मकवानपुर । बाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आज (मंगलबार) विश्वासको मत लिने भएका छन् ।
नेकपा एमाले र नेपाली कांग्रेस गठबन्धनबाट लामा ८ साउनमा मुख्यमन्त्री नियुक्त भएका थिए । लामाले १५ साउन (आज) विश्वासको मत लिने पत्र प्रदेशसभा सचिवालय हेटौंडामा १३ साउनमा दर्ता गराएका थिए ।
मुख्यमन्त्री नियुक्त भएका उनले ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सोहीनुसार मुख्यमन्त्री लामाले विश्वासको मत लिने प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएका हुन् ।
मुख्यमन्त्री लामाले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम संसद्बाट विश्वासको मत लिने तयारी गरेका हुन् ।
प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले आज (मंगलबार) दिउँसो ३ बजेका लागि संसद् बैठक आह्वान गरेका छन् । १२ साउनमा एक जना बिनाविभागीयमन्त्रीसहित सरकारलाई पूर्णता दिएका मुख्यमन्त्री लामालाई एमालेका २७ र कांग्रेसका ३७ सांसदको समर्थन रहेको छ ।






