काठमाडौं । ४० देशका ८८ फिल्म तथा डकुमेन्ट्री प्रदर्शन गर्दै सोमबार बेलुकाबाट सातौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सम्पन्न भएको छ । उत्कृष्ट नेपाली तथा बिदेशी चलचित्रलाई अवार्ड प्रदान गर्दै महोत्सब समापन गरिएको छ ।
महोत्सबमा सहभागी नेपाली चलचित्रहरु मध्येबाट चलचित्र बुलाकीले तीन वटा विधामा उत्कृष्ट अवार्ड जितेको छ । यो चलचित्रले महोत्सवमा उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक र उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेको छ । उत्कृष्ट भएबापत यो चलचित्रलाई एक लाख रुपैयाँ र अवार्ड प्रदान गरियो । यो चलचित्रबाट लक्ष्मण सुनारले उत्कृष्ट निर्देशकको अवार्ड जितेका हुन् । यही चलचित्रबाट सुरक्षा पन्त उत्कृष्ट अभिनेत्रीको अवार्ड चुम्न सफल भईन् ।
यस्तै अवार्ड समारोहमा चलचित्र एक भागवत गीताबाट विपिन कार्कीले उत्कृष्ट अभिनेताको अवार्ड हाँसिल गरे । यही चलचित्रले छायांकनको अवार्ड प्राप्त गरेको छ । उत्कृष्ट पटकथाको अवार्ड डेसानले पाएको छ ।
सो महोत्सबमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा गौतम बुद्ध उत्कृष्ट न्यारेटिभ फिचर फिल्मको अवार्ड रजनी बासुमात्री निर्देशित भारतीय फिल्म वाइल्ड स्वनले जितेको छ ।

यसैगरी अन्तर्राष्ट्रिय तर्फ इभान जोभिक निर्देशित सर्बियन फिल्म लजारुस पाथ उत्कृष्ट फिल्म बन्न सफल भएको छ भने उत्कृष्ट डकुमेन्ट्रिको माउन्ट एभरेस्ट अवार्ड पोर्चुगलको लभ लाइट्सले हात पारेको छ । जि जाओ निर्देशित चाइनिज फिल्म द ट्रेकर, द वल्फ एण्ड द मंकी किङले स्पेशल मेन्सन अवार्ड हात पारेको छ ।
इनुमा राई निर्देशित जर्ना उत्कृष्ट राष्ट्रिय डकुमेन्ट्रि बन्दा किरण श्रेष्ठ निर्देशित येट अनोदर विन्टरले उत्कृष्ट सर्ट फिल्मको अवार्ड पाएको छ । त्यस्तै अन्तर्राष्ट्रिय तर्फको उत्कृष्ट लाइभ एक्सन सर्ट फिल्मको अवार्ड इजिप्टको आइ प्रमिस यु पाराडाजले पाएको छ । जसको निर्देशक मोराद मोस्ताफा रहेका छन् ।
यो महोत्सब १ चैतबाट सुरु भएको थियो । महोत्सबमा ८८ वटा लामा छोटा चलचित्र प्रदर्शनसँगै आधा दर्जन अन्तरक्रिया तथा बहस कार्यक्रम आयोजना गरियो । महोत्सबमा नेपाल सहित विभिन्न देशका सिनेकर्मीहरुको सहभागिता रहेको महोत्सब अध्यक्ष केपी पाठकले जानकारी गराए ।






