राजविराज । धार्मिक एंव साँस्कृतिक स्थलको रुपमा परिचित राजविराजको मुटुमै रहेको ऐतिहासिक भगवती मन्दिर पोखरीको सरसफाई थालिएको छ । विभिन्न मन्दिरहरु निकट अवस्थित उक्त धार्मिक महत्वको पोखरी आवश्यक सरसफाईको अभावमा पूजाविधी गर्न भक्तजनलाई समस्या हुदै आएको जनगुनासो आएपछी राजविराज नगरपालिकाको अगुवाईमा मंगलवार देखि सरसफाई अभियान थालिएको हो ।
नगरको मुख्य बजार क्षेत्रको बीचमा अवस्थित उक्त पोखरीमा छठपर्व लगायत विभिन्न धार्मिक कार्यक्रमको अवसरमा पुजाविधी हुने गरेको छ । नगरपालिकाको सरसफाई अभियानमा यहाँ स्थित नेपाली सेनाको बरख गण, सशस्त्र र नेपाल प्रहरीले समेत सघाएका छन् ।
सेना र समुदायबीचको आपसी सदभावलाई अझै प्रगाढ बनाउन समुदायको हितमा गरिएको आग्रहलाई सहर्ष स्वीकार गर्दै सेनाको टोली सरसफाईमा खटिएको नेपाली सेना बरख गणका कर्नेल रमेश पाण्डेले बताए ।
“बाक्लो मानववस्तीको बीचमा रहेको उक्त पोखरी सरसफाईको अभावमा दुर्गन्धित थिए, सरसफाई अभियानमा नेपाल प्रहरी टोलीको नेतृत्व गर्दै सहभागिता जनाएका प्रहरी उपरिक्षक नरेन्द्र कुमार कार्कीले भने–झारपातले ढाकेर त झन पोखरीलाई कूरुप बनाएको थियो ।”
उनले संविधान दिवसको पूर्वसन्ध्यामा आयोजित सरसफाई कार्यक्रमलाई अन्यवेला पनि निरन्तरता दिनु पर्ने सुझाव समेत दिए ।
राजविराज नगरपालिकाकी कार्यवाहक नगर प्रमुख इसरत परवीनले नजिकिएको दशै, तिहार तथा छठ पर्वलाई समेत लक्षित गरी यो अभियान थालिएको बताईन । यस पटक पुर्ण सफाई तथा ऐतिहासिक पोखरीलाई नयाँ स्वरुप दिने लक्ष्यका साथ अभियान थालिएको उनको भनाई छ ।
सफाई अभियानमा नगरपालिकाका कर्मचारी, स्थानीय देखि नेपाल तथा सशस्त्र प्रहरी र नेपाली सेनाको पनि सहभागिता रहेको प्रमुख प्रशासकिय अधिकृत विष्णु गूरुङ्गले जानकारी दिए ।
जलाशयमा उत्रेर दुषित पोखरी सफाईमा आफै पनि जुटेका उनले पोखरीको नियमित सरसफाई र संरक्षणमा सबैले सहयोग गर्नू पर्ने बताए ।
उनले अभियानको पहिलो दिन झारपात र स्थानीयहरुले फालेको गरी १५ ट्रयाक्टर जति फोहर निकालिएको जानकारी समेत दिए ।
सरसफाई अभियानमा प्रमुख जिल्ला अधिकारी किरण थापा, नागरिक संजाल सप्तरीका अध्यक्ष थानसिह भन्साली, सशस्त्र प्रहरीका डिएसपी मोहन विष्ट, राजविराज नगरपालिकाका निलम्बीत मेयर भिमराज यादव, नगरपालिका स्वास्थ्य शाखा प्रमुख निरंजन यादव, समाजिक विकास अधिकृत मनोज यादव, पत्रकार अधिकारकर्मी समेत सहभागी छन् ।
उक्त पोखरीको पुर्ण सरसफाई तथा सौन्दर्यको काम सम्पन्न गर्न सकिए राजविराज नगरपालिकाको मुख्य वस्तीका हजारौं जनता लाभान्वित हुने विश्वास गरिएको छ ।






