काठमाडौं । एक लाख राशिको हेम–सरिता पाठक अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार २०८१ गीत ‘जनतालाई रुवायो’लाई प्रदान गरिने भएको छ । अमेरिकाको टेक्ससमा रहेको हेम सरिता पाठक फाउन्डेसनले यो घोषणा गरेको हो । फाउन्डेसनले भ्रष्टाचार विरुद्धको गीत प्रतियोगिताको आह्वान गरेको थियो । सो अह्वानमा प्राप्त गीतहरु मध्यबाट जनतालाई रुवायो गी उत्कृष्ट भएको फाउन्डेनले जनाएको छ ।
हेम सरिता पाठक फाउन्डेसन नेपालका अध्यक्ष राधेश्याम लेकालीले एक विज्ञप्ति मार्फत सो निर्णय सार्वजनिक गरेका छन् । अमेरिकाको टेक्सासमा स्थापित हेम–सरिता पाठक फाउन्डेसनले सो पुरस्कारको स्थापना गरेको हो ।
पुरस्कृत गीतमा अग्रज पत्रकार गोपालप्रसाद थपलियाको शब्द र गायक एवं संगीतकार शिशिर योगीको संगीत रस्वरमा रहेको छ । भ्रष्टाचार सम्बन्धि गीत छनौटको लागि अग्रज गायक प्रेमराजा महतको संयोजनमा गठित सिफारिस समितिले जनतालाई रुवायोलाई उत्कृष्ट घोषणा गरेको पनि अध्यक्ष लेकालीले बताएका छन् । उत्कृष्ट २५ चयन गरेर त्यसबाट यो गीतलाई पुरस्कृत गरिएको पनि उनले बताए ।
१५ असोज २००६ मा दोलखामा जन्मेका अग्रज पत्रकार गोपाल थपलियाले आफ्नो गीत उत्कृष्ट भएकोमा खुसी व्यक्त गरेका छन् । थपलियाको भ्रष्टाचार बिरुद्धका ४ र देशभक्तिका ७ गीतहरु आईसकेका छन् ।
यसैबीच प्रतिष्ठानले दुई लाख राशिको ‘टंकप्रसाद रमादेवी पाठक पत्रकारिता पुरस्कार’को पनि घोषणा गरेका छ । पत्रकारद्वय मातृका दाहाल र दीपा दाहाललाई संयुक्त रुपमा यो पुरस्कार प्रदान गर्ने निर्णय भएको पनि अध्यक्ष राधेश्याम लेकालीले बताएका छन् । यी दुबै पुरस्कारलाई काठमाडौंमा चाँडै नै एक समारोहबीच प्रदान गरिने भएको छ ।






