स्टोकहोम सिन्ड्रोम समाज

के कोही कसैले आफैंलाई अपहरण गर्ने व्यक्तिलाई माया गर्न सक्दछ ? के यस्तो अपहरणकारीप्रति सहानुभूति प्रकट हुन सक्दछ ? के यस्तो अपराधीसँग भावनात्मक रूपमा जोडिन सक्दछ ? के जसले आफैंलाई अपहरण गरेको छ, उसैका लागि व्यक्ति ज्यान दिन तत्पर हुन्छ ?

फिल्ममा त यस्ता दृश्यहरू धेरै देख्न पाइन्छ । फिल्मकै कुरा गर्ने हो भने पुरानो हिन्दी फिल्म हिरोमा जैकी श्राफले मिनाक्षीलाई अपहरण गर्दछ । तर, अपहरणकारी जैकीसँग मिनाक्षीको प्रेम बस्दछ । यसैगरी हिन्दी फिल्म हाइवेमा अपहरणकारी रणदीपसँग आलिया भट्टको प्रेम बस्दछ । नेपाली फिल्ममा पनि यस्ता दृश्यहरू देख्न पाइन्छ । शिव श्रेष्ठको पाकिस्तानी फिल्म जमीन आसमानमा शिव श्रेष्ठकी बैनी सवितालाई नदिमले अपहरण गर्दछ । तर, पछि नदिमसँग सविताको प्रेम बस्दछ । नदिम र सविताको प्रेम यति गहिरो हुन्छ कि नदिमका लागि सविताले आफनो ज्यान दिन तयार हुन्छिन् ।

यो त भयो फिल्मी संसारको काल्पनिक कुरा । तर, अब प्रश्न उठ्छ, के यस्ता घटनाहरू वास्तविक जीवनमा सम्भव छ ? यसको उत्तर हो, सम्भव छ । र, यसलाई पुष्टि गर्न २३ अगस्ट १९७३ मा स्विडेनको राजनधानी स्टोकहोममा घटेको बैंक डकैतीको एक घटना हरौं ।

जैन एरिक ओल्सन नामक क्रिमिनल एक साथीलाई लिएर बैंक डैकती गर्ने उद्देश्यले दिउँसै स्टोकहोमस्थित एक बैंकभित्र पस्छ । दुवै जनाको हातमा मेसिनगन हुन्छ । बैंक डैकतीका दौरान उसले सुरक्षाकर्मीलाई घायल बनाइदिन्छ भने चार जना सेवाग्राहीलाई बन्धक बनाएर बैंकको एक कोठामा थुन्छ ।

प्रहरीहरू आउँछन् । चारैतिरबाट बैंक घेर्छन् । ओल्सनलाई आत्मसमर्पणको आदेश दिन्छन् । तर, ओल्सनले प्रहरीसमक्ष आफ्ना मागहरू राख्दछ ः आफ्नो साथीको रिहाइ, तीन मिलियन स्विडिस क्रोनोर, दुईवटा कार, गन, बुलेट प्रुफ ज्याकेट तथा बन्धक बनाएका व्यक्तिलाई त्यहाँबाट लिएर जाने बाटो । यदि, उसको माग पूरा गरिएन भने एक महिलासहितका चार बन्धकलाई यातना दिएर मार्ने धम्की दिन्छ ।

प्रहरी प्रशासन चार बन्धकलाई आफैसँग लिएर जाने ओल्सनको मागबाहेक अन्य सबै मागहरू पूरा गर्न तयार हुन्छन् । तर, ओल्सन चार बन्धकलाई छोड्न तयार हुँदैन । प्रहरीहरूले चार बन्धकलाई कसरी छुटाउने भनेर अनेक उपाय अनाउँदै हुन्छन् । यस घटना टिभीमा प्रत्यक्ष प्रसारण भइरहेको हुन्छ । प्रत्यक्ष देख्ने र भिटीमा हेर्नेहरू कतै ओल्सनले चार निर्दोष व्यक्तिलाई यातना दिने र मार्ने त होइन भनेर डराइरहेका हुन्छन् ।

