मुटु, डाक्टर समीर र संकल्प

मुटुलाई प्रतीक मानेर अनेक गीत लेखिए, अनेक कविता लेखिए र लेखिँदै छन् । आदिम कालदेखि नै साहित्य सिर्जनामा मुटुको निकै महत्वपूर्ण भूमिका रहेको छ । साहित्यमा मुटुलाई प्रेमको बिम्बका रूपमा लिइन्छ । भावनात्मक दृष्टिमा हेर्ने हो भने प्रेमीप्रेमिका एकआपसको मुटुमा बस्छन्, मुटुको धड्कनमा धड्किन्छन् भने छोराछोरी आमाबाका मुटुका टुक्राहरू हुन् । तर, पिर परेका बेलामा, बिछोडमा, आघातमा यो मुटु चसक्क दुख्छ, फुट्छ, टुक्रा टुक्रा हुन्छ ।

ब्रेक अपलाई त ‘हर्टब्रेक’ भन्ने गरिन्छ । यो मुटुको भावनात्मक पक्ष हो भने शारीरिक रूपमा मुटु मानव शरीरको एक प्रमुख जीवनदायी (भाइटल) अंग हो । मुटुले नै शरीरका अंगप्रत्यांगमा शुद्ध रगत पु¥याउने र अशुद्ध रगत शुद्धीकरणका लागि फोक्सोमा पु¥याउने कार्य गर्छ । मुटुबिना त मानिस एक क्षण पनि बाँच्न सक्दैन । ५ मिनेट मात्र मुटु बन्द भयो भने मानिसको इहलिला नै समाप्त हुन्छ । यसै कुराबाट नै प्रस्ट हुन्छ, मानवीय जीवनमा मुटुको कति महत्व रहेछ भन्ने कुरा । यत्ति महत्वपूर्ण अंगका एक चिकित्सक हुन्, वरिष्ठ मुटुरोग विशेषज्ञ डा. समीर गौतम ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–१२ मणिग्राममा स्थायी बसोबास गर्ने समीर बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका निर्देशकसमेत हुन् । समीर लुम्बिनी प्रदेशकै एक चर्चित मुटुरोग विशेषज्ञ मानिन्छन् । उनको चिकित्सकीय सेवा लिन दाङ, प्युठान, नेपालगन्ज, अर्घाखाँची, गुल्मी, पाल्पा, कपिलवस्तु, नवलपरासीबाट समेत बिरामी आउने गर्छन् । त्यसो त उनको चर्चा नेपालभरि नै छन् । समीर औलामा गन्न सकिने मुटुरोग विशेषज्ञमध्येका एक हुन् ।

२०५१ सालमा शान्ति नमुना उच्च मावि, मणिग्रामबाट एसएलसी गरेका गौतमले अमृत साइन्स क्याम्पस, काठमाडौंबाट आईएस्सी, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट एमबीबीएस तथा एमडी र कलेज अफ मेडिकल साइन्सेस, भरतपुरबाट मुटुरोग(कार्डियोलोजी)मा डीएम गरेका छन् ।

समीरका बुबा नारायण गौतमका अनुसार समीर बाल्यकालदेखि नै मेधावी, मेहनती र अब्बल विद्यार्थी थिए । सानैदेखि नै उनको ध्यान केवल पढाइलेखाइमा हुने गर्दथ्यो । उनको बाल्यकालदेखिको चाहना नै चिकित्सक बन्ने थियो ।

समीरको बाल्यकालको एक घटना स्मरण गर्दै उनकी आमा रामकुमारी गौतम भन्नुहुन्छ, बाल्यकालदेखि नै समीरको चाहना डाक्टर बन्ने थियो । समीर त्यस्तै तीन वर्षको थियो, एक साँझ हजुरआमाले पटकपटक खाना बोलाउनुभयो, तर ऊ खाना गएन । हजुरआमाले धेरैपटक बोलाएपछि ‘समीर खाना खान आइज’ भन्नुहोस्, बल्ल खान आउँछु भन्यो । अनि, उहाँले समीर खाना आइज भनेपछि मात्र खाना खान गयो ।

शुद्ध शाकाहारी समीर एक शिक्षित र अद्यात्मिक पारिवारिक वातावरणमा जन्मेर हुर्केका हुन् । त्यसैले पनि उनी सेवाभावले ओतप्रोत छन् । चिकित्साशास्त्रमा उच्चतम शिक्षा हासिल गरेर पनि आफ्नो जन्मथलोमा फर्की पैसालाई भन्दा पनि सेवालाई महत्व दिई दिनरात काममा खटिनु नै उनको निःस्वार्थ सेवाभावको प्रमाण हो ।

समीरको अर्को विशेषता के छ भने उनले पैसाका लागि मरिहत्ते गर्दैनन् । गौतम बुद्ध हस्पिटलबाहेक अन्य क्लिनिकबाट सेवा प्रदान गर्दैनन् । उनले चाहेको भए थप एक दुईवटा क्लिनिकमा बिहानबेलुकी बिरामी हेरेर मनग्गे पैसा कमाउन सक्ने थिए । तर, समीरले खाली समय पठनपाठन तथा परिवारसँग बिताउँछन् । आफ्नो स्वास्थ्यको पनि राम्रो ख्याल गर्छन् ।

समीरको बाल्यकालको एउटा सपना त डाक्टर समीर गौतम भएपछि पूरा भयो । तर, उनको अर्को सपना छ, त्यो हो, गौतमबुद्ध सामुदायिक मुटु अस्पताललाई सुविधासम्पन्न (सुपरस्पेसेलिटी केयर) अस्पताल बनाउने अर्थात् मुटुसम्बन्धी कुनै पनि समस्याका लागि काठमाडौं तथा भारत जान नपर्ने बनाउने । यही संकल्पका साथ समीर टीमसँग मिलेर दिनरात खटिएका छन् ।

जीवनका विविध पक्षलाई सरल र सहज रूपमा ग्रहण गरी उज्यालो पक्षलाई लिएर हिंडौं

उनकै नेतृत्वमा नै ७४ सालदेखि यस अस्पतालमा क्याथ ल्याब सेवा समेत सञ्चालन भएको छ । क्याथ ल्याब सञ्चालन आएपछि एन्जियोप्लास्टी गर्ने तथा पेसपेकर राख्ने आदि जस्ता सुविधा यसै अस्पतालमा उपलब्ध छन् । यसका लागि यस क्षेत्रका विरामीलाई काठमाडौं जानुपर्ने आवश्यकता छैन । समीरका अनुसार अहिलेसम्म यस अस्पतालमा करिब १ हजार विरामीको एन्जियोप्लास्टी तथा २ सय ५० जनाभन्दा बढी बिरामीमा पेसमेकर राख्ने कार्य सफलतापूर्वक सम्पन्न भएको छ ।

हाल बुटवल उपमहानगरपालिका १०, रामनगरमा सञ्चालित यस सामुदायिक मुटु अस्पताललाई आफ्नै निजी भवनमा स्थान्तरण गरी अस्पताललाई २ सय शøयाको बनाउने योजनाअनुरूप ठाउँ समेत प्रस्तावित गरिएको अस्पतालका निर्देशक समेत रहेका डा. गौतम बताउँछन् । अस्पताल आफ्नै भवनमा स्थान्तरण भएपछि सर्जरी सेवा, एट्रियल सेप्टल डिफेक्ट्स (एसीडी) उपचारका लागि डिवाइस क्लोजर राख्ने सेवा (मुटुको प्वालको उपचार सेवा) तथा फेलोसिप जस्ता शैक्षिक कार्यक्रमसमेत सञ्चालन गर्ने बृहत् योजना रहेको समीर बताउँछन् ।

मुटुका रोगको सम्बन्धमा डा. समीर भन्छन्, सामान्यतया मुटुका रोगहरू दुई किसिमका हुन्छन् । जन्मजात हुने मुटु रोग तथा पछि देखापर्ने मुटुका रोगहरू । पहिला पहिला ६०, ७० वर्षको उमेरपछि मुटुको रोग लाग्छ भन्ने मान्यता थियो । तर, हिजोआज ३५, ४० वर्षको उमेरमा नै मुटुरोग देखापर्ने गरेको छ । यहाँसम्मकी १८, २० वर्षका युवालाई समेत हार्ट अट्याक हुने गरेको छ । उनी अगाडि भन्छन्, मुटुका धेरै रोग मानिसको जीवनशैलीसँग सम्बन्धित छन् । वास्तवमा अव्यवस्थित जीवनशैली नै मुटुरोगको प्रमुख कारण हो ।

मुटुलाई स्वस्थ र दीर्घायु कसरी राख्न सकिन्छ भन्ने प्रश्नको जवाफमा डा. समीर भन्छन्, मानिसको स्वास्थ्यमा जीवनशैलीको महत्वपुर्ण भुमिका रहन्छ । त्यसैले आहारबिहारमा विशेष ध्यान दिने हो भने मुटुरोगबाट बच्न सकिन्छ । हरेक दिन आफूले गर्न सक्ने कुनै न कुनै शारीरिक कार्य गर्ने, नियमित शारीरिक व्यायाम गर्ने । बच्चालाई पनि शारीरिक रूपमा सक्रिय राख्ने । कतिपय स्कुलमा खेल्ने ठाउँ पनि हुँदैन । बालबालिकालाई घरमा मोबाइल वा टिभीमा गेम खेल्ने बानी बसेको हुन्छ । ग्याजेटको अत्यधिक प्रयोगले बालबालिकालाई अल्छी बनाउँछ र विभिन्न मानसिक तथा शारीरिक समस्याहरू निम्त्याउँछ । मोटोपन बढ्ने गर्छ ।

डा. समीरको नेतृत्वमा एन्जियोप्लास्टी तथा पेसमेकर राख्ने कार्य सफलतापूर्वक सम्पन्न भएको छ

