क्याम्ब्रिच इग्लिस लिडरसिप कन्फ्रेन्स काठमाडौंमा

काठमाडौं । क्याम्ब्रिज युनिभर्सिटी प्रेस एन्ड एसेसमेन्टले काठमाडौंमा आयोजना गरेको छ। सम्मेलनमा विद्यालयका प्रधानाध्यापक, विद्यालय नेतृत्वकर्ता तथा अंग्रेजी भाषा शिक्षकहरूको सहभागिता रहेको थियो।

कृत्रिम बौद्धिकता (एआई) को बढ्दो प्रयोगका बीच विद्यार्थीलाई भविष्यका लागि आवश्यक सीप प्रदान गर्ने विषयमा सम्मेलनमा छलफल गरिएको थियो। विद्यार्थी केन्द्रित कक्षाकोठा, प्रभावकारी मूल्यांकन, तथ्यमा आधारित प्रतिक्रिया तथा सञ्चार सीपको बलियो आधारले विद्यार्थीलाई शैक्षिक तथा व्यावसायिक रूपमा सफल बनाउन महत्वपूर्ण भूमिका खेल्नेमा सहभागीहरूले जोड दिएका थिए।

अंग्रेजी भाषा दक्षता रोजगारीका लागि महत्वपूर्ण सीपका रूपमा स्थापित हुँदै गएको अवस्थामा सम्मेलन आयोजना गरिएको हो। क्याम्ब्रिजले हालै करिब १ हजार ९ सय कलेजका विद्यार्थीमा गरेको सर्वेक्षणअनुसार झन्डै सबै विद्यार्थीले राम्रो रोजगारी प्राप्त गर्न अंग्रेजी भाषा महत्वपूर्ण रहेको बताएका छन्।

सर्वेक्षणमा ३० प्रतिशत विद्यार्थीले अंग्रेजी भाषा सीप र आत्मविश्वासलाई रोजगारी प्राप्त गर्ने क्रममा प्रमुख चुनौतीका रूपमा पहिचान गरेका छन्। त्यस्तै, ५७ प्रतिशत विद्यार्थीले रोजगारीका लागि आफू पूर्ण रूपमा तयार नभएको बताएका छन्।

विद्यार्थीहरूले आफ्नो सीप विकासका लागि प्राविधिक तथा उद्योगसम्बन्धी प्रमाणपत्र, इन्टर्नसिप वा वास्तविक परियोजना तथा अंग्रेजी भाषा प्रमाणपत्रलाई प्राथमिकता दिने गरेको सर्वेक्षणले देखाएको छ।

यसैबीच, क्याम्ब्रिज युनिभर्सिटी र ब्रिटिश काउन्सिलको अर्को अध्ययनले बहुभाषिक शिक्षण पद्धतिले अंग्रेजी सिकाइलाई थप प्रभावकारी बनाउन सक्ने देखाएको छ। २०२६ को मल्टिड स्टडीअन्तर्गत गरिएको अनुसन्धानले विद्यार्थीको मातृभाषा तथा क्षेत्रीय भाषालाई अंग्रेजीसँग रणनीतिक रूपमा प्रयोग गर्दा पढ्ने क्षमता, कक्षाकोठामा सहभागिता र आत्मविश्वासमा सुधार आएको देखाएको छ। अध्ययनले यस्तो पद्धतिले अंग्रेजी सिकाइमा नकारात्मक असर नपार्ने पनि देखाएको छ।

नेपालबाट उच्च शिक्षा तथा रोजगारीका लागि विदेश जाने विद्यार्थीको संख्या बढिरहेको अवस्थामा सञ्चार सीपको महत्व अझ बढेको सम्मेलनमा चर्चा गरिएको थियो। विश्वविद्यालयमा प्रभावकारी रूपमा सहभागी हुन, नयाँ मानिससँग सम्बन्ध स्थापित गर्न, आफ्ना विचार स्पष्ट रूपमा व्यक्त गर्न तथा विश्वव्यापी रोजगारी बजारमा प्रतिस्पर्धा गर्न राम्रो सञ्चार सीप आवश्यक हुनेमा सहभागीहरूले जोड दिएका थिए।

क्याम्ब्रिज युनिभर्सिटी प्रेस एन्ड एसेसमेन्टका दक्षिण एसियाका प्रबन्ध निर्देशक अरुण राजामणिले एआई दैनिक सिकाइको हिस्सा बन्दै जाँदा प्रभावकारी सञ्चार, विश्लेषण र आलोचनात्मक सोचको क्षमता झनै महत्वपूर्ण हुँदै गएको बताए।

