काठमाडौं । अभिनेता सरोज खनाल पछिल्लो समय निर्देशनमा सक्रिय भएका छन् । यस अघि चलचित्र बगान निर्देशन गरेका उनले केही लघु चलचित्र र म्युजिक भिडियो पनि निर्देशन गरिसकेका छन् । यसै क्रममा लघु चलचित्र शैलीमा उनले गायक प्रवीन बेडवालको स्वरमा रहेको नयाँ गीत जिउँदा देवता…को भिडियो निर्देशन गरेका छन् ।
‘सांगीतिक सर्ट फिल्म’ भनिएको यो भिडियोलाई उनले यतिबेला रिलिज गरेका छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोस्टन च्याप्टरका अध्यक्ष एवं अनेसास केन्द्रीय सांस्कृतिक समितिका संयोजक महेश्वर पन्तले यो गीत लेखेका हुन् । गीतमा संगीत पनि पन्तकै रहेको छ । यो सांगीतिक सर्ट फिल्मलाई कृष्ण पन्त स्मृति प्रतिष्ठानले निर्माण गरेको हो । काठमाडौंमा एक समारोहबीच खनालले यो गीतको भिडियो सार्वजनिक गरेका छन् ।
भिडियोमा अभिनेत्री गौरी मल्ल, गीतकार महेश्वर पन्त, साहित्यकार रमेश दाहाल, राजेन्द्र केसी, सविना आचार्य, भावना गुरुङ, बालकलाकारद्वय गिर्वाणसिंह थापा र गर्विशा थापाको अभिनय रहेको छ । यो भिडियोलाई उत्सव दाहालले छायांकन गरेका हुन् ।
बियोगान्त भावको गीतको भिडियोलाई खनालले सर्ट फिल्मी शैलीमा तयार गरेका छन् । पछिल्लो समय नेपाली समाजमा घटिरहेका विभिन्न समसामयिक विषयवस्तुलाई यो गीतको भिडियोमा प्रस्तुत गरिएको छ,‘गीतसँगै भिडियोबाट पनि समाज रुपान्तरणमा सन्देश दिन सकिन्छ भनेर यसलाई मैले सांगीतिक लघुचलचित्रको रुपमा तयार गरेका हुँ ।’ खनालले राजधानीसँग भने ।






