बंगलादेश पाकिस्तानबाट अलग भएको हो । अंग्रेजको शासनबाट सन् १९४५ मा भारत स्वतन्त्र हुँदा हिन्दुस्तान र पाकिस्तानका नाममा दुई देश विभक्त भए । पाकिस्तानमा हालको पाकिस्तान र बंगलादेश रहे भने आजको भारत हिन्दुस्तान बनेर रह्यो ।
सन् १९७१ सम्म पाकिस्तान र बंगलादेश एउटै भएर पूर्वी पाकिस्तान र पश्चिमी पाकिस्तानका रूपमा रहे । तर, २६ मार्च १९७१ मा बंगलादेश छुट्टियो । बंगलादेशले स्वतन्त्रता प्राप्त गरेको ४ वर्षपछि १९७५ अगस्टमा यसले आन्तरिक सैन्य विद्रोह खेप्यो । यस विद्रोहमा बंगलादेश राष्ट्रका संस्थापक नेता शेख मुजिबुर रहमानको हत्या गरियो । स्वतन्त्रता संग्रामको नेतृत्व गरेका रहमानको सपरिवारलाई सैनिक अधिकारीले हत्या गरे । यस घटनाले बंगलादेशको राजनीतिक परिदृश्यमा अर्कै परिवर्तन ल्यायो । त्यस बेलादेखि सैन्य हस्तक्षेपको शृंखला खेप्दै आएको छ, बंगलादेशले ।
रहमानको हत्यापछिको सैन्य विद्रोहसँगै धर्मनिरपेक्ष सरकारलाई खोन्दकर मुस्ताक अहमदको नेतृत्वमा इस्लामिक शासनले प्रतिस्थापित ग¥यो । १९७५ नोभेम्बरमा भएको ‘कू’ले देशलाई थप अस्थिर बनायो । परिणामस्वरूप सैन्य सरकारको उत्तराधिकार कायम रहन गयो ।
तर, सैन्य विद्रोहपछि पनि जियाउर रहमानले बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)को स्थापना गरे र उनी राष्ट्रपति पनि बने । उनको शासनले धर्मनिरपेक्ष सिद्धान्तमा एउटा मोड लियो । रहमानले संविधान संशोधन र क्षतिपूर्ति ऐन लागू गरे । हत्यामा संलग्न आशंकितहरूलाई पनि यसले कानुनी कारबाहीबाट जोगायो । तर, बंगलादेशमा यसपछि पनि सैन्यशक्ति र प्रजातान्त्रिक शक्तिका बीचमा आआफ्नै कित्ताबन्दी कायमै रह्यो ।
सन् १९८१ मा अस्थिरताको अवधि सुरु भयो । तत्कालीन सेना प्रमुख हुसेन मोहम्मद एरशादले सन् १९८२ मा सत्ता कब्जा गरे । एरशादले आफ्नो शासनलाई वैधानिक बनाउने प्रयास गरे । निर्वाचन नियन्त्रणमा लिए र राजनीतिक दल बनाए । एरशादको शासनमा सैन्य प्रभाव जारी रह्यो र क्षतिपूर्ति ऐन संविधानमा रह्यो ।
सन् १९९० को दशकमा भएको जनआन्दोलनका कारण एरशादको राजीनामा र सन् १९९१ मा प्रजातन्त्रको पुनस्र्थापना भयो । तर, राजनीतिक परिदृश्य अस्थिर नै रह्यो । सन् २००७ मा सेना प्रमुख लेफ्टिनेन्ट जनरल मोइन अहमदको नेतृत्वमा सेनाले बंगलादेशी राजनीतिमा भूमिका निर्वाह गर्न थाल्यो ।
सन् २००९ मा सुरु भएको शेख हसिनाको शासनले यस्ता सैन्य हस्तक्षेपको समस्या झेल्दै आयो । उनको सरकार रहँदा सन् २००९ मा बंगलादेश राइफल्सले गरेको विद्रोह र सन् २०११ मा असफल ‘कू’ प्रयास अगाडि देखापरे ।
अहिले सन् २०२४ मा आएर शेख हसिना राजनीतिबाट बाहिरिएपछि बंगलादेश एक महत्वपूर्ण मोडमा उभिएको छ । कसैले उनको राजीनामालाई सैन्य प्रभावबाट ‘तेस्रो स्वतन्त्रता’का रूपमा हेर्छन् पनि । शेख हसिनालाई पदच्युत गरेपछि देश सैन्य शासनको सम्भावनासँग जुध्दै एक महत्वपूर्ण मोडमा उभिएको छ । स्थिति विकसित हुँदै जाँदा, बंगलादेशको राजनीतिक भविष्य सैन्य शक्ति र लोकतान्त्रिक शासनबीचको नाजुक सन्तुलनमा निर्भर हुनेछ ।
(बंगलादेशको इतिहास तथा पत्रपत्रिकाको सहयोगमा)






