पोखरा । पोखरा महानगरपालिका–१० वीरेन्द्रचोकमा गए राति पूर्वराजा वीरेन्द्र शाहको सालिक पुनस्र्थापना गरिएको छ । २०६२÷६३ साल जनआन्दोलन–२ का क्रममा वीरेन्द्रको साालिक भत्काइएको थियो ।
करिब २५ लाख रुपैयाँ लागतमा पूर्णकदको सालिक पुनस्र्थापना गरिएको हो । ८ फिट अग्लो सालिक ढलोटबाट निर्मित रहेको निर्माण समिति सचिव एवं राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले जानकारी दिए ।
२०५९ सालमा शिक्षासेवी तथा समाजसेवी क्षेत्रबहादुर केसीको पहलमा सालिक राखिएको थियो । त्यसको चार वर्षमा भत्काइएपछि स्थानीय मनवीर गुरुङ ढासाको संयोजकत्वमा समिति गठन गरिएको थियो ।
९१ वर्षीय मनवीरकै पहलमा विभिन्न समिति गठन हुँदै अहिले नेपाली सेनाका अवकाश प्राप्त मेजर गणेशबहादुर पौडेल क्षेत्रीको अध्यक्षतामा सालिक निर्माण समिति गठन गरिएको थियो ।
समिति सचिव अरुण गिरीले निर्माणमा पोखरा–१० को स्वीकृति एवं स्थानीय मागबमोजिम पूर्वराजा वीरेन्द्रको सालिक पुनस्र्थापना गरिएको हो । सालिक पुनस्र्थापना गरिए पनि रंगरोगनलगायतको कार्य बाँकी छ ।






