चितवन । भरतपुर महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न ठेक्का आह्वान गरेको छ । निर्माण अलपत्र परेको रंगशालामा पहिलो चरणको काम गर्न महानगरले ठेक्का आह्वान गरिएको हाे। ठेक्का आह्वानकाे म्याद एक महिना राखिएकाे छ ।
रङ्गशाला निर्माणका लागि छनोट भएको कम्पनीले दुई वर्ष छ महिनाभित्र रङ्गशाला बनाइसक्नु पर्नेछ । रङ्गशालाको सबै काम पूरा गर्न रु तीन अर्बभन्दा बढी खर्च लाग्ने छ । पहिलो चरणको काम पूरा भएपछि दोस्रो चरणको निर्माण सुरु हुने महानगरपालिकाले जनाएको छ । पहिलो चरणको काम सम्पन्न भएसँगै खेल खेलाउन मिल्ने छ ।
महानगर र बागमती प्रदेश सरकारकाे लागत साझेदारीमा रंगशालाको बाँकी काम अगाडि बढाउन लागिएको हो । धुर्मुस सुन्तली फाउण्डेशनले जनस्तरबाट सहयाेग जुटाएर निर्माण गरिरहेकाे रंगशालाकाे लागि आर्थिक अभाव भएपछि रंगशालाकाे काम राेकिएकाे थियाे । फाउण्डेशनले निर्माण सामाग्रीकाे करिब १८ कराेड रूपैयाँ उधाराे रहेकाे बताएकाे छ ।