त्यसैले, बालबच्चालाई बाहिर खेलाउने र घुमाउने गर्नुपर्छ । उनीहरूलाई प्रकृतिसँग नजिक गराउनुपर्छ । दैनिक कम्तीमा पनि ३० देखि ४० मिनेट शारीरिक रूपमा सक्रिय रहनुपर्छ । अनावश्यक तनाव लिनुहुँदैन । तनावले निद्रा बिगार्छ र मुटुमा असर गर्छ । मुटु स्वस्थ राख्नका लागि पर्याप्त मात्रामा निदाउन आवश्यक छ । तर, आवश्यकताभन्दा धेरै निदाउने, दिउँसै सुत्ने लगायत काम पनि गर्नुहुँदैन । शारीरिक रूपमा सक्रिय रहने, योग–ध्यान गर्ने, संगीत सुन्नेलगायत क्रियाकलापले तनाव कम गर्छ र राम्रो निद्रा पर्छ ।

सन्तुलित पौष्टिक आहार सेवन गर्ने तथा समाजिक कार्यमा लाग्ने । बढी चिल्लो, पिरो तथा चर्को नखाने । दैनिक ३ देखि ५ ग्रामभन्दा बढी नुन नखाने । नुन थपेर खाने बानी नबसाल्ने । घिउ, चिज, पनिर, बटरलगायतका चिल्ला कुरा कहिलकाहीं थोरै मात्रामा प्रयोग गर्ने । कार्बोहाइड्रेट भएका खानेकुरा कम खाने । हरियो सागसब्जी तथा फलफूल प्रशस्त खाने । रातो मासु सकभर नखाने, बोसोयुक्त मासु नखाने । जंक फुड्स खाने । गुलियो पनि कम खाने । सकेसम्म चिनी नखानु राम्रो हो । तेलमा तारेका, भुटेका खानेकुरा नखाने  । अहिले माछा–मासु छाकैपिच्छे खाने चलन छ । तर, यो गलत हो । सन्तुलन मिलाएर मात्रै खानुपर्छ । धुम्रपान र मद्यपान नगर्ने । यसले मुटुलाई प्रत्यक्ष रूपमा असर गर्छ ।

शारीरिक श्रम बढी गर्नेले बढी तथा कम गर्नेले कम खाना खाने । मुटुका लागि शाकाहारी खाना फाइदाजनक छ । तर, नियन्त्रित रूपमा माछामासु खाएमा हानी गर्दैन । अन्य मासुको तुलनामा माछा र पक्षीको मासु उपयुक्त हुन्छ । माछामासु खानेले नियन्त्रित मात्रामा बिहान तथा दिउँसो माछामासु खान ठीक हुन्छ । तर, राति खानु ठीक छैन ।

आफ्नो सामथ्र्यअनुसार व्यायाम गर्ने । सागपात तथा फलफूलको सेवन गर्ने । दिनमा कम्तीमा पनि एउटा मौसमी फलफूल सेवन गर्ने । जस्तो आँपको मौसममा एउटा आँप । स्याउ र सुन्तलाको मौसममा एक स्याउ वा एक सुन्तला । ४० वर्षको उमेरपछि वर्षको एकपटक स्वास्थ्य परीक्षण गराउने । यदि आमाबाबुलाई मुटुको रोग छ भने १८ वर्षको उमेरदेखि नै वर्षको एकपटक मुटुको परीक्षण गराउने । मुटुको रोग लागेको छ भने नियमित रूपमा औषधि सेवन गर्ने ।

मुटुका धेरै रोग मानसिक तनावबाट उत्पन्न हुन्छन् । त्यसैले, मानसिक तनावबाट बच्न विचार व्यवस्थित गर्ने । सकारात्मक चिन्तन मनन गर्ने । जीवनका विविध पक्षलाई सरल र सहज रूपमा ग्रहण गरी उज्यालो पक्षलाई लिएर हिंडने । र, मनलाई पिरोल्ने कुनै समस्या भए त्यसको स्थायी समाधानतिर लाग्ने । यी नै मुटु स्वस्थ र दीर्घायु राख्ने सरल उपाय हुन् ।

हो, मुटु रोग विशेष डा. समीर गौतमले उल्लेख गरेका उपर्युक्त उपायलाई व्यवहारमा ल्याउने हो भने निश्चित रूपमा मुटुका रोगबाट बच्न सकिन्छ, मुटुका रोगहरू लागेको छ भने नियन्त्रण गर्न सकिन्छ । त्यसैले मुटुप्रति सचेत होऔं, उपर्युक्त उपायलाई व्यवहारमा ल्याऔं । स्वस्थ र दिघार्यू जीवन बाचौं ।

तपाइको प्रतिक्रिया
(Visited 125 times, 1 visits today)

epaper

ताजा समाचार

बाल मन्दिरमा भएको ठगी अभियोगमा पक्राउ व्यक्ति सार्वजनिक