बीपी कोइराला एक प्रजातन्त्रवादी राजनेता मात्र थिएनन्, त्यति नै राष्ट्रवादी पनि थिए । राष्ट्रियताको सवालमा बीपीले निकै गम्भीर र दूरदर्शी विचारहरू व्यक्त गरेका छन् । जुन विचारहरू अहिले पनि उत्तिकै सान्दर्भिक र मननयोग्य छन् ।
बीपीले भनेका छन्– एकीकरणपछि नेपालले एउटा आधुनिक भूगोल निर्धारित ग¥यो, एउटा देश गठन भयो, यस निर्धारित सिमानामा बस्ने अनेकौं धर्म, भाषा र संस्कृतिहरू अपनाउने यावत् जातजातिहरूको, एउटा देश, नेपालको उदय त भयो, तर बहुुजाति, बहुभाषी, बहुसंस्कृति तथा जैविक विविधताको यो देश ती सबै जातजातिहरूको साझा फूलवारी हुन सकेन, एक राष्ट्र बन्न सकेन ।
शरीरको ढाँचा खडा त भयो, त्यसमा आत्मा प्रवेश हुन सकेन, फ्रेम बनाइयो तर तस्बिर राखिएन, भाँडो कुँदियो, तर त्यसभित्र राखिने तत्व राखिएन । तसर्थ, नेपालको राष्ट्रियताको इतिहासमा १८१६ सालपछिको काललाई, नेपाली भाषाको विकासलाई छोडेर मरुभूमिको युग भने पनि हुन्छ ।
बीपीको विचार प्रस्ट थियो । प्रजातान्त्रिक शासन व्यवस्थाले नै नेपाललाई सबै जातजातिहरूको फूलबारी बनाउने उनको दाबी थियो । त्यसैले त बीपीले आफ्नो अन्तिम साससम्म नेपालमा प्रजातन्त्र स्थापना गर्ने लडाइँ लडिरहे । उनी कहिल्यै थाकेनन्, कहिल्यै हारेनन् । उनका लागि प्रजातन्त्र निर्विकल्प थियो ।
राष्ट्र, राष्ट्रियता र प्रजातन्त्र अन्योन्याश्रित भएको जनाउँदै बीपीले भनेका नै छन्– प्रजातन्त्रबिना देश रहँदैन । प्रजातन्त्र नभईकन वर्तमान युगमा राष्ट्रियता सम्भव छैन । विकास पनि सम्भव छैन । जसरी राष्ट्रियता र प्रजातन्त्र अन्योन्याश्रित छ, त्यसैगरी राष्ट्रियता, आर्थिक विकास र प्रजातन्त्र तीनै एउटा अर्कोमा आश्रित छन् । देश भन्नुहोस् चाहे राष्ट्र भन्नुहोस्, त्यो भूगोल होइन, माटो होइन । त्यो यथार्थमा जनता हो । जुन कुराले जनताको हित हुन्छ, त्यही कुरो देश हितको कुरो हो ।
बीपीले राष्ट्रियता, आर्थिक विकास र प्रजातन्त्रलाई पनि एक अर्कोमा आश्रित ठानेका छन्
बीपीले राष्ट्रियता, आर्थिक विकास र प्रजातन्त्रलाई पनि एक अर्कोमा आश्रित ठानेका छन् । हुन पनि हो, आर्थिक विकासबिना न त राष्ट्रियता मजबुत हुन्छ, न त प्रजातन्त्र दिगो हुन्छ । त्यो ’cause कुनै पनि नागरिक भोको पेट र नांगो आङले राष्ट्रियताको माला जपेर बस्न सक्दैन ।
एउटा हिन्दी चलचित्र छ, चक्रब्यूँह, जसका नायक राजेश खन्ना प्रहरीबाट बच्न भाग्दै हिँडेका हुन्छन् । भाग्दाभाग्दै राति एउटा गाउँमा पुग्छन् । भोकतिर्खाले बिल्लीबाठ राजेश एउटा घरभित्र पस्छन् । घरमा एक जना बूढो व्यक्ति र उसकी तरुनी पत्नी मात्र हुन्छिन् । त्यसै बखत खेतमा गाई पसेको थाहा पाएपछि बूढो खेततिर दौडिन्छन् ।
अब घरमा बूढाकी तरुनी पत्नी मात्र हुन्छिन् । आफ्नो अगाडि जवान राजेश खन्नालाई देखेपछि बूढाकी पत्नीले काम भावनाले उनलाई आफूतिर आकर्षित गर्न खोज्छिन् । राजेश बिस्तारै उनीतिर बढ्छन् । बूढाकी पत्नी निकै कामोत्तेजित हुन्छिन् । राजेश उनीनजिकै पुग्छन् र झटपट अगाडि राखेको भातको भड्डु उठाएर कपाकप भात खान थाल्छन् ।
हो, गाँस, बास, कपास नै मानिसको पहिलो आवश्यकता हो । यही गाँस, बास, कपासका लागि नै ५०औं लाख नेपाली युवाहरू रोजगारीका लागि विदेश गएका छन् । विकसित राष्ट्रमा पुगेका थुप्रै नेपालीहरूले विदेशी नागरिकतासमेत लिएका छन् । के अमेरिका, बेलायत तथा अस्ट्रेलिया आदिजस्ता राष्ट्रहरूको नागरिकता लिने नेपालीहरूलाई नेपालको माया नभएको हो र ?
एकपटक कल्पना गरौं त अमेरिका, क्यानडा, बेलायत, अस्ट्रेलिया, जापान, कोरिया तथा युरोपका मुलुकहरूले नेपालीका लागि प्रवेश खुला गरिदिए भने कति नेपाली नेपालमा रहलान् ? यो गम्भीर मनोविज्ञान हो ।
तर, यो गहन मनोविज्ञानलाई बुझ्ने र आत्मसात गर्ने हैसियत अहिलेका नेताहरूमा देखिँदैन । कुनै पनि समस्याको जरो पत्ता नलगाईकन त्यसको स्थायी समाधान निक्लिँदैन । प्रजातन्त्र आयो, लोकतन्त्र आयो, गणतन्त्र आयो, संघीयता पनि आयो । तर, मुलुकको समस्या भने जस्ताको तस्तै छ, राष्ट्रियता झनै कमजोर भएर गएको छ । राष्ट्रियताको मनोविज्ञानलाई नबुझी मुलुकको आर्थिक विकासतिर नलाग्ने हो भने राष्ट्रपति पद्धति तथा प्रत्यक्ष प्रधानमन्त्री जे जस्तो व्यवस्था भए पनि केही हुनेवाला छैन ।
नेपालको राष्ट्रियतालाई सम्भवतः बीपीले जति अरू कसैले पनि बुझेका छैनन् । बीपीले भनेका छन्– राष्ट्रियता माटो होइन, जनताको सामूहिक भावना (विचार) हो । राष्ट्रियताको विवेचनामा सर्वप्रथम तत्व र अन्तिम तत्व पनि जनता हो । राष्ट्रियता जनताको सामूहिक मनोभावनालाई लक्षित गर्ने शब्द हो । सामूहिक रूपबाट समयमा आइपर्ने व्यापक समस्याहरूको समाधानमा लाग्नुपर्दा सहज किसिमले उत्पन्न हुने जनभावना नै राष्ट्रियता हो ।
राष्ट्रियताको यस परिभाषामा तीन तत्व सामेल छन्– जनताका व्यापक समस्या, त्यसको समाधानको सामूहिक प्रयत्न र त्यस प्रयत्नबाट सहज किसिमले उत्पन्न हुने भावनात्मक एकता । अर्को शब्दमा राष्ट्रियता भन्नाले लक्षित गर्ने तत्वहरू– जनता, तिनका अगाडि उपस्थित भएका समस्याहरू, ती समस्याहरूको सबैले मिलेर समाधान गर्ने दिशापट्टिको सामूहिक प्रयत्न र त्यस प्रयत्नमा अनुभव गरेको एकताको भावना । यसरी राष्ट्रियताको विचार गर्दा भूगोलको भूमिका गौण भएर जान्छ ।
बीपीले अगाडि भनेका छन्– राष्ट्रियताको भावनात्मक विकास एउटै विचारधाराको प्रचारले हँुदैन, त्यो विकासको क्रम द्वन्द्वात्मक हुन्छ । विचारको संघर्ष राष्ट्रिय हितका सम्बन्धमा मतभिन्नताबाट निस्केको त्यो सामूहिक निर्णयको फराकिलो शिलाखण्डमा राष्ट्रियतको भावना गहिरिँदै, बाक्लिँदै र फराकिलो हँुदै दृढत्तर हुँदै जान्छ ।
लोकतन्त्र र मुलुकको अस्तित्व रक्षार्थ हरेक पार्टीका सक्षम, इमानदार र राष्ट्रवादी नेता एकढिक्का भएर आआफ्नो पार्टीमा हस्तक्षेप गर्नुको विकल्प छैन
३३ सालमा बीपी राष्ट्र र राष्ट्रियताका लागि नै आफ्नो ज्यान हत्केलामा राखेर नेपाल फर्किएका थिए । बीपीको मेलमिलापको नीति कसैका विरुद्धमा थिएन । यो त राष्ट्र र राष्ट्रियतालाई कमजोर हुन नदिन बीपीले चालेको एक ऐतिहासिक र साहसिक कदम थियो ।
त्यस बखत बीपीले भनेका थिए– हिजोसम्म हाम्रो संघर्ष जनताको प्रजातान्त्रिक अधिकारका लागि मात्र थियो, त्यसो हुनाले हामीले प्रजातान्त्रिक पक्षमा मात्र बढी जोड दियौं, आज यसमा एउटा नयाँ आयाम थपिएको छ, नेपाली कांग्रेसलाई आज दोहोरो जिम्मेवारी आइपरेको छ, यो दोस्रो जिम्मेवारी हो, मुलुकको अस्तित्वको रक्षा गर्ने ।
अहिले पनि नेपाली कांग्रेसको मात्र होइन, सम्पूर्ण राजनीतिक दलहरूको काँधमा दोहोरी जिम्मेवारी नै आइपरेको छ । पहिलो हो, एकजुट भएर दु्रत आर्थिक विकासतिर अघि बढ्ने । दोस्रो हो, लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाई देशको अस्तित्वको रक्षा गर्ने ।
सबैले मनन गर्नुपर्ने तथ्य के हो भने मुलुकको आर्थिक विकासबिना न त लोकतन्त्र संस्थागत हुन्छ, न त नेपाली राष्ट्रियता मजबुत हुन्छ । त्यसैले, नेपाल राष्ट्र र नेपाली राष्ट्रियतालाई जोगाउँदै नेपाललाई समृद्धशाली बनाउने हो भने लोकतान्त्रिक मूल्य र मान्यतामा अडिग भई मुलुकको आर्थिक विकासमा कम्मर कसेर लाग्नुको विकल्प छैन ।
तर, यसका लागि प्रमुख राजनीतिक पार्टीहरू रूपान्तरण हुन जरुरी छ । पटकपटक सत्ता सम्हालेका शेरबहादुर देउवा, केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ आदिजस्ता नेताहरूप्रति अब आमजनताको रतिभर आशा र भरोसा छैन । त्यसैले जालझेल, तिकडम गरेर साधन, स्रोत र सत्ताको दुरुपयोग गरेर यसरी नै यी पात्रको हातमा नै सत्ता रहिरह्यो भने विकास होइन, झन् विनाश हुनेछ, देश भयंकर दुर्घटनामा पर्नेछ ।
अतः बीपीले भनेझैं लोकतन्त्र र मुलुकको अस्तित्वको रक्षा गर्न अब हरेक पार्टीका सक्षम, इमानदार र राष्ट्रवादी नेताहरू एकढिक्का भएर आआफ्नो पार्टीमा हस्तक्षेप गर्नुको कुनै विकल्प छैन । यसको सुरुवात बीपीको पार्टी, नेपाली कांग्रेसले गर्नुपर्छ । होइन भने हेर्दाहेर्दै नेपाली कांग्रेसको नेतृत्व आरजु राणाको हातमा पुगे आश्चर्य नमाने हुन्छ ।