उनले यी सीप विद्यार्थीको विद्यालय शिक्षाकै क्रममा क्रमशः विकास हुने र सुन्ने, बोल्ने, पढ्ने तथा लेख्ने आधारभूत सीपमा आधारित हुने बताए। विद्यार्थीहरूले भविष्यको रोजगारीका लागि अंग्रेजीको महत्व बुझे पनि धेरै विद्यार्थी अझै आत्मविश्वास र सञ्चार सीपमा चुनौती सामना गरिरहेको उनको भनाइ थियो।

विद्यालयहरूले अंग्रेजीलाई एउटा विषयका रूपमा मात्र नभई शैक्षिक सफलता, रोजगारी र जीवनभरको सिकाइमा सहयोग गर्ने व्यावहारिक भाषा दक्षताका रूपमा विकास गर्नुपर्ने उनले बताए।

दक्षिण एसियाका लागि अंग्रेजी कन्ट्री हेड अरुणाचलम टीकेले दक्षिण एसियामा विद्यालय, अभिभावक र विद्यार्थीबाट अन्तर्राष्ट्रिय स्तरमा मापन गर्न सकिने भाषा दक्षताको माग बढिरहेको बताए। अंग्रेजीलाई एउटा विषयका रूपमा पढाउनेभन्दा पनि विद्यार्थीले वास्तविक जीवनमा आत्मविश्वासका साथ प्रयोग गर्न सक्ने सञ्चार सीप विकासमा ध्यान केन्द्रित गर्नुपर्ने उनले बताए।

प्रभावकारी शिक्षण, उचित मूल्यांकन र स्पष्ट सिकाइ मार्गमार्फत विद्यालयहरूले विद्यार्थीलाई उच्च शिक्षा, रोजगारी तथा विश्वसँग जोडिन आवश्यक भाषा सीप विकास गर्न सहयोग गर्न सक्ने उनको भनाइ थियो।

सम्मेलनमा सहभागी शिक्षक तथा विद्यालय नेतृत्वकर्ताहरूले सञ्चार सीप विद्यार्थीको विद्यालय जीवनभर विकास हुने र शैक्षिक सफलता, आत्मविश्वास, आलोचनात्मक सोच तथा सहकार्यका लागि महत्वपूर्ण हुने बताएका थिए।

विद्यार्थीलाई अंग्रेजी प्रयोग गर्ने पर्याप्त अवसर दिनुपर्नेमा पनि सहभागीहरूले जोड दिएका थिए। कक्षाकोठामा छलफल, परियोजना, प्रस्तुति तथा अतिरिक्त क्रियाकलापमार्फत अंग्रेजीको प्रयोग बढाउँदा विद्यार्थीको भाषा प्रवाह र वास्तविक जीवनमा सञ्चार गर्ने क्षमता विकास गर्न सकिने उनीहरूको भनाइ थियो।

एआई शिक्षासँगै रोजगारीको क्षेत्रमा पनि थप प्रयोग हुँदै जाँदा विद्यार्थीका लागि केवल सूचना प्राप्त गर्ने क्षमता पर्याप्त नहुने विषयमा सम्मेलनमा छलफल भएको थियो। विचारको मूल्यांकन गर्ने, सही प्रश्न सोध्ने, प्रभावकारी रूपमा सहकार्य गर्ने र आत्मविश्वासका साथ सञ्चार गर्ने क्षमता पनि उत्तिकै महत्वपूर्ण हुने सहभागीहरूले बताएका थिए।

अन्तर्राष्ट्रिय मापदण्डअनुसार अंग्रेजी भाषा दक्षता मापन गर्ने विषयमा पनि सम्मेलनमा छलफल गरिएको थियो। प्रभावकारी मूल्यांकन प्रणालीले विद्यार्थीको प्रगति बुझ्न र सुधार आवश्यक पर्ने क्षेत्रमा लक्षित सहयोग गर्न विद्यालयलाई मद्दत गर्ने सहभागीहरूको भनाइ थियो।

क्याम्ब्रिच इग्लिस क्याम्ब्रिज युनिभर्सिटीको एक विभाग हो। यसले अंग्रेजी सिक्न तथा अंग्रेजी भाषा सीप विश्वसामु प्रमाणित गर्न सहयोग गर्दै आएको छ। संस्थाका अनुसार प्रत्येक वर्ष १३० देशका ५० लाखभन्दा बढी मानिसका लागि अंग्रेजी भाषा परीक्षा तथा परीक्षण सञ्चालन गरिन्छ।

तपाइको प्रतिक्रिया
(Visited 8 times, 1 visits today)

epaper

ताजा समाचार

बाढी प्रभावित ३ लाखभन्दा बढी ग्राहकले पाए एनसेलको निःशुल्क सेवा