जुम्ला । जिल्लाकै ठूलो ताल गिडिदहको क्षेत्रफल पहिलोपटक सार्वजनिक भएको छ । जुम्लाको सबैभन्दा ठूलो ताल गिडिदहको क्षेत्रफल नापजाँच अध्ययन प्रतिवेदन तातोपानी गाउँपालिकाको आयोजनामा सार्वजनिक गरिएको हो ।
काठमाडौं विश्व विद्यालयले तयार पारेको गिडिदहको नापजाँच अध्ययन प्रतिवेदनअनुसार गिडिदहको कुल लम्बाइ १ हजार ५ सय १० मिटर र गहिराइ ४२ दशमलव ३ मिटर रहेको छ । यस्तै तालको चौडाइ ३ सय मिटर रहेको छ । काठमाडौं विश्वविद्यालयका उपप्राध्यापक रामदेवी तचामो शाहले तालको नापजाँच प्रतिवेदन सार्वजनिक गर्दै तालको दुई खण्डबीचको बहावको भाग २ सय मिटर लम्बाइ रहेको बताइन् ।

गिडिदह २ ९ दशमलव ११ हेक्टर क्षेत्रफलमा फैलिएको उनले जानकारी दिइन् । कुल १५ लाख बजेटमा काठमाडौं विश्वविद्यालयले नापजाँच प्रतिवेदन तयार गरेको तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थ कठायतले बताए । साबिक कर्णाली क्षेत्रकै तेस्रो ठूलो ताल गिडिदहको प्रवद्र्धन र संर क्षणमा तातोपानी गाउँपालिकाका सामु जिम्मेवारी थपिएको कठायतले बताए ।
तातोपानी–४ का वडाध्यक्ष अमर रोकायाले गिडिदहसम्म पुग्ने पैदल बाटो निर्माण भइसकेको बताए । ‘वरिपरि घना जंगल, बीचमा आकासे रङका दुई विशाल ताल, वन्यजन्तु र चराहरूको चिर बिर आवाजले गिडिदह पुग्ने जो कसैको मन लोभिने गर्छ, तर त्यहाँ पुग्न पाटनछेउसम्म सडक बनाउनुपर्ने देखिन्छ,’ वडा अध्यक्ष रोकायाले भने, ‘हाँकुमा पक्की पुल, गिडिदहको छेउमा वारपार गर्ने पुल बनाउनसमेत आवश्यक छ ।’
तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईले गिडिदहमा पर्यटक भित्र्याउन आफ्नो कार्यकालभित्र फुल्चौंल्यासम्म सडक निर्माण गरिसक्ने प्रतिबद्धता जाहेर गरेका छन् । पर्यटकका लागि पदमार्गमा सहजै खानेपानी, सञ्चार, पुलपुलेसा र धर्मशाला हुनुपर्ने स्थानीयले सुझाव दिएका छन् ।
२०७९ सालमा जुम्लाको इतिहासमा पहिलोपटक गिडिदहमा सरकारी टोली पुगेको थियो । जुम्लाकै ठूलो तर गुमनाम तालमा पहिलोपटक तातोपानी गाउँपालिकाका जनप्रतिनिधि, सञ्चारकर्मी पुगेर ६ असोज २०७९ बिहान गिडिदह सम्मेलन सम्पन्न भएको थियो ।






