काठमाडौं । प्रदेश १ को भित्रीमधेश जिल्ला उदयपुरमा ८ जना भारतीय नागरिकमा कोरोना संक्रमणको आशंका गरिएको छ । उदयपुर नगरपालिकाको भुल्केमा रहेको मस्जिदमा रहेका ८ जना भारतीय नागरिकमा कोरोना पोजिटिभको आशंका गरिएको हो । कोशी अञ्चल अस्पतालमा आरटीपीसीआर प्रविधिबाट उनीहरुको परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको प्रदेश १ का सामाजिक विकास मन्त्रालयका प्रवक्ता दिव्यराज कट्टेलले जानकारी दिए ।
लकडाउनका समयमा उनीहरु उदयपुर छिरेका आएका थिए । भारतको दिल्लीबाट उनीहरु बैशाख सुरुमै उनीहरु नेपाल प्रवेश गरेको बताइन्छ । बैशाखको पहिलो साता नै १२ भारतीय र ४ नेपाली नागरिक उदयपुरको भुल्के मस्जिदमा पुगेका थिए । तीमध्ये ८ जनामा कोरोना संक्रमणको नतिजा पोजेटिभ देखिएको हो । स्थानीयले नयाँ मान्छे देखेपछि प्रशासनको सहयोगमा उनीहरुको कोरोना संक्रमणको परीक्षण गरिएको थियो ।
फाइनल रिर्पोटका लागि उनीहरुको स्वाब जनस्वास्थ्य कार्यालय टेकुमा पठाइएको छ । त्यसको नतिजा भोलिसम्म आउने बताइएको छ ।