तर, बन्धकहरू राखिएको कोठाभित्रको वातावरण भने निकै भिन्न हुन्छ । ओल्सनले चारै जना बन्धकको खुब ख्याल राखेको हुन्छ । यतिसम्म कि जाडोले थर्थरी काँपेको एक व्यक्तिलाई आफ्नो ज्याकेट खोलेर लगाउन दिन्छ । दुई, चार दिनमै बन्धक ओल्सनसँग निकै घुलमिल भइसकेका हुन्छन् । बन्धक ओल्सनसँग होइन कि प्रहरीसँग डराइरहेका हुन्छन् ।

बन्धकले ओल्सनलाई केही नगर्नुहोला यसले हामीलाई केही पनि गरेको छैन भनेर प्रहरीसँग भने

यसैबीच एक बन्धकले स्विडेनका तत्कालीन प्रधानमन्त्री ओलोफ पाल्मेलाई फोन गरेर भन्छन्, ओल्सनले आफूसँग एक जनालाई मात्र लिएर जाने माग गरेको हो । ऊसँग जान म तयार छु । हामीलाई ओल्सनसँग कुनै डर छैन । बरु प्रहरी अप्रेसनमा उसको ज्यान जाने हो कि भन्ने डर लागिरहेको छ । बन्धकको यस्तो कुरा सुनेर प्रधानमन्त्री नै चकित भए ।

६ दिन बित्यो । न त प्रहरी प्रशासनले उसका सबै मागहरू पूरा गर्यो न त ओल्सनले आत्मसमर्पण गर्यो । प्रहरीले भित्रको वातावरण राम्र्रो आँकलन गरेपछि एकाएक अश्रुग्याँस छोड्यो । अश्रुग्याँस छोडेको एक घण्टापछि ओल्सन आत्मसमर्पण गर्न तयार भयो । तर, अचम्मको कुरा के भने अन्तिम समयसम्म बन्धकहरू नै ओल्सनको ढाल बनेर उसको सुरक्षा गरिरहे । अन्त्यमा प्रहरीले ओल्सनलाई गिरफ्तार गर्यो । बन्धकले ओल्सनलाई अँगालो हाले र प्रहरीलाई भने कृपया ओल्सनलाई केही नगर्नू होला, यसले हामीलाई केही पनि गरेको छैन ।

अझ अचम्म कुरा के भने ती बन्धकले ओल्सनलाई केस लड्न पैसा जम्मा गरेर दिए । बेलाबेलामा उसलाई भेट्न जेल गइरहे ।

प्रत्यक्ष प्रसारण भएको यस घटनाले संसारभरिका मानिसलाई हैरान बनायो कि ‘किड्न्याप’ भएका व्यक्तिहरूले ‘किड्न्यापर’प्रति कसरी यस्तो प्रेम र सहानुभूति प्रकट गर्न सक्छन् । यस घटनाले थुप्रै मनोवैज्ञानिकको ध्यान खिच्यो । र, उनीहरू यस घटनाको अध्ययन अनुसन्धानमा जुटे । मनोवैज्ञानिक तथा अपराधशास्त्री डा. निल्स बेजेरोटले कतिपय मानिसमा देखिने यस प्रकारको मनोदशालाई स्टोकहोम सिंड्रोमको नाम दिए ।

मनोवैज्ञानिक दृष्टिमा स्टोकहोम सिंड्रोम एक यस्तो मनोदशा हो, जसमा आफ्नै अपहरण गर्ने अपहरणकारीप्रति बन्धक भावनात्मक रूपमा जोडिन्छ, उसप्रति सहानुभूति देखाउँछ, उसलाई अपहरणकारी मन पर्न थाल्छ र कतिपय अवस्थामा, हिन्दी फिल्मको हिरोझैं अपहरणकारीसँग प्रेम हुन्छ ।

सरल शब्दमा भन्नु पर्दा स्टकहोम सिन्ड्रोम कुनै मानसिक स्वास्थ्य विकार वा सिन्ड्रोम होइन, यो एक मनोवैज्ञानिक प्रतिक्रिया हो, जसलाई पीडित र पीडक वा अपहरणकर्तासँगको भावनात्मक संलग्नताद्वारा चित्रण गर्न सकिन्छ । यो सहानुभूति, कृतज्ञता, र कहिलेकाहीं, डर र नियन्त्रणको अवस्थाबीच दुव्र्यवहार गर्नेप्रतिको स्नेह जस्ता सकारात्मक भावनाको विरोधाभाषी मिश्रणका रूपमा प्रकट हुनेगर्छ । तर, यो हरेक उत्पीडनको घटनामा भने देखापर्दैन ।

