विद्यालयमा फुड फेस्टिवल

बर्दिया । सधै कापी किताब बोकेर विद्यालय छिर्ने विद्यार्थी शुक्रबारको दिनमा भने कापी किताबको सट्टा हातमा भाडावर्तन, विभिन्न परिकार बनाउन आवश्यक सामग्री बोकेर विद्यालय छिरेका थिए । विद्यालयमा प्राथना सकिए लगत्तै विद्यार्थीहरु कक्षाकक्षाको समूह अनुसार विभाजन भए । केही विद्यार्थीहरु चुलो बनाउन, केही विद्यार्थी परिकार बनाउन आवश्यक सामग्री काटकुट गर्न व्यस्त देखिन्थे । झट्ट हेर्दा त विद्यालयको माहोल पिकनिक स्थल जस्तो लाग्थ्यो ।

मैलिक परिकार बनाउन सिक्दै विद्यार्थी

त्यो दृश्य पिकनिकको नभएर ठाकुरबाबा नगरपालिकास्थित चुरे माध्यमिक विद्यालय बगनाहाले शुक्रबार विद्यालयमा आयोजना गरको फुड फेस्टिवल कार्यक्रमको थियो । विद्यार्थीहरु रमाउँदै विभिन्न मौलिक परिकारहरु बनाउन सिक्दै गरेका थिए । कक्षागत अनुसार विद्यार्थीहरुले विभिन्न प्रकारका स्थानिय मौलिक परिकारहरु बनाउन सिक्दै थिए । शिक्षकहरुले विद्यार्थीहरुलाई मौलिक परिकार बनाउन सहजिकरण गरिरहेका थिए । विद्यालयमै कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरुले फरकफरक किसिमका विभिन्न मौलिक स्थानिय परिकारहरु बनाएका थिए । विभिन्न समुदायका विद्यार्थीहरुले आफना समुदायका मौलिक परिकारहरु पनि बनाएका थिए ।

विद्यार्थीहरुले थारु समुदायको मौलिक परिकार ढिक्री, सिध्राको चटनी, घोघी तरकारी, आलुको अचार, बरिया, खेरिया जस्ता परिकार बनाएका थिए । पहाडी समुदायको सेल रोटी, तले रोटी, परौठा, भुच्चाने रोटी, माडा, खिर, यमुरी, पकौडा, पनिर, च्याउको तरकारी, मिल्क केक जस्ता विभिन्न परिकारहरु पनि बनाइएको थियो । विद्यार्थीहरुले निकै चाख मानेर परिकारहरु बनाएका थिए । कक्षा ८ कि छात्रा प्रतिज्ञा दाहालले परिकार बनाउँदाको अनुभव सुनाउँदै भनिन्, ‘निकै रमाइलो भएको छ । घरमा परिकार बनाउन खासै चासो नदिए पनि विद्यालयमा सबै साथी मिलेर सिक्दा र बनाउदा निकै आनन्द महशुस भएको छ ।’

आआफनो समूहमा बनाएका परिकारहरु अवलोकन तथा बिक्रिका लागि विद्यार्थीहरुले विद्यालय परिसरमा स्टल राखेका थिए । आफना नानीबाबुले बनाएका परिकार हेर्न र चाख्नका लागि अभिभावकहरु पनि विद्यालय आएका थिए । अभिभावक, विद्यार्थी तथा शिक्षकहरु उनीहरुले बनाएको परिकारहरु किनेर खाएका थिए । फुड फेस्टिवल कार्यक्रमले विद्यार्थीलाई परिकार बनाउने सीप मात्र नभएर व्यवसाय गर्ने ज्ञान पनि दिएको विद्यालयका शिक्षकहरु बताउँछन् । यसले व्यवहारिक सीपको विकास हुनुका साथै विद्यार्थीहरुमा आफुले उत्पादन गरेको बस्तुको वजारीकरण गर्ने सीपको समेत विकास गरेको शिक्षक खेमराज बस्यालले बताए ।

आफनो स्टलको परिकार बढीभन्दा बढी बिक्रि गर्नका लागि कक्षागत समूहका विद्यार्थीहरु बिच प्रतिस्प्रर्धा नै देखिन्थ्यो । विद्यार्थीहरुले आफैले रकम संकलन गरेर परिकार बनाउने सामग्री किनेका थिए । ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख तिलकराम लम्साल, उपप्रमख विनाकुमारी भट्राई, शिक्षा शाखा प्रमुख सीताकुमारी भण्डारी तथा अन्य जनप्रतिनिधीहरुले स्टल अवलोकन गर्नुका साथै विभिन्न परिकारहरुको स्वाद लिएका थिए ।

सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतारेर सीप सिक्न पाउँदा निकै राम्रो लागेको कक्षा १२ का विद्यार्थी तीर्थ खत्रीले सुनाए । उनले भने, ‘कक्षा कोठाको ज्ञानसँगै कोठा बाहिरको ज्ञान लिन पाउँदा निकै उपलब्धि महशुस भएको छ ।’ विद्यालयले यो कार्यक्रमलाई विद्यार्थीको परियोजना कार्यसँग मूल्याङ्कन गरिने विद्यालयका प्रधानाध्यापक राजेशकुमार यादवले बताए । प्रअ यादवले भने, ‘यो क्रियाकलापलाई व्यवहारिक सीपसँगै विद्यार्थीको प्रयोगात्मक मूल्याङ्कनसँग पनि जोडेका छौ ।’ विद्यालयको वार्षिक कार्ययोजना अनुसार विद्यालयमा फुड फेस्टिवल कार्यक्रम आयोजना गरिएको प्रधानाध्यपक यादवले बताए ।

फोटो : सुदीप अधिकारी

तपाइको प्रतिक्रिया
(Visited 468 times, 1 visits today)

epaper

ताजा समाचार

भोटेकोशी बाढी : पर्यटन क्षेत्रमा ५२ अर्ब रुपैयाँभन्दा बढीको क्षति