तल्लो चिप्ला गाउँका ४५ घरपरिवार पहिरोको उच्च जोखिममा

लमजुङ । लमजुङमा पहिरोका कारणले गर्दा एक गाउँका ४५ घरपरिवार सबै जोखिममा परेका छन् । जिल्लाको उत्तरी क्षेत्रमा रहेको मस्र्याङ्दी गाउँपालिका– ५ तल्लो चिप्लागाउँ पहिरोको उच्च जोखिममा परेको जिल्ला विपद् व्यवस्थापन समितिले ठहर गरेको छ ।

छिमेकी र विद्यालयमा बास

तल्लो चिप्लास्थित डाँडागाउँ र गैरीगाउँ पहिरोको जोखिममा परेका ४५ घरपरिवारले रातको समयमा छिमेकीको घर र विद्यालयमा रात बिताउने गरेका छन् । त्यस स्थानमा १२ साउन रातिदेखि पहिरो चल्न थालेको गाउँलेले बताए । ‘गाउँमाथि करिब एक–डेढ सय मिटरमाथि धाँजा फाट्नुका साथै पहिरो बग्न थालेपछि गाउँका बासिन्दाले रातको समय घर छाडेका छिमेकी र आफन्तजनकामा तथा विद्यालयमा रात बिताउने थालेका छन्,’ सो वडाका अध्यक्ष घनश्याम घलेले भने ।

घलेका अनुसार पहिरोका कारण गाउँका ४२ घरधुरीका १ सय ८२ जना नजिकै डाँडागाउँ, विद्यालय र त्रिपालमुनि बसिरहेका छन् । उनले भने, ‘१२ साउन गाउँबाट माथि सय मिटरको दूरीमा जमिन धाँजा फाट्नुका साथै पहिरो चल्न थालेपछि तल्लो चिप्लाका बासिन्दा डराएर रातमा घरमा बस्न छाडेका हुन्, त्यहाँको अवस्था हेर्दा हामीले पनि घरमै बस भनेर गाउँलाई भन्नसक्ने अवस्थान छैन ।’

उनले यसको जानकारी आफूहरूले पालिका र जिल्ला प्रशासन कार्यालयमा पनि गरेपछि प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङको नेतृत्वमा जिल्ला विपद् व्यवस्थापन समितिका पदाधिकारीको टोलीले निरीक्षण गरेको बताए । निरीक्षणबाट फर्केपछि गाउँलेहरू त्रासपूर्ण अवस्थामा रहेको पाएको प्रजिअ गुरुङको भनाइ थियो । उनका अनुसार गाउँलेलाई स्थानान्तरण गर्नुपर्ने या नपर्ने ’boutमा गृह मन्त्रालयको विपद् व्यवस्थापन समितिलाई पत्र पठाउने काम भएको छ । प्रजिअ गुरुङले भने, ‘त्यो समितिको प्रविधिक टोलीले दिने प्रतिवेदनका आधारमा मात्र गाउँलेका लागि के गर्नु पर्ने भन्ने यकिन हुन्छ ।’

गाउँलेहरू बिहान घरमा जाने खाना खाने, दिनभर काम गर्ने र साँझमा पनि छिट्टै खाना खाएर छिमेकी र आफन्तकामा गएर रात बिताउने गरेको स्थिति यसै भन्नसक्ने खालको नभएको प्रजिअ गुरुङले उल्लेख गरे । यतिबेला लमजुङको लेखकका गाउँमा कोदो रोप्ने चटारो चलिरहेको छ । तल्लो चिप्ला पनि लेककै एक गाउँ हो, त्यसैले, यहाँका गाउँलेहरू पनि यतिबेला दिनभर काम गर्ने र साँझ छिटोछिटो खाना पकाएर खाई नजिकैको रहेको छिमेकी डाँडागाउँ, विद्यालय हातामा त्रिपालमा बस्न जाने गरेको स्थानीय गंगा मिलन माविका शिक्षकले बताए ।

उनका अनुसार गाउँले बस्नका लागि गैरीगाउँबाट १५ मिनेटजतिको बाटो डाँडागाउँमुनि मकैबारी फाँडेर बासका लागि त्रिपाल लगाउने काम भएको छ ।

तल्लो चिप्लाको गैरीगाउँ पहिरोको चपेटामा परेको र गाउँका बासिन्दा डराएको वडाध्यक्ष घलेश्याम घलेले बताए । उनका अनुसार ती गाउँलेका लागि तत्काल गाउँपालिकाले २५, जिल्ला प्रशासन कार्यालयले ४ र नेपाल रेडक्रस सोसाइटीले १० वटा त्रिपाल स्थानीयलाई दिएको र त्यसैबाट बासको गुजारा चलाइएका छन् । उनले भने, ‘केहीलाई डाँडामा रहेको बाल विकास प्राविमा सुत्ने व्यवस्था मिलाइएको छ ।’

पहिरोको अवस्था र गाउँलेको मनस्थिति अनुगमनपछि प्रमुख जिल्ला अधिकारी गुरुङले गाउँ उच्च जोखिममा परेको र सुरुमा नागरिकको ज्यान बचाउन सुरक्षित स्थानतर्फ गाउँलाई व्यवस्थापन गरिएको बताए ।

मस्र्याङ्दी गाउँपालिका–५ मा रहेको तल्लो चिप्लामा गैरीगाउँ र डाँडागाउँ गरी दुई गाउँ रहेको र अहिलेको समस्या भनेको गैरीगाउँको रहेको सो गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताए । उनका अनुसार जिल्ला विपद् व्यवस्थापन समितिमार्फत गैरीगाउँको पहिरो र गाउँ रहेको स्थानको विशेषज्ञ टोलीले अध्ययन गर्न आवश्यक रहेको र सो टोली छिट्टै आउने आशामा गाउँलेप्रतीक्षारत रहेका छन् ।

उनले भने, ‘आज पनि म त्यही गाउँमा पुगेर फर्केको हुँ, धाँजा फाटेको ठाउँ झन् फराकिलो भएको र त्यो गाउँ नजिकको खोल्सामा पहिरो चल्ने थालेको हुँदा जोखिम थप बढेको अनुभव भयो ।’ गाउँ बढी भिरालो ठाउँमा भएको हुँदा पनि समस्या जटिल भएको उनले बताए । तल्लो चिप्ला गाउँका ४५ घरपरिवार जोखिममा रहेको पालिकाले सिफारिस गरेको वडाध्यक्ष गुरुङले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 144 times, 1 visits today)

epaper

ताजा समाचार

कार्यालयभित्रै मादक पदार्थ सेवन गरेको आरोपमा ३ कर्मचारीसहित ५ जना पक्राउ