बाढी प्रभावित परिवार भेट्न युएईवाट नेपाल फर्कन चाहनेले विवरण दर्ता गराउन आग्रह

युएइस्थित नेपाली दूतावास ।

काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारको सहयोगका लागि नेपाल फर्कनुपर्ने अवस्थामा रहेका संयुक्त अरब इमिरेट्स (युएई) मा कार्यरत नेपाली श्रमिकलाई नेपाली राजदूतावास, अबुधाबीले आफ्नो विवरण दर्ता गराउन आग्रह गरेको छ।

बाढीबाट प्रभावित जिल्लाका श्रमिकलाई पारिवारिक दायित्व पूरा गर्न तत्काल नेपाल फर्कन आवश्यक भए पनि रोजगारदाता कम्पनीबाट बिदा वा स्वीकृति लिन कठिनाइ भइरहेको जानकारी आएपछि दूतावासले समन्वय तथा सहजीकरणको लागि विवरण संकलन थालेको हो।

नेपाल फर्कन रोजगारदाताबाट अनुमति पाउन समस्या भएका श्रमिकले अबुधाबीस्थित नेपाली दूतावास वा दुबईस्थित नेपाली महावाणिज्यदूतावासमा आफ्नो अवस्था औपचारिक रूपमा जानकारी गराउन सक्नेछन्। त्यसका लागि कन्सुलर सेवा विभागको अनलाइन प्रणालीमार्फत समस्या वा गुनासो दर्ता गर्न सकिने व्यवस्था गरिएको दूतावासले जनाएको छ।

दूतावासले वास्तविक पारिवारिक अवस्था र नेपाल फर्कनुपर्ने कारण स्पष्ट रूपमा उल्लेख गरेर मात्र विवरण पठाउन आग्रह गरेको छ। प्राप्त विवरणका आधारमा सम्बन्धित रोजगारदाता कम्पनी तथा सरोकारवाला निकायसँग आवश्यक समन्वय गर्न सहज हुने दूतावासको भनाइ छ।

विवरण बुझाउँदा श्रमिकले आफ्नो पूरा नाम, बाढी प्रभावित जिल्ला, युएईमा रहेको हालको ठेगाना र मोबाइल नम्बर उल्लेख गर्नुपर्नेछ। साथै राहदानी नम्बर र सम्भव भएसम्म त्यसको प्रतिलिपि, कार्यरत कम्पनीको नाम तथा ठेगाना पनि उपलब्ध गराउनुपर्नेछ।

कम्पनीका मानव संसाधन (एचआर) व्यवस्थापक वा प्रायोजकको नाम, सम्पर्क नम्बर र इमेल ठेगानासमेत उपलब्ध गराउन दूतावासले भनेको छ। नेपाल फर्कनुपर्ने कारण र कम्पनीबाट बिदा लिन सामना गरिरहेको कठिनाइलाई संक्षिप्त तर स्पष्ट रूपमा उल्लेख गर्नसमेत श्रमिकलाई अनुरोध गरिएको छ।

तपाइको प्रतिक्रिया
(Visited 41 times, 1 visits today)

epaper

ताजा समाचार

हिमचट्टान भत्किने जोखिम अझै छः चिनियाँ जलस्रोत मन्त्रालय