काठमाडौं । आमसर्वसाधारणलाई जिम्मेवार र जवाफदेही बनाई सशस्त्र प्रहरीसँगको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले सशस्त्र प्रहरीले सीमा सुरक्षा तथा विकास कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
सशस्त्र प्रहरीले ‘बोर्डर डेभलपमेन्ट प्लान’अन्तर्गत सो कार्यक्रम ल्याएको हो ।
सो कार्यक्रमअन्तर्गत सीमा इलाकामा बसोबास गर्ने आदिवासी जनजाति, दलित, अल्पसंख्यक, अति विपन्न, पिछडिएको क्षेत्र, वर्ग एवं सीमान्तकृत समुदायका छात्रछात्राले सामुदायिक विद्यालयबाट एसईई परीक्षामा उत्कृष्ट नतिजा (ए तथा ए प्लस) ग्रेडिङ हासिल गरी उत्तीर्ण हुने १५ जनालाई वार्षिक १२ हजार रुपैयाँका दरले शैक्षिक वृत्ति प्रदान गरिने व्यवस्था मिलाइएको छ ।
यस्तै, नेपालसँग अन्तर्राष्ट्रिय सिमाना जोडिएका जिल्लामा बसोबास गर्ने आमनागरिकका सन्ततिबाट दुई जनालाई नेपाल एपीएफ स्कुलमा कक्षा १० सम्म निःशुल्क अध्ययनको व्यवस्था मिलाइने भएको छ ।
२३औं सशस्त्र प्रहरी दिवसको अवसरमा सशस्त्र प्रहरी मुख्यालयमा आयोजित कार्यक्रममा घोषणा गरिएनुसार अन्तर्राष्ट्रिय सिमाना जोडिएका जिल्लामा बसोबास गर्ने ५ वर्ष सेवाअवधि पुगेका सशस्त्र प्रहरी कर्मचारीलाई वार्षिक ४ प्रतिशत ब्याजदरमा न्यूनतम ५ लाखदेखि अधिकतम १० लाख रुपैयाँसम्म सहुलियत आवास कर्जा उपलब्ध गराइने भएको छ ।
यसैगरी, कल्याणकारी सेवा केन्द्र र नेपाल एपीएफ अस्पतालले सरोकारवालाहरूसँग आवश्यक समन्वय गरी सीमालक्षित प्रदेशस्तरीय बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।
यसैगरी, सशस्त्र प्रहरी कर्मचारीहरूको हकहितमा विशेष कल्याणकारी कार्यक्रम घोषणा गरिएको छ । जसअनुसार दर्जाअनुसार कल्याणकारी सेवा केन्द्रबाट उपलब्ध गराउँदै आएको सहुलियत ब्याजदरको नगद ऋण रकमको दायरालाई वृद्धि गर्दै राष्ट्रसेवकहरूले साविकमा पाउँदै आएको रकममा १ लाख रुपैयाँ थप गरिएको छ ।
सहुलियत ऋण सुविधा प्राप्त गर्ने सेवा अवधि नपुगेका राष्ट्रसेवकहरूका लागि निजको आश्रित परिवारका कुनै सदस्यको विवाह, ब्रतबन्ध, गुन्यूचोली, काजकिरिया आदिजस्ता धार्मिक तथा सामाजिक कार्यका लागि ५० हजार रुपैयाँसम्म सहुलियत ब्याजदरमा नगद ऋण प्रदान गरिने भएको छ ।
प्राकृतिक तथा गैरप्राकृतिक प्रकोपमा परी बासस्थान क्षति भएका ५ वर्ष सेवा अवधि पुगेका राष्ट्रसेवकहरूले आवास बनाउन इच्छुक भएमा निजहरूलाई वार्षिक ४ प्रतिशत ब्याजदरमा न्यूनतम ५ लाखदेखि अधिकतम १० लाख रुपैयाँसम्म सहुलियत ऋण उपलब्ध गराइने भएको छ ।
यसैगरी, कर्तव्य पालनका सिलसिलामा घाइते तथा अंगभंग भएका बहालवाला सशस्त्र प्रहरी कर्मचारीहरूलाई राहतस्वरूप वार्षिक ४ प्रतिशत ब्याजदरमा सहुलियत ऋण उपलब्ध गराइने घोषणा गरिएको छ । आवश्यकतानुसार अपांगमैत्री सामाग्रीहरू खरिद गर्न निब्र्याजी १ लाख रुपैयाँसम्म सापटी उपलब्ध गराइने भएको छ ।
चुनौतीपूर्ण कार्यक्षेत्रमा कर्तव्य पालनाकै सिलसिलामा मृत्युवरण गर्ने राष्ट्रसेवकका २ वर्षमुनिका नाबालकलाई पोसिलो आहार कार्यक्रमअन्तर्गत मासिक २ हजार रुपैयाँ उपलब्ध गराइने व्यवस्था गरिएको छ ।
राष्ट्रले निःशुल्क वितरण गरिने भनी तोकिएकाबाहेक गुणस्तरीय औषधि तथा औषधिजन्य पदार्थहरू सर्वसुलभ र सहुलियत दरमा उपलब्ध गराउन नेपाल एपीएफ अस्पतालको हातामा सःशुल्क फार्मेसी सञ्चालनमा ल्याइने भएको छ ।
आगामी शैक्षिक सत्रबाट सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा नेपाल एपीएफ स्कुल सञ्चालनका लागि आवश्यक प्रक्रिया सुरु गरिएको छ ।
यस्तै, चितवनको आँपटारीमा चालू आर्थिक वर्षबाटै एपीएफ मौलाकालिका फ्यूल स्टेसन सञ्चालनमा ल्याउन आवश्यक निर्माण प्रक्रिया अघि बढाइने भएको छ ।
प्रत्येक बाहिनी तथा गुणस्तरमा सामुदायिक र निजी विद्यालयहरूबीच विभिन्न शैक्षिक प्रतियोगिता सञ्चालन गरी उत्कृष्ट विद्यालय एवं छात्रछात्रालाई उचित सम्मान र पुरस्कारको व्यवस्था मिलाइने भएको छ ।
प्रचलित कानुनबमोजिम भूमिहीनको परिभाषाभित्र पर्ने ७ वर्ष सेवा अवधि पूरा भएका सशस्त्र प्रहरी राष्ट्रसेवकहरूलाई अधिकतम १० लाख रुपैयाँसम्म निब्र्याजी मासिक किस्ताबन्दीमा ऋण सुविधा उपलब्ध गराइने भएको छ ।
सशस्त्र प्रहरी सेवाबाट सेवानिवृत्त भई स्वदेशमै व्यापार, व्यवसाय, कृषि, पशुपालन वा स्वरोजगारमूलक उद्योग सञ्चालन गर्नेमध्येबाट उत्कृष्ट उद्यमी छनोट गरी ‘उत्कृष्ट उद्यमशीलता पुरस्कार’बाट सम्मान गर्नुका साथै उत्पादित मालवस्तुको बजारीकरणमा समन्वय र सहयोग गरिने भएको छ ।
पूर्वसशस्त्र प्रहरी कर्मचारीहरूका सन्ततिहरूमध्येबाट योग्यता र दक्षता पुगेका सन्ततिलाई नियमानुसार नेपाल एपीएफ स्कुलमा अध्यापकका रूपमा रोजगारीको व्यवस्था मिलाइने भएको छ ।
सम्मानजनक अवकाशका क्रममा रहेका राष्ट्रसेवकहरूलाई लक्षित गरी अवकाशपश्चात् आत्मनिर्भर हुन सक्नेगरी सीटीईभीटीसँग आवश्यक समन्वय गरी विभिन्न सीपमूलक तथा आयमूलक प्राविधिक तालीमहरू सञ्चालन गरिने भएको छ । सो तालिममा अवकाशप्राप्त राष्ट्रसेवकहरूका लागि पनि आवश्यक कोटा उपलब्ध गराइने भएको छ ।
राष्ट्रिय वाणिज्य बैंकबाट बिनाधितो सहुलियत ब्याजदरमा पेसाकर्मी सरल कर्जा उपलब्ध हुँदै आइरहेकामा बिल्लादार, जवान तथा अन्य दर्जाका राष्ट्रसेवकलाई एक महिनाभित्र स्वीकृत हुनेगरी न्यूनतम १० लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउनेतर्फ आवश्यक पहल गरिने घोषणा गरिएको छ ।
कर्तव्य पालनाकै सिलसिलामा मृत्युवरण गरेका सशस्त्र प्रहरी उपरीक्षक स्व. सुमन थपलियाको स्मृतिमा निश्चित रकमको अक्षय कोष खडा गरी सोबापत प्राप्त हुने ब्याजबाट प्रत्येक वर्ष एक जनालाई वार्षिक २५ हजार राशिको ‘बेस्ट इन्ट्रिग्रिटी अफिसर अवार्ड’ प्रदान गरिने व्यवस्था मिलाइएको छ ।






