परित्याग गरिरहेका छन् । पहिलेको समयमा जस्तो पार्टीबाट निस्काशन गरिएको, अनुशासन उल्लंघन गरेको, पार्टी विरोधी गतिविधि गरेको, नेतृत्वको विद्रुपीकरण गरेको भनी कुनै पनि पार्टीको केन्द्रीय, क्षेत्रीय वा स्थानीय पार्टी तहले विज्ञप्ति निकालेर देखाउने बडप्पन र झन्झट अबका दिनमा रहेनन् । नेपाली कांग्रेसको पार्टी सदस्य निकै कम हुँदै गइरहेका छन् । कांग्रेस महासचिव गगन थापाको पार्टी सदस्यता संख्या बढाउने प्रस्ताव यही तीतो अनुभूतिको अभिव्यक्ति हो । दोस्रो ठूलो संदीय दल नेकपा एमाले पार्टीको सदस्यता नवीकरणमा ५० वा सिंगो आधा प्रतिशतले कमी आउनु यही अहंकार र गतवरोधको परिणाम हो । अबका दिनमा गफ, दिवा सपना, मनोगत बचकनापनले काम गर्ने अवस्था छैन । खाली कोरा तर्क र वितर्कले पनि हुनेवाला छैन ।

युवाहरूमा मेयर द्वय बालेन शाह, हर्क साम्पाङ जसरी तर्क र तथ्य एकैसाथ अघि सारेर कुरा गर्छन्, यो यथार्थता जनताले बुझिसकेका छन् । यी स्वतन्त्र मेयरहरू अवका विकल्प हुन् भन्नेमा पनि जनता विशवस्त छैनन् । तर उनीहरूको जीवन पद्धति र कार्यशैलीगत व्यवहारमा एकरूपता पाइन्छ । जनता महापरिवर्तनका कुरा भन्दा पनि अत्यधिक सुधारका पक्षमा देखिन्छन् । यही सपाट पृष्ठभूमिले सबै राजननीतिक दलहरूमा हडबडी र गडबडी निम्त्याइदिएको छ । सत्ताको चुचुरोमा रहेको माओवादी केन्द्र निकै सुषुप्त प्रसव पीडामा रहनुको कारण पनि यही हो । गर्दा गर्दा त यति सम्म पनि भइसकेको छ कि जुन संघीय सत्तामा शीर्ष नेताहरू आसिन छन्, उनैले खुल्लमखुल्ला संघीयता अफाफ हुन थालिसकेको हास्यास्पद तर्क गरिरहेका छन् । राजनीतिक दलहरूले सच्चिनु पर्ने समय गुमाउनुको अनिवार्य परिणति यही हुन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 153 times, 1 visits today)

epaper

ताजा समाचार

मौलापुरमा ‘नगर मास्टर’ र ‘नगर डाक्टर’ कार्यक्रमलाई निरन्तरता