धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले विपन्न बालबालिकाहरुको नियमित पठनपाठन तथा शैक्षिक गुणस्तर सुधार्न भनेर स्थापना गरिएको ‘नगर प्रमुख शैक्षिक सुधार कोष’ मा आर्थिक सहयोग गर्नेको संख्या बढ्दै गएको छ ।
आर्थिक अभावका कारण विद्यालय पोसाक, शैक्षिक सामग्री लगायतका सामान जोहो गर्न समस्या भएका विपन्न परिवारका बालबालिकाहरुको पठनपाठनमा सघाउन उपमहानगरपालिकाले ‘नगर प्रमुख शैक्षिक सुधार कोष’ स्थापना गरेको हो ।
कोषमा हालसम्म ४० लाख ६३ हजार २५० रुपैयाँ जम्मा भएको छ । कोषमा विभिन्न संघसंस्था तथा ब्यक्तिले आर्थिक स्वस्फूर्तरूपमा सहयोग गर्दै आएको र सहयोगी सङ्ख्या बढ्दै गएको उपमहानगरपालिकाले जनाएको छ ।
उपमहानगरपालिकाले ग्रामीण क्षेत्रका विद्यालयलाई छनौट गरी नमुना विद्यालय बनाउन थालेको छ । ती विद्यालयमा अध्ययनरत छात्रछात्राहरु आर्थिक अभावका कारण ‘ड्रप आउट’ हुन नपरोस् भनेर ‘नगर प्रमुख शैक्षिक सुधार कोष’ स्थापना गरिएको धनगढी नगर प्रमुख गोपाल हमालले बताए ।
नगर प्रमुख हमालले विपन्न परिवारका बालबालिकाहरुको शैक्षिक गुणस्तर सुधार्न हरसम्भव प्रयास गरिने बताए । उनले उपमहानगरपालिकाले मात्र शिक्षामा लगाउन नसक्ने भएकोले विपन्न परिवारका बालबालिकाहरुको नियमित पठनपाठनका साथै शैक्षिक गुणस्तर सुधार्न आफूले सक्ने जति न’गर प्रमुख शैक्षिक सुधार कोष’ मा सहयोग गर्न आग्रह गरेका छन् ।
कोषमा उपलब्ध रकमले विपन्न परिवारका बालबालिकाकाहरुलाई विद्यालय पोसाक तथा पाठ्य सामग्री उपलब्ध गराई ‘ड्रप आउट’ रोक्न सहयोग पुग्ने उपमहानगरनगरपालिकाको भनाई रहेको छ ।





