काठमाडौं । कवि एवं गीतकार वसन्त चौधरीले कोरोना भाइरसविरुद्धको सन्देशमूलक गीत ल्याएका छन् । उनको यो गीतलाई गायक राज सागरले गाएका छन् ।
उनको यो नयाँ गीत उद्धार गरौं यो मानवताको भिडियो बिहीबार रिलिज गरिएको छ ।
विश्वव्यापी फैलिएको कोरोना भाइरसको त्रासमा नेपाली विगत १० दिनदेखि लकडाउनको अवस्थामा घरभित्रै छन् । यही अवस्थालाई मध्यजनर राख्दै मानव सेवालाई प्रेरणा दिने उद्देश्यले गीत तयार गरिएको छ । गीतमा कोरोना भाइरसलाई मानवताको विषालु बैरी र विनासकारीका रूपमा चर्चा गरेका छन् ।
अहिले दयनीय अवस्थामा रहेको मानिसको उद्धार गर्नुपर्ने भन्दै कोरोनाबाट आफू जोगिन, अरूलाई पनि जोगाउन गीतबाट चौधरीले आह्वान गरेका छन् । यस्तो अवस्थामा शाहस जुटाउन र हिम्मत नहार्न पनि गीतकार चौधरीको सबैलाई अनुरोध छ ।
यो गीतको लिरिकल भिडियो यतिबेला रिलिज गरिएको छ । शब्द आफैंमा राम्रो र सन्देशमूलक भएकाले राजले बताए । यो गीतमा संगीत पनि गायक राज सागरकै छ । गीत निकै कर्णप्रिय बनेको छ ।
भ्वाइस अफ नेपालको स्टुडियोमा दीप घतानीले रेकर्ड गरेको गीतको संगीत संयोजना राहुल विश्वकर्माले गरेका हुन् । गीतको भिडियोलाई भीओएन युट्युब च्यानलबाट रिलिज गरिएको छ ।






