पोखरा । तनहुँ सदरमुकाम दमौलीको मुख्य बजार पृथ्वी राजमार्गअन्तर्गत फलफूल चोकमा गएराति भीषण आगलागी भएको छ । आगालागीका कारण १२ घरका २० सटर जलेर नष्ट भएका छन् । करोडौं रुपैयाँ बराबरको क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार गएराति करिब पौने १ बजेदेखि सुरु भएको आगलागी ३ बजेमात्र नियन्त्रणमा आएको हो । प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी दीपककुमार रायले आगलागीले ब्यास नगरपालिका वडा ३, तरकारी लाइनमा रहेका अधिकांश मोबाइल पसल, तरकारी पसल, पुस्तक पुसलहरु जलेर नष्ट भएको बताए ।
आगो नियन्त्रणमा लिन स्थानीयसहित, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल खटिएका थिए । साथै, तनहुँ हाइड्रोपावर, मुग्लिन पोखरा सडक आयोजनाअन्तर्गत सिसिसिसी र व्यास नगरपालिकाको गरी ४ वटा दमकल प्रयोग गरिएको थियो ।
विद्युत् चुहावट हुँदा आगलागी भएको प्रारम्भिक अनुमान प्रहरीको छ । आगलागी’bout थप अनुसन्धान तथा क्षति विवरण संकलन भइरहेको डिएसपी रायले बताए ।






