सप्तरी । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सप्तरीको कन्चनरुप नगरपालिका–२ बरमझियास्थित सशस्त्र प्रहरी बल नेपाल दन्तकाली विशेष कार्य तालिम शिक्षालयको उद्घाटन गरेका छन् । महानिरीक्षक अर्यालले शिक्षालयको कार्यालय भवन अगाडि तयार गरिएको शिलालेखको पर्दा अनवरण गरी उद्घाटन गरेका हुन् । सो अवसरमा शान्तिको प्रतिक एक जोडी सेतो परेवासमेत उडाइएको थियो ।
एसएसपी सुवेदीले पाए महानिरीक्षक प्रशंसा
सो अवसरमा महानिरीक्षक अर्यालले गत वर्षमात्र नेपाल सरकारले स्तरोन्नति गरी सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकसहित संरचनागत रुपमा कार्य प्रारम्भ गरेको शिक्षालयले एक वर्षभित्र नै उद्घाटन गर्ने गरी कार्य गरेकोमा शिक्षालयको प्रशंसा गरे । उनले सशस्त्र प्रहरी बल नेपालमा कार्य प्रकृतिअनुसारका तालिम केन्द्रहरु रहेको भन्दै सोहीअनुसार तालिमहरुको विभाजन गरी उल्लेखित स्थानहरुमा मात्र तालिमहरु सञ्चालन गरिने बताए ।
विपद् व्यवस्थापन, हुल तथा दंगा, सीमा सुरक्षा, यूएन शान्ति स्थापनासम्बन्धी तालिमहरु सञ्चालनका लागि तालिम शिक्षालयहरु रहेकोमा अबदेखि विशेष प्रकृतिका कार्यहरुसँग सम्बन्धित तालिम प्रदान गर्ने गरी सप्तरीमा तालिम केन्द्रको स्थापना गरिएको उल्लेख गरे । एन्टि टेरोरिजम, होस्टेज रेस्क्यू, फायर फाइटिङ एवं वाटर रेस्क्यू सम्बन्धित तालिमहरु उल्लेखित शिक्षालयमा सञ्चालन गरिने महनिरीक्षक अर्यालले बताए ।
उद्घाटन कार्यक्रममा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान काठमाडौंका सशस्त्र प्रहरी नायब महानिरीक्षक कमल गिरीले स्वागत मन्तब्य, सप्तरीका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले मन्तब्य र शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिगविजय सुवेदीले धन्यवाद ज्ञापन गरेका थिए ।
सो अवसरमा तालिम केन्द्रमा उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी उपरीक्षक सहित अठार जनालाई प्रसँशापत्र प्रदान गरिएको थियो । शिक्षालयलाई प्रत्यक्ष्य सहयोग गर्ने नगरपालिका, गाउपालिका, स्थानिय ब्यक्तीहरुलाई समेत प्रसँशा पत्रद्वारा सम्मान गरिएको थियो ।
सो कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाललाई प्राप्त विभिन्न कार्यदेशहरुको सम्पादन प्रभावकारी एवं उत्कृष्ट ढंगबाट गरी संगठनको गरिमा राख्ने कार्य गरेको हुँदा उक्त कार्यको उच्च कदर स्वरुप शिक्षालयका प्रमुख समादेशक एसएसपी दिगविजय सुवेदीलाई महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी महानिरीक्षक प्रशंसाद्वारा विभूषित गरेका थिए ।