धनगढी । शिखर इन्सुरेन्स कम्पनी लिमिटेडले धनगढीका विपन्न बालबालिकाको शैक्षिक गुणस्तर सुधार्न आर्थिक सहयोग गरेको छ । विपन्न परिवारका बालबालिकाहरुको लागि विद्यालय पोसाक तथा पाठ्य सामग्री खरिदका लागि भनेर गुरुङले १३ लाख १५ हजार रुपैयाँ ‘धनगढी नगरप्रमुख शैक्षिक सुधार कोष’ मा आर्थिक सहयोग गरेको हो ।
निजी क्षेत्रको सो इन्सुरेन्स कम्पनीले ‘धनगढी नगरप्रमुख शैक्षिक सुधार कोष’ मा शैक्षिक गुणस्तर सुधार कार्यक्रम सञ्चालनका लागि छनौट भएका नमुना विद्यालयका २५० जना बालबालिकाका लागि पोसाक तथा पाठ्य सामग्री खरिद गर्न सो रुपैयाँ सहयोग गरेको जनाएको छ । सो रकम बराबरको चेक बुधबार इन्सुरेन्सका सुदूरपश्चिम प्रदेश प्रमुख डिल्लीराज शर्माले धनगढी नगर प्रमुख गोपाल हमाललाई हस्तान्तरण गरे ।
विपन्न परिवारका बालबालिकाहरुको पठनपाठनका लागि भनेर धनगढी उपमहानगरपालिकाले नगरप्रमुख शैक्षिक सुधार कोष स्थापना गरेको हो । कोषमा आर्थिक सहयोग गर्नेहरूको संख्या बढ्दै गएको धनगढी उपमहानगरपालिकाले जनाएको छ ।
धनगढी उपमहानगरपालिकाले ग्रामीण क्षेत्रका विद्यालयलाई छनौट गरी नमुना विद्यालय बनाउन पहल चालेको छ । ती विद्यालयमा अध्ययनरत छात्रछात्राहरु आर्थिक अभावका कारण ‘ड्रप आउट’ हुन नपरोस् भनेर नगरप्रमुख शैक्षिक सुधार कोष स्थापना गरेको हो ।
कोषमा उपलब्ध रकमले विपन्न परिवारका बालबालिकाकाहरुलाई विद्यालय पोसाक तथा पाठ्य सामग्री उपलब्ध गराई ‘ड्रप आउट’ रोक्न सहयोग पुग्ने र उनीहरुको शैक्षिक गुणस्तरमा सुधार आउने उपमहानगरनगरपालिकाको भनाई रहेको छ ।






