खोटाङ । खोटाङको बराहपोखरी गाउँपालिकाको नाम परिवर्तन गरिएको छ । स्थानीय सरकार कार्यान्वयनमा आएको ६ वर्षपछि १४औं गाउँसभाले बराहपोखरीलाई फेरेर ‘बाराहापोखरी’ गाउँपालिका नाम राख्ने निर्णय गरेको हो ।
स्थानीयतह पुनर्संरचना प्राविधिक सहयोग समितिमार्फत बाराहापोखरी नाम सिफारिस गरिएको भए पनि ‘टाइप मिस्टेक वा नियतवस’ गाउँपालिकाको नामबिग्रेर आएका कारण बाराहापोखरी कायम हुनेगरी सिफारिस गरिएको गाउँपालिकाका उपाध्यक्ष भुबलराज राईले बताए ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४ को उपदफा ५ बमोजिम गाउँसभाले गाउँपालिकाको नाम फेर्नका लागि प्रदेश सरकारमार्फत नेपाल सरकारसमक्ष सिफारिस गरेको हो । धार्मिक तथा पर्यटकीयस्थल बाराहापोखरीको नामबाट गाउँपालिकाको नामाकरण गरिएको थियो तर बराहपोखरी नाम कायम भएपछि आलोचना हुँदै आएको थियो ।
‘स्थानीय तहको नाम वा केन्द्र परिवर्तन गर्न परे सम्बन्धित सभामा तत्काल कायम रहेका सदस्य संख्याको दुईतिहाइ बहुमतले पारित गरेको प्रस्ताव कार्यपालिकाले प्रदेश सरकारमार्फत नेपाल सरकारमा पठाउने’ व्यवस्था छ ।






