पाल्पा । पूर्वखोला गाउँपालिका पाल्पाले दोस्रो चौमासिकसम्म ४३ प्रतिशत वित्तिय प्रगति हासिल गरेको छ । चालुतर्फ ४६.३१ प्रतिशत र पुँजीगत तर्फ ३५.०९ प्रतिशत बजेट खर्च भएको छ ।
आर्थिक विकासमा ३४.९२ प्रतिशत, सामाजिक विकासमा ४२.३९ प्रतिशत, पुर्वाधार विकासमा ३९.९७ प्रतिशत, सुशासन क्षेत्रमा ४०–६७ प्रतिशत र कार्यालय सञ्चालन तथा प्रशासनीक क्षेत्रमा ५३.४१ प्रतिशत रकम खर्च सार्वजनिक सुनुवाई प्रतिवेदनमा उल्लेख गरिएको छ ।
पालिकाले विनियोजन गरेको ३ सय ४४ वटा योजना मध्ये एक सय ७७ वटा सम्पन्न र एक ६७ वटा कार्यान्वयनको चरणमा रहेको जेष्ठ मसान्त भित्र सबै योजना सकिने प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले बताए । पालिका ११ वटा ठूला योजना ठेक्काबाट र अन्य उपभोक्ता समितिबाट काम भएका छन् ।
गाउँपालिकाबाट ६९ जनालाई १०० दिनको रोजगारी दिएको, एक सय १५ जनालाई गरिब परिचयपत्र वितरण गरेको, १८ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरेको र ३० जना मेलमिलापकर्तालाई तालिम दिएर सुमदायस्तरमा मेलमिलापका गर्न खटाइएको छ ।
पालिकाले कक्षा ११ र १२ मा अध्ययन गर्ने एक सय जना छात्राहरुलाई ३ हजारका दरले छात्रबृति प्रदान गरेको, २९ जना अभिभावक विहिन बालबालिकाहरुलाई शैक्षिक सामग्री र छात्रबृति प्रदान गरेको पालिकाले जनाएको छ । यस अवधिमा ३० लाख ७१ हजार आन्तरिक आय संकलन गरेको छ ।