स्टकहोम सिन्ड्रोमको मूल कारण अझै अज्ञात नै छ । त्यसो त यस मनोवैज्ञानिक प्रतिक्रिया अनेक कारणको उपज हुन सक्दछ । सबैभन्दा महत्वपूर्ण कारण हो, जीवनरक्षा । यसलाई जीवनमरणको परिस्थितिमा पीडक वा अपहरणकारीसँग सम्बन्ध विकास गर्दा पीडित व्यक्तिको बाँच्ने सम्भावना बढ्ने मनोविज्ञानका रूपमा लिन सकिन्छ ।

राजनीतिमा स्टोकहोम सिंड्रोम झनै बढिरहेको देखिन्छ, काँधमा चढेको नेताले टाउकामा हान्दा पनि उसको जयजयकार भइरहन्छ

पीडितले पीडकप्रति सकारात्मक भावना राख्नु, पीडितमा कानुनसँग सम्बन्धित अधिकारीप्रति नकारात्मक भावनाहरू विकास हुनु तथा पीडितले दुव्र्यवहार गर्नेको मनसाय बुझ्न र उनीहरूको लक्ष्यमा विश्वास गर्न थाल्नु स्टकहोम सिन्ड्रोमका प्रमुख लक्षणहरू हुन् ।

स्टोकहोम सिंड्रोम कुनै मानसिक समस्या नभए तापनि कुनै पनि व्यक्ति कुनै पनि बेला यसको सिकार हुन सक्दछ । ठुल्ठुला अपहरण र डैकतीका घटना वा फिल्महरू मात्र होइन, गहिरिएर हेर्ने हो भने समाजको हरेक क्षेत्रमा स्टोकहोम सिंड्रोम देख्न सकिन्छ ।

स्टोकहोम सिंड्रोम शिक्षामा, स्वस्थ्यमा, खेलकुदमा, राजनीतिमा तथा घरभित्र घरेलु हिंसा देख्न सकिन्छ । घरभित्र स्टोकहोम सिंड्रोम तब देखिन्छ, जब घरेलु हिंसाबाट पीडित महिला आफ्नो यस्तो पतिको पनि बचाऊ गर्छिन्, जसले उनलाई कुटपिट गर्दछ, यातना दिन्छ, घरमा बन्दी बनाएर राख्छ, उनको यौन शोषण गर्छ । तर, आफ्नो पीडक अपराधी पति’bout उनको धारण के हुन्छ भने वास्तवमा ऊ दिलको असल मान्छे हो । कहिलेकाहीं मेरो कारण नै ऊ क्रोधमा आउँछ । गल्ती मेरो नै हो । यस्ता महिलाले आफूले आफैंलाई दोषी ठह-याउँछन् र आफैंलाई बदल्न खोज्छन् । तर, पनि पतिको शोषण भने कम हुँदैन ।

राजनीतिमा त स्टोकहोम सिंड्रोम झनै बढी देखिन्छ । काँधमा चढेको नेताले टाउका हन्दा पनि उसको जयजयकार गर्ने र उसको पक्षमा वकालत गर्ने कार्यकर्ता तथा कनिष्ट नेताको मनस्थिति पनि स्टोकहोम सिंड्रोम नै हो । विदेशले लात हान्दा पनि उसको पाउ समाउनु भनेको पनि स्टोकहोम सिंड्रोम नै हो । तर, रणनीतिका रूपमा यस्तो कार्य गरिन्छ भने त्यो स्टोकहोम सिंड्रोम होइन ।

तपाइको प्रतिक्रिया
(Visited 78 times, 1 visits today)

epaper

ताजा समाचार

विद्यार्थीलाई अनिवार्य ४५ प्रतिशत गाडी भाडा छुट दिन सरकारको निर्देशन