अहिले विश्वमा भाइ दादागिरी चलिरहेको छ । दाइमध्ये अमेरिकाको उमेर खस्किसकेको र चीनको बैंस नचढिसकेकाले भाइ दादागिरीको मौसम चलिरहेको छ । विश्वमा हरक्षण हलचल त हुन्छ नै । शान्त हुने भनेको केही क्षण हो । अधिकांश समय संघर्ष र दमन तथा प्रतिरोधमै जान्छ ।
इजरायलले पनि यही भाइ दादागिरी देखाउन चाहेको छ । तर, यो दादागिरीको हदम्याद धेरै छैन भन्ने सबैलाई थाहा छ । तर, इजरायललाई उन्माद किन चढिरहेको होला ? संसार अब अमेरिकाको पक्षमा मात्र छैन । एकलौटी जे पनि गर्नसक्छ अमेरिकाले भन्ने पनि छैन । युरोपपछि बूढेसकालले संयुक्त राज्य अमेरिकालाई छोइसकेको छ ।
विषय गम्भीर बनेर उठिसकेको छ । सिरियाको दमास्कसस्थित इरानी दूतावासका इजरायलले सिधा हमला गरेपछिको केही दिनभित्रै इरानले इजरायलमाथि सिधा जवाफी धावा बोलेको छ । सैयौं ड्रोन आधा रातमा इजरायलका अति संवेदनशील क्षेत्रमा धावा बोल्न पुगेका छन् । यसको प्रतिरोध जवाफ दिन अमेरिकासँग इजरायलले सुझाव मागेको छ । अमेरिकाले रणनीतिक प्रत्याक्रमणको कूटनीति अपनाउन इजरायललाई सुझाव दिइसकेको छ । भाइ दादागिरी देखाइरहेको इजरायलका लागि ज्यान फालेर अघि बढ्न अमेरिका इच्छुक छैन ।
तत्काल र दीर्घकालका हिसाबले पनि अमेरिका अबका रणनीतिक सोचले मात्र बाँच्न र बचाउन सक्छ । कार्यनीतिक र तत्कालीन हिसाबले अमेरिका आक्रामक हुन गए उसकै अगति हुने स्पष्ट देखिएको छ । यही बेलामा प्यालेस्टाइन र सिरियालगायतका देशमा जे गर्दा पनि हुने सोच इजराइलले बनाइरहेको छ । अमेरिकी महाशक्तिको ओतपातमा जसलाई जे गर्दा पनि हुन्छ भन्ने सोच अब इजरायलका लागि घातक सिद्ध हुनेछ ।
हाल विश्व जनमत इजरायलको पक्षमा छैन । इजरायलीजस्तो राष्ट्रियताको अहम् अरूमा पनि जागृत भइसकेको छ । फगत इजरायल मात्र यो अवस्थामा आइपुगेको होइन । यसमा अरू सम्प्रदाय र समुदाय पनि उत्तिकै जिम्मेवार छन् । तर, ‘अति सर्वत्र वर्जयेते’ भन्ने कुरा इजरायलले बुझ्नुपर्छ । इरानलाई छोएर यति बेलामा इजरायलले फूर्ति देखाउन खोज्नु स्वयं घातक सिद्ध हुनेछ ।
कुनै पनि देशमा रहेको दूतावास वा वाणिज्यदूतको आवास सम्बन्धित देशको सार्वभौम अस्तित्वबराबर मानिन्छ । यसमाथिको आक्रमण राष्ट्रिय अस्तित्वमाथिको आक्रमण हो भन्ने कूटनीतिक मान्यता पनि छ । प्यालेस्टिनीमाथिको निरन्तर बर्बरआक्रमण अन्य समुदायले पनि पचाउन सकिरहेका छैनन् । तटस्थ धेरै देश रहलान्, तर इजरायलको पक्षमा उत्रने देश देखिँदैनन् । संयुक्त राज्य अमेरिकाले पनि इजरायलको रक्षाका लागि वचन दिन सक्ला तर उसले चाहे आक्रमणका लागि अमेरिका मुछिएर विश्वयुद्ध निम्त्याई आफ्नै ‘स्वर्गको अन्त्य’ गर्न अमेरिका तयार नहोला ।
यस सन्दर्भमा अमेरिकी राष्ट्रपति बाइडेनले इजराइललाई संयमतापूर्वक इरानविरुद्ध आफ्नो रणनीति अपनाउन दिएको सुझाव निकै गम्भीर र अर्थपूर्ण रहेको छ । अमेरिका इजराइलको सबैभन्दा ठूलो र भरपर्दो संरक्षक सहयोगी शक्ति राष्ट्र हो । शनिबार इरानले प्रहार गरेको ३ सयभन्दा बढी ड्रोन र मिसाइल आकासमै निस्तेज पारेर अमेरिकाले इजरायलको रक्षा गरेको थियो ।
(विभिन्न अन्तर्राष्ट्रिय लेख तथा पत्रपत्रिकाका आधारमा)






