इलाम । इलाममा निकै चुनावी रौनक बढेको छ । यति बेला १९ जना उम्मेदवार आफ्ना कार्यकर्ता सहित गाउँ गाउँमा भोट माग्न व्यस्त छन् । नेता तामझाम साथ गाउँ गाउँमा पुगिरहँदा मतदातामा खासै उत्साह देखिँदैन । इलाम नगरपालिका वडा नम्बर ९ का शेरबहादुर लावतीलाई वैशाख १५ मा हुने निर्वाचनले छोएकै छैन ।
दैनिक मजदुरीको काम गर्ने लावती दिन भर ढुङ्गा फुटाउनमा व्यस्त छन् । दैनक गरेको श्रमबाट घर खर्च चलाउन बाध्य लावतीलाई निर्वाचनको अत्तो पत्तो छैन । उनी भन्छन्, ‘खै चुनाव हुन्छ हुन्छ भन्छन् तर चुनाव त नेतालाई हो लाग्ने हामी मजदुरी गर्नेहरूका लागि त काम नगरी हुँदैन ।’
इलाम नगरपालिका नौ कै दुर्गा गौतमलाई पनि वैशाख १५ को उपनिर्वाचनले छोएको छैन । निर्वाचन हुन्छ भन्ने हल्ला सुनेका गौतम पनि लावती झैँ दीनभर ढुङ्गा फुटाउनमा व्यस्त छन् । विहान खाना खाए देखी काममा गएमा उनी सँग नेताले नत भोट नै माग्न पुग्छन् नत उनले उम्मेदवारै चिन्छन् । उनी चुनाव देखी निराश बन्दै भन्छन् भोट माग्ने बेलामा मात्रै हो मजदुरलाई हात जोड्ने अरुबेला मजदुरले कसरी हातमुख जोड्दैन भन्ने कसैले देख्दैन ।’ पैसा हुनेका लागि चुनाव लाग्छ र हात जोड्दै हिन्छन हामी त काम नगरी हात मुख जोड्नै सकिँदैन, समस्या कसैले देख्ने हैन ।’
दुर्गा गौतमकी श्रीमती टीका गौतम पनि दैनिक श्रीमान् सँगै ढुङ्गा फुटाउने काम मानै व्यस्त हुन्छिन् । श्रीमान् र श्रीमती दुवै जनाको दैनिकी काम मानै बित्ने गरेको छ । ‘काम नगरी खानै पुग्दैन के गर्नु र चुनाव लागो भनेर’ टीका भन्छिन्, दिनभर काम गरेको कमाइले घर चलाउनु पर्छ चुनाव भनेर हाम्रो समस्या समाधान हुने हैन नेतालाई लागोस चुनाव दुख गर्नेले सधैँ दुख नगरी हुँदैन ।’
शेरबहादुर, दुर्गा र टीका त प्रतिनिधि पात्र मात्रै हुन । जिल्लामा धेरैजसो मजदुर दैनिक काम नगरे बिहान बेलुकाको छाक टार्न सम्म धौ धौ हुने गर्दछ । राजनीतिक खिचातानी, धेरै आश्वासन देखाउने कामका कारण जनतामा चुनावको खासै रौनक पाइँदैन । सामान्य काममा समेत जस लिने होडले राजनीतिक दल र तिनका नेताप्रतिको वितृष्णा देखिन थालेको मतदाताको आवाज छ ।
चुनाव हुने भएसँगै पाँच वर्ष अघि गरेका सहयोगलाई समेत नेताले अहिले प्रचार गरिरहेका छन् । एक पटक गरेको सहयोग वर्षे सम्म प्रचारमा ल्याउने र बिचमा चुप लागेर बस्ने अनि चुनाव आउने बेलामा देखाउने राजनीतिका कारण पनि मतदातामा खासै रौनक नदेखिएको पाइन्छ । आउँदो निर्वाचनका लागि उम्मेदवारहरूले प्रचारप्रसारलाई तीव्र बनाएका छन् । टोल टोलमा पुगेर भेला तथा घरदैलो गर्दै चुनावी भोट मागिरहेका छन् । तर गाउँ बस्तीमा भने चुनावको खासै रौनक देखिँदैन ।






