वीरगन्ज । मधेशले विश्वविद्यालय पाएको आगामी भदौ २२ गते एक बर्ष पुग्दैछ । विश्वविद्यालयका लागि जग्गा, भवन र भौतिक संरचना विना मधेश सरकारले वीरगन्जमा मधेश विश्वविद्यालय स्थापना गरेपछि यो क्षेत्रले पनि विश्वविद्यालय भएको ठाउँको पगरी गुथ्न पाएको हो ।
नेशनल ट्रेडिङको साविकको वीरगन्जस्थित कार्यालयलाई भाडामा लिई मधेश विश्वविद्यालयले आफ्नो कार्यालय खोल्दा धेरैले नामको मात्र विश्वविद्यालय भनी नकारात्मक टिप्पणी गरेका थिए । तर नाम पाइएसकेपछि एक न एक दिन त्यसले कामको मूहुर्त रुप लिन्छ भन्ने कुरा यो विश्व विद्यालयले एक बर्ष नपुग्दै देखाइदिएको छ । स्थापनाको दोस्रो बर्ष नलाग्दै मधेश विश्वविद्यालयले पूर्वाधार निर्माणका लागि जग्गा खोज्ने, पढाइलाई सुरु गर्ने जस्ता कार्यमा ठूलो फड्को मारिसकेको छ ।
यो शैक्षिक सत्रमा नै कानून र जनप्रशासन सङ्कायमा भर्ना खोलेर आगामी असोजबाट अध्यापन नै गराउन युद्धस्तरमा उत्रेको छ । त्यसैको नमूना हो मधेश विश्वविद्यालयमा पहिलो बर्षमा नै आवश्यकताभन्दा बढि विद्यार्थीले अध्ययनका लागि आवेदन दिइसकेको ।
पहिलो पटक पठनपाठन सुरु हुने भए पनि मधेश विश्वविद्यालयले कानून सङ्कायतर्फ वीए एलएलवी र जनप्रशासन सङ्काय तर्फ पनि विश्वविद्यालयस्तरको शिक्षा दिन गएको भदौ १ देखि १५ गतेसम्म विद्यार्थीका लागि भर्ना आवेदन खुला गरेको थियो । यो अवधिमा सवा ३ सय विद्यार्थीले आवेदन दिएको विश्वविद्यालयमा उपकुलपति डा. दीपक शाक्यले बताए । आवेदन खुला भएको तीन दिनमै झण्डै तीन सय जति विद्यार्थीले आवेदन दिएको विश्वविद्यालयले जनाएको छ । खासगरी वीए एलएलबी तर्फ विद्यार्थीको आकर्षण बढी देखिएको उपकुलपति डा.शाक्यले तर्क गरे ।
भर्ना आवेदन खुला गरेपछि कानुन सङ्कायतर्फ सवा तीन सय र जनप्रशासन सङ्कायतर्फ ४० विद्यार्थीले आवेदन दिइसकेको मधेश विश्व विद्यालयका रजिष्ट्रार विजयकुमार यादवले राजधानी दैनिकसँग बताए । विश्वविद्यालयले कानुन सङ्कायतर्फ एक सय १० र जनप्रशासनतर्फ ५५ विद्यार्थीका लागि कोटा निर्धारण गरेको छ । निर्धारित कोटाभन्दा बढी आवेदन परेको उनको भनाइ छ । यी विद्यालर्थीहरुको भदौ २३ गते प्रवेश परीक्षा सञ्चालन गरी विद्यार्थी छनोट गर्ने तयारी भइसकेको रजिष्ट्रार यादवले बताए ।
विद्यार्थीको लागि १०० पूर्णाङ्गको परीक्षा
विद्यार्थी छनोटका लागि ८० पूर्णाङ्कको मौखिक र २० पूर्णाङ्कको अन्तरवार्ता परीक्षा लिइने विश्वविद्यालयको तयारी छ । विश्वविद्यालयमा अध्ययनका लागि कक्षा १२ वा प्रवीणता प्रमाणपत्र तहको परीक्षामा न्यूनतम ५० प्रतिशत वा ‘सी प्लस’ अङ्क ल्याएको हुनुपर्ने मापदण्ड तय गरिसकिएको उपकुलपति डा शाक्यले बताए । विद्यार्थी छनोटसँगै असोजको पहिलो साताबाट दुबै सङ्कायको कक्षा सञ्चालन गर्ने तयारी रहेको उनको भनाइ छ ।
पठनपाठनका लागि विश्वविद्यालयद्वारा गठित पाठ्यक्रम विकास समिति र काठमाडौँ विश्व विद्यालयको विज्ञ टोलीले तयार पारेको पाठ्यक्रम पारित भइसकेको पनि डा.शाक्यले खुलास गरे । विश्व विद्यालयले तत्काल आफ्नो संरचना निर्माण गर्न काठमाण्डौ विश्वविद्यालयको समन्वयमा दुवै सङ्कायको पठनपाठन सुरु गर्न लागेको जनाएको छ । त्यससँगै विश्व विद्यालयले आवश्यक पूर्वाधार निर्माणको कार्यलाई समेत अघि बढाइएको छ ।
२०७९ वैशाख १४ गते मधेस प्रदेश सभाद्वारा मधेस विश्व विद्यालय ऐन २०७९ जारी भई २०७९ साल भदौ २२ गते स्थापना भएको थियो । पोलिटेक्निक, आईटी, व्यवस्थापन, पारामेडिकल, कृषि इन्जिनियरिङ लगायतका प्राविधिक शिक्षाका माध्यमबाट मधेस प्रदेशलाई प्राविधिक शिक्षा हवका रुपमा विकास गर्ने उद्देश्य विश्वविद्यालयको रहेको छ ।
जस अनुसार आवश्यक भौतिक संरचनाका लागि पर्साको बहुदरमाई नगरपालिका–२ मा ३५ बिघा र पोखरिया नगरपालिकामा १६ बिघा ऐलानी जग्गा प्राप्त गरी डिपिआर तयारी भइरहेको उपकुलपति डा.शाक्यले बताए । यस्तै विश्वविद्यालयले पर्साको पकाहाँ मैनपुर गाउँपालिकास्थित सुरजाहा कट्टीमठ (राधाकृष्ण मन्दिर) को २७ बिगाहा जग्गा पाएको पनि उनको भनाइ छ । बहुदरमाईमा प्राप्त भएको जग्गालाई सिमाङ्कन गरी खम्बा जडान गरिएको र पोखरीयाको १६ बिगाहा जग्गाको स्वामित्व विश्व विद्यालयमा हस्तान्तरणका लागि वडा कार्यालयबाट सिफारिस भई प्रक्रियामा रहेको पनि उनले प्रष्ट पारे ।
मधेस विश्वविद्यालयले आफूलाई चाहिने विश्व विद्यालय संगठन, शैक्षिक र प्रशासन नियमावली २०७९, शिक्षा, कर्मचारी सेवा नियमावली २०७९, आर्थिक प्रशासन नियमावली २०७९ बनाइ पारित गरिसकेको रजिष्ट्रार यादवले बताए । विश्वविद्यालयले यही आगामी २२ भदौमा पहिलो बार्षिकोत्सव मनाउने भव्य तयारी पनि गरिरहेको छ । त्यसको प्रमुख अतिथि मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई निमन्त्रणा पठाई निश्चित गरिसकिएको रजिष्ट्रार यादवले बताए ।






