स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले लागु पदार्थ सेवन (लापसे) गरी सवारी चलाउने ६ जना चालकलाई नियन्त्रणमा लिएको छ । दुर्घट्ना न्युनिकरण गर्न जिल्ला प्रहरी र जिल्ला ट्राफिक प्रहरीले शुरु गरेको लापसे चेकजाँचका क्रममा ६ जना सवारी चालक नियन्त्रणमा परेका हुन् । प्रहरीले पिसाबबाट लागु पदार्थ सेवन (लापसे) गरे नगरेको पहिचान गर्ने अभियान सुरु गरेकै दिनमा उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ ।
प्रहरीले शुरु गरेको अभियानकै क्रममा ६ जना चालक लापसे गरी चलाएको भेट्टिएपछि सिद्धार्थ राजमार्ग लगायत भित्री सडकहरुमा पनि चालकले लापसेगरी सवारी चलाउन सक्ने अनुमान प्रहरीले गरेको छ । प्रहरीले चेकजाँच गर्नेक्रममा रुपन्देशी जिल्ला बुटवल नगरपालिका ११ बस्ने ४७ बर्षिय पदमबहादुर डिसुवा, स्याङजा वालिङ ११ का ३६ बर्षिय साजन थापा, कास्की पोखरा महानगरपालिका २९ का २६ बर्षिय विशाल गुरुङ, पोखरा महानगरपालिका १९ का ४८ बर्षिय होमबहादुर खत्री, स्याङ्जा पुतलीबजार नगरपालिका १ का २६ बर्षिय अजय नेपाली र फेदिखोला गाउँपालिका २ बस्ने ३७ बर्षिय अमृत मिजारलाई नियन्त्रणमा लिइएको स्याङ्जाका प्रहरी प्रवक्ता इन्द्र बहादुर रानाले जानकारी दिए । प्रहरीले नियन्त्रणमा लिइएको सवारीचालकले लागु औषध गाँजा सेवन गरेको खुलेको प्रहरी प्रवक्ता रानाले बताए ।
जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजनामा शुरु गरिएको यो अभियानको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले शुभारम्भ गरेकी छन् । कार्यक्रमको शुभारम्भकै दिन आधा दर्जन सवारी चालक लापसेगरी सवारी चलाउने भेटिनु दुखद रहेको बताइन् । बढ्दो दुर्घटना न्यूनिकरणका लागि यस्ता परिक्षण प्रभावकारी बन्ने विश्वास प्रजिअ नेपालको छ । सबै खालका सवारी साधान चालक मानसिक एवं शारिरीक रुपमा स्वस्थ्य हुनैपर्छ भन्ने यो अभियानको उद्देश्य रहेको उनले बताइन् । सवारी चालक र सवारी साधन दुवै स्वास्थ्य रहेमात्रै सुखद यात्रा हुने प्रजिअको भनाई छ ।
चालक तथा सहचालकको पिसाब ल्याब परिक्षणबाट लापसे गरे नगरेको पहिचान ५ मिनेटमै थाहा पाउन सकिने ल्याब प्रयोग गरिएको छ । राजमार्ग मात्र नभई जिल्लाका भित्री सडकमा पनि लापसे परिक्षण गरिने प्रहरी उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए । सोमबारदेखि सुरु अभियानलाई जिल्लाभर लागु गरिने प्रहरी प्रमुख शर्माको भनाई छ । अभियान शुभारम्भकै दिनमा प्रहरी प्रमुख शर्माले राजमार्गमा चल्ने सवारी साधनका यात्रुहरु सगँ समेत परामर्स गरेका छन् ।
गण्डकी यातायात प्रा.लि.ले जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयलाई संयुक्तरुपमा लापसे परिक्षण किट सोही कार्यक्रममा सहयोग गरेको छ । अभियान सुरु भएसंगै वुटवल, पाल्पा हुदै स्याङ्जा र पोखरासम्म पुग्ने दर्जनौं सवारी साधनका चालक तथा सहचालकको लापसे परिक्षण गरिएको थियो ।
जिल्लामा पहिलो पटक लागु गरिएको यो अभियानलाई निरन्तरता दिनुपर्ने यात्रुहरुले बताएका छन् । मादक पदार्थ खाएको सजिलै थाहा पाउन सकिने तर लागुपदार्थ सेवन गर्ने बिषय थाहा पाउन नसकिने यो गम्भीरता प्रति प्रहरीले शुरु गरेको यो अभियानको स्थानीयहरुले प्रशंसा गरेका छन् ।






