४९ जना सशस्त्र प्रहरी निरीक्षक दीक्षित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्तरिक सुरक्षा, विपद् व्यवस्थापन, महामारी नियन्त्रण र न्यूनीकरण, राजस्व गस्ती एवं भन्सार सुरक्षाको साथै राष्ट्रिय सुरक्षाको मूलभूत पक्षमा सशस्त्र प्रहरी बलले गहन भूमिका निर्वाह गरिरहेको बताएका छन् । उनले सशस्त्र प्रहरी बल नेपालले सम्पादन गर्दै आएको जिम्मेवारीलाई थप विशिष्टीकृत र प्रभावकारी तुल्याउन सुरक्षाकर्मीको क्षमता अभिवृद्धि, साधनस्रोतको उपलब्धता, सुदृढ संगठन प्रणाली र व्यवस्थापन महत्वूपर्ण पक्ष भएको बताउँदै संगठनलाई आधुनिकीकरण र व्यावसायिक सुरक्षा निकायका रूपमा थप विकसित गर्ने कार्यमा नेपाल सरकार सदैव सकारात्मक रहेको पनि बताए ।

राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा सञ्चालित सी.सं. १५ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको आइतबार समापन गर्दै प्रधानमन्त्री दाहालले राष्ट्रप्रेमी जनताको सुरक्षामा महत्वपूर्ण इतिहास बोकेको पवित्र संगठनमा आबद्ध भई अधिकृत तहको कठिनपूर्ण तालिम समापन गरेकामा प्रशिक्षार्थी अधिकृतलाई हार्दिक बधाईसमेत दिए । उनले राज्यले सुम्पेको जिम्मेवारीलाई उच्च व्यावसायिकताका साथ अनुशासित र इमानदारीपूर्वक निर्वाह गर्न पनि निर्देशन दिए ।

उनले राष्ट्रको सार्वभौमिकता रक्षार्थ प्रतिकूल मौसम, भौगोलिक विकटता तथा सीमित स्रोतसाधनको बाबजुद पनि सशस्त्र प्रहरीले गरेको उच्चस्तरको कार्यसम्पादनको मुक्तकण्ठले प्रशंसासमेत गरे ।

प्रधानमन्त्री दाहालले तालिममा सर्वप्रथम भएका सशस्त्र प्रहरी निरीक्षक रोशन घिमिरेलाई खुकुरी प्रदान गर्नुका साथै कवाज, शारीरिक सहिष्णुता र चाँदमारीतर्फ उत्कृष्ट प्रशिक्षार्थीलाई समेत पुरस्कार प्रदान गरेका थिए ।

कार्यक्रममा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सशस्त्र प्रहरी बल नेपालले स्थापनाकालदेखि नै विभिन्न आरोहअवरोहलाई पार गर्दै कार्यक्षेत्रमा आइपरेका सुरक्षा चुनौतीलाई परास्त गर्दै राज्य र जनचाहनाअनुरूपको सेवा र सुरक्षामा दर्बिलो सुरक्षा निकायका रूपमा आफूलाई परिचित गराउँदै आएको बताए । उनले सशस्त्र प्रहरी बल नेपाललाई सीमा सुरक्षार्थ डेडिकेटेड फोर्स बनाउन अन्तर्राष्ट्रिय मापदण्डसहितको थप बोर्डर आउट पोस्टहरू (बीओपी)को स्थापना तथा मौजुदा रहेका बीओपीको समेत स्तरवृद्धि र प्रविधिमैत्री बनाउँदै लगिने बताए ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले देश र जनताको सेवा, सुरक्षामा कटिबद्ध भई लाग्ने अभिप्रायले संगठनमा प्रवेश गरी दीक्षित भई कार्य क्षेत्रमा जान लागेका अधिकृतलाई बधाई दिँदै तालिममा हासिल गरेका सैद्धान्तिक एवं व्यावहारिक ज्ञानलाई पेसागत जीवनमा अक्षरसः पालना गरी कार्यसम्पादनमा जुट्न निर्देशन दिए ।

महानिरीक्षक अर्यालले राज्यप्रदत्त विविध जिम्मेवारीका क्षेत्रहरू विशेषतः सीमा सुरक्षा, देशको आन्तरिक सुरक्षा तथा राजस्व संकलन र विपद् व्यवस्थापनमा महत्वपूर्ण भूमिकालगायत विशिष्ट व्यक्ति तथा महत्वपूर्ण प्रतिष्ठानको सुरक्षा, औद्योगिक र रेलवे सुरक्षामा समेत उत्कृष्ट ढंगले कार्यसम्पादन गर्दै आइरहेको उल्लेख गरे ।

समारोहमा प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरीले दीक्षान्त समारोहमा प्रशिक्षार्थी अधिकृतलाई सपथ ग्रहण गराएका थिए ।

करिब ५६ साता अवधिको सो आधारभूत तालिम ५ जना महिलासहित कुल ४९ जना सशस्त्र प्रहरी निरीक्षकले सफलतापूर्वक सम्पन्न गरेका छन् । तालिममा कवाजतर्फ सशस्त्र प्रहरी निरीक्षक ज्ञानचन्द्र पराजुली, शारीरिक सहिष्णुतातर्फ सशस्त्र प्रहरी निरीक्षक पुष्करबहादुर बम र चाँदमारीतर्फ सशस्त्र प्रहरी निरीक्षक एजन खड्का उत्कृष्ट भएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 135 times, 1 visits today)

epaper

ताजा समाचार

बाढी प्रभावित क्षेत्रमा सम्भावित संक्रामक रोग फैलिन नदिन विशेष निगरानी