अस्पतालमा बिरामीको चाप, छैन बेड

इलाम । इलाम अस्पतालमा बेडको अभाव भएपछि अस्पतालले भुइँमा सुताएर उपचार गरिएको छ । पछिल्लो समय इलाम अस्पतालमा डेंगु, ज्वरो र स्कपटाइफसका बिरामी बढेपछि बेड अभाव हुँदा भुइँमा सुताएर उपचार गर्नुपर्ने बाध्यता छ ।

सो अस्पतालमा दैनिकजसो ७० देखि ८० जनाको संख्यामा इमरजेन्सीमा बिरामी आउने गरेको इलाम अस्पतालका इमरजेन्सी इन्चार्ज टीका लुइँटेलले बताए । डेंगु, स्कपटाइफस र भाइरल ज्वरोका बिरामीको चाप बढेका कारण अस्पतालमा बेड अभाव भएको हो । ‘जिउ दुख्ने, हातखुट्टा करकर खाने, आँखाका दाना दुख्ने, प्रेसर कम हुने, ज्वरो अत्यधिक आउने लक्षण भएका बिरामी आउने क्रम बढ्दो छ, बेड अभावमा उनीहरूलाई भुइँमै राखेर पनि उपचार गर्नुपर्ने बाध्यता छ,’ इलाम अस्पतालका व्यवस्थापक क्षितिज खतिवडाले भने ।

अस्पतालको ओपिडीमा पनि दैनिक ३ सय ७५ जनासम्म बिरामी आउने गरेको इलाम अस्पतालका व्यवस्थापक खतिवडाले बताए । ‘इमरजेन्सीमा जम्मा ११ वटा मात्र बेड छन् । इमरजेन्सीमै आएका बिरामीलाई बेड नपुगेपछि भुइँमै राखेर पनि सेवा दिइएको छ,’ व्यवस्थापक खतिवडाले भने, ‘ओपिडीमा पनि बिरामीको संख्या बढेका कारण जसोतसो धान्नुपरेको छ ।’

साउनदेखि १० भदौसम्म जाँच गराउन आउनेमध्ये ४१ जनामा डेंगु पुष्टि भएको छ । सोही अवधिमा २४ जनामा स्कपटाइफस देखिएको छ । यीमध्ये डेंगुका १० जना र स्कपटाइफसका पाँच जना बिरामी भने अस्पतालमै भर्ना भएर उपचार गराइरहेका छन् । जिल्लामा अहिलेसम्म २ सय ३ जनामा डेंगु संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 149 times, 1 visits today)

epaper

ताजा समाचार

१३ असार २०८३