पोखरा । अभिनेता त्रय आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको मुख्य भूमिका रहेको चलचित्र ‘पुजार सार्की’को कास्कीमा मंलबारबाट छायांकन सुरु भएको छ । छायांकन अघि यो चलचित्रको मंगलबार बिहान कास्की जिल्लाको कास्कीकोटमा शुभमुहूर्त गरियो ।
चलचित्रको छायांकन कास्कीकोट गाउँबाट सुरु भएको हो । निर्देशक राउतले यो चलचित्रलाई जातीय विभेदविरुद्ध समाजका तीन पात्रले गर्ने साझा संघर्षको कथा रहेको मुहूर्तका क्रममा बताए ।
यो चलचित्रका अन्य कलाकारमा अञ्जना बराइली, परीक्षा लिम्बु, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शंकर आचार्य, प्रेम सुब्बा, गोविन्दरमण पराजुली, राजेश बिसुराललगायत छन् । किंगडम नेटवर्कको ब्यानरमा निर्माण हुने यो चलचित्रलाई आरआर फिल्मसले वितरण गर्नेछ ।
यो चलचित्रलाई विकास सुवेदीले लेखेका छन् । यसअघि विकास र दिनेशले चलचित्र ‘प्रकाश’मा सहकार्य गरेका थिए । यो चलचित्रलाई संगीतकार सुवास भुसालले निर्माण गर्दै छन् । चलचित्रमा संगीत पनि भुसालकै रहेको छ । जसमा हर्क साउद, बी. पाण्डे, दिनेश राउत र गणेश शाहीको गीत, प्रकाश सपूत, शान्तिश्री परियार र केतन क्षेत्रीको स्वर रहनेछ ।
राजेश श्रेष्ठको डीओपी रहने ‘पुजार सार्की’लाई सुप्रिम पराजुलीले सम्पादन तथा रङ संयोजन, उत्तम न्यौपानेको साउन्ड डिजाइन, शैलेश श्रेष्ठको ब्याकराउन्ड स्कोर, कसम नेपालको प्रोडक्सन डिजाइन रहेको छ भने यसको प्रोडक्सन कन्ट्रोलमा मनोज जोशी र प्रोडक्सन व्यवस्थापनमा विदुर मानन्धर छन् ।






